प्रभावकारी बन्यो आँखा स्वास्थ्य कार्यक्रम

दशरथ घिमिरे/
देउखुरी ।आँखा स्वास्थ्य कार्यक्रम लागु भएपछि साविक राप्ती अञ्चलमा अन्धोपनको दर घटेको छ । आँखा स्वास्थ्यका बिरामीहरू उपचारको लागि आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा जान थालेपछि अन्धोपनको दर घटेको हो । सन् १९८० मा पहिलो पल्ट गरिएको अन्धोपन सर्वेक्षणले साविक राप्ती अञ्चलमा ०.८७ प्रतिशत मानिसमा अन्धोपनको समस्या रहेको देखिएको थियो । त्यसपछि सन् २०१० मा गरिएको अन्धोपन सर्वेक्षणले साविक राप्तीमा ०.१३ प्रतिशत मानिसमा अन्धोपनको समस्या रहेको देखिएको थियो ।
अहिले तेस्रो पटक भैरहेको अन्धोपनको सर्वेक्षणले सन् २०१० मा प्राप्त तथ्यांक घटेर आउने अपेक्षा गरिएको छ । नेपालमा अन्धोपनको समस्या हटाउन नेपाल नेत्रज्योति संघले १८ वटा आँखा अस्पताल र ८४ वटा आँखा उपचार केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गैरहेको नेपाल नेत्रज्योति संघका केन्द्रिय सचिव भतरबहादुर चन्दले बताए । ‘नेपालबाट अन्धोपन हटाउन धेरै खालका प्रयासहरू भएका छन्, यी प्रयासहरू सार्थक बनेका छन्’, उनले भने– ‘गरिव, विपन्न समुदायका नागरिकहरूको आँखा उपचारको लागि खोलिएका अस्पताल र स्वास्थ्य केन्द्रमा पहुँच पुग्नेक्रममा छन् । जसले गर्दा अन्धोपनको समस्या हट्दै गएको छ ।’
अहिलेसम्म २२ लाख ८८ हजार बढी आँखाका बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन् । जसमध्ये एक लाख ५४ हजार बढी बिरामीको मोतिया विन्दुको शल्यक्रिया भएको छ । सन् २०१८ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरूबाट एक लाख २१ हजार ९ सय १६ जनाले आँखा उपचार सेवा लिएका छन् । एक वर्षमा २ लाख ४१ हजार चार सय ९८ जनाको उपचार गर्ने लक्ष्य लिएकोमा ६ महिनाको अवधिमा आधा मानिसलाई आँखा उपचार सेवा प्रदान गरिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले जानकारी दिए । आँखा शिविर, विद्यालयमा आँखा जाँच कार्यक्रमबाट ३० हजार ५४ जनाले आँखा उपचार सेवा लिएका छन् । विभिन्न ८ स्थानमा निःशुल्क आखाँ शिविर सञ्चालन गरिएको छ भने, जसबाट ५ सय ३१ जनाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।
आँखा स्वास्थ्य सबैको प्राथमिकताको विषय बन्नुपर्ने
शनिबार लमही आँखा अस्पतालमा भएको कार्यक्रममा सहभागीहरूले आँखा स्वास्थ्य सबैको प्राथमिकताको विषय बन्नुपर्नेमा जोड दिएका छन् । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, लमही आँखा अस्पतालको लक्ष्य तथा प्रगति विवरण सार्वजनिक तथा आधारभुत आँखा स्वास्थ्य शिक्षा कार्यक्रममा बोल्ने वक्ताहरूले आँखा मानव जीवनको अभिन्न तथा संवेदनशील अंग भएकाले यसलाई बचाईराख्न सबैले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षता एवम् नेपाल नेत्रज्योति संघ केन्द्रिय सचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि चन्दले आँखा स्वास्थ्य सबैको पहुँचमा पु¥याउन सबैले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय कार्यालयका कार्यक्रम निर्देशक हुकुम पोखरेल, सल्लाहकार खड्गबहादुर चौधरी, पत्रकार दशरथ घिमिरे, चुमा आचार्यलगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । नेपाल नेत्रज्योति संघका सहकोषाध्यक्ष घनश्याम सुवेदीको धन्यवाद, रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रगति प्रतिवेदन वरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापा र आँखा स्वास्थ्यका बारेमा सालिकराम गौतमले प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण लिला शाहले गरेका थिए । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा लमहीको तर्फबाट शाखा सभापति थानेश्वर गैरेले आँखा अस्पताल लमहीलाई स्टेचर सहयोग प्रदान गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार