आगलागी नियन्त्रणमा ज्यान गुमाउनेले राहत पाएनन्

शिवलाल सुवेदी /
गुल्मी ।साविक हस्तीचौर गाविस ३ मा २०६६ वैशाख १२ गते वनमा ठुलै आगलागी भयो । वनको आगलागी गाउँमै पस्न थाल्यो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिए ।
सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सोही स्थानका रामलाल घिमिरे, अमर बहादुर कुँवर, देबकली खत्री, सीता कुँवर र धनकली खत्रीले ज्यान गुमाए । ०६६ सालमै हाल मुसिकोट नगरपालिका साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक वनमा पनि भिषण आगलागी भयो । त्यहाँ पनि आगो निभाउने क्रममा बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो । ०७२ साल चैत्र २९ गते धैरेनी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साविकको मलायगिरी गाविस वडा नं १ का कमल खड्काको ज्यान गयो । यस्तै ०७३ साल वैशाख १७ गते साविकको दोहोली गाबिस जलुकी खोला बनमा लागेको आगो निभाउने क्रममा वडा नं ५ का तुलसी गुरुङको ज्यान गयो । यता ०७३ साल वैशाख १८ गते वडागाउँ गाबिस वडा नं १ को कर्लाम सामुदायिक बनमा लागेको आगो गाउँमा पसेर पुरै गाउँ खरानी भयो । बनमा लागेको आगो निभाउने क्रममा त्यहाँका मेयरसिंह रास्कोटीको ज्यान गयो ।
जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा अहिलेसम्म १० जनाभन्दा बढीले ज्यान गुमाएका छन । सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा १० जनाभन्दा बढीले ज्यान गुमाए पनि सरकारी निकायबाट उनीहरूका परिवारले केही राहात पाउन सकेका छैनन । बनमा आगलागी भए स्थानीयहरू मिलेर आगो निभाउ भन्दै जिल्ला वन कार्यलयले संचार माध्यमहरूवाट सूचना प्रसारण गर्छ तर आलो निभाउँदा ज्यान गुमाएकाहरूको परिवारलाई अहिलेसम्म कुनै राहत उपलब्ध नगराएको मलायगिरीका हिमाल खड्काले गुनासो गरे ।
२०७२ सालमा स्थानीय कमल खड्काले सामुदायिक वनमा लागेको आगो निभाउँदा ज्यान गुमाए हिमाल भन्छन्– ‘तर अहिलेसम्म कहींकतैबाट परिवारले राहत पाएका छैनन् ।’ उनले सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्दा ज्यान गुमाएका परिवारले राहत पाउनुपर्ने बताए । खड्का जस्तै वनको आगो नियन्त्रण गर्ने क्रममा ज्यान गुमाएका वडागाउँ गोपालकी श्रीमती इन्द्रमाया सुनारका अनुसार अन्य पीडितहरूले राहात पाउने गरेको भए पनि आगलागीमा परी ज्यान गुमाएका श्रीमानको मृत्युपछि दुख थपिँदै गएको छ । उनले भनिन्– ‘ राहातका लागि पटक–पटक जिल्ला वन कार्यालय धाउँदा पनि खर्च मात्र भएको तर केही राहात पाइएन ।’
यता जिल्ला वन कार्यालय गुल्मीले वनमा लागेको आगो निभाउने क्रममा ज्यान गएका ब्यक्तिहरूका परिवारका लागि ०७३ वैशाख २९ गते नामावलीसहित विभागमा पत्र पठाएको जनाएको छ । हामीले वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाएका परिवारलाई राहतका लागि विभागमा सिफारिस गरेको भए पनि पीडित परिवारले भने अझैसम्म पनि केही राहत पाउन नसकेको वन कार्यालयका नायब सुब्बा नवीन पन्थीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार