युवाहरू राष्ट्र निर्माणमा जिम्मेवार बन्नु पर्छः मन्त्री बराल

बुटवल।सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाहरू राष्ट्र निर्माणको आधार भएको बताउँदै उनीहरूको समस्याको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
युवाहरूमा बेरोजगारीको समस्या विकराल भएको बताउँदै सकभर युवालाई स्वदेशमै रोजागारीको व्यवस्था गर्ने नीति बनाइने बताए । युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आइतबार बुटवलमा आयोजना गरेको युवा सरोकार केन्द्रित अन्तरक्रिया कार्यक्रममा मन्त्री बरालले वैदेशिक रोजगारीमा जानेलाई रोक्न नसकिने तर राजगारीको लागि विदेशिन बाध्य हुने परिस्थितिको अन्त्य गर्न सकिने बताए ।
‘बाध्यताले होइन रहरले वैदेशिक रोजगारीमा जाने बनाउन सकिन्छ,’ उनले भने– ‘अहिले नेपाली युवा सस्तो मूल्यमा विदेशमा श्रम बेच्न बाध्य हुनु परेको छ ।’ उनले विदेशमा जाने युवाहरूको सीप विकासमा सरकारले ध्यान दिने बताउँदै दक्ष जनशक्ति उत्पादन गर्न सकेमा राज्यलाई नै फाइदा हुने बताए । विदेश गएका युवाहरूको सिप र प्राविधिक ज्ञानलाई स्वदेशमै प्रयोग गरेर मुलुकको विकास गर्न सकिने प्रसस्त सम्भावना रहेको बताए । सामाजिक विकास मन्त्रालयले विदेशमा सिकेको सिपलाई प्रयोग गर्ने गरी युवामैत्री नीति बनाउने बताए । युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न युवा वर्गसँग सहकार्य गरिने मन्त्री बरालले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय योजना महाशाखाका प्रमुख एवं प्रवक्ता मित्र मणि खनालले रंगशाला बाहेक ५ करोड ४२ लाख रूपैयाँ युवा लक्षित बजेट तयार भएको बताउदै अन्तरक्रियाबाट आएको सुझावको आधारमा रणनैतिक योजना तयार पारिने जानकारी दिए ।
सचिव थानेश्वर ज्ञवालीले प्रदेश नं. ५ मा युवाहरूको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दे प्रदेशमा १७ लाख ८१ हजार ८ सय १० युवाको जनसंख्या रहेका जानकारी दिए । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख हरिहर घिमिरे, युवा तथा खेलकुद शाखाका अधिकृत वेगम केसी, प्रदेश नं. ५ का अन्तर्गतका १२ जिल्लाका युवा जनप्रतिनिधि, राजनीतिक दलका युवा संगठनका प्रतिनिधि, युवा सम्वन्धी काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले युवाहरूलाई आर्थिक विकासमा जोड्ने गरी नीति बनाउन सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार