तिलौराकोट देशकै उत्कृष्ट वन

किरणमान बज्राचार्य /
कपिलवस्तु । कपिलवस्तुस्थित तिलौराकोट साझेदारी वन नेपालकै उत्कृष्ट बनेको छ । वन मन्त्रालयले तिलौराकोटलाई २०७५ सालको उत्कृष्ट साझेदारी वन घोषित गर्दै पुरस्कृत गरेको हो । तिलौराकोट साझेदारी देशकै पहिलो र नमुना साझेदारी वन हो । देशभरका ३० वटा साझेदारीमध्ये तिलौराकोटलाई विभिन्न सूचाङ्क तथा मापदण्ड अनुसार उत्कृष्ट घोषित गरिएको हो ।
वन मन्त्रालयले साउन २५ गते सामुदायिक वन दिवसको अवसरमा ५० हजार राशीको पुरस्कार प्रदान गरेको थियो । वन मन्त्री शक्तिबहादुर बस्नेतले उक्त पुरस्कार वनका अध्यक्ष जयप्रकाश पाण्डेलाई प्रदान गरेका थिए ।
देशमै पहिलो पटक तिलौराकोट साझेदारी वनले २०६८ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरेको थियो । विभिन्न शंका र अन्यौलताको बीच ८० वर्षिय चक्रीय प्रणालीअन्तर्गत वनको वैज्ञानिक व्यवस्थापन कार्ययोजनाअनुसार सुरु कार्यक्रम अहिले देशभर लागू छ ।
साझेदारी वनले ६ हजार ६ सय १२ हेक्टरमा वैज्ञानिक व्यवस्थापन कार्य गरिरहेको छ । जसबाट ४ वटा स्थानीय तहका २४ हजार घरधुरी लाभान्वित हुँदै आएका छन् । साझेदारीले १८ वटा कम्पार्टमेन्टमा सालको पुनरुत्पादन, वनको हैसियत सुधार, फायरलाईन निर्माण, अतिक्रमण व्यवस्थापन, कटान, छपान तथा पत्ल्याउनुका साथै तारबार गरी संरक्षण गर्दै आएको छ ।
वन क्षेत्रका वन्यजन्तुको संरक्षण, जैविक विविधता तथा चुरे संरक्षणका विभिन्न कार्यक्रमहरूसमेत गर्दै आएको साझेदारी वनका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए । साझेदारी वनले लागू गरेको वैज्ञानिक वन व्यवस्थापनमार्फत ८ वर्षभित्र २ लाख ४० हजार क्यूफिट काठ र ८ सय ५० चट्टा दाउरा उत्पादन भएको श्रेष्ठले बताए ।
जसबाट ५० प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत समुदायमा बिक्री वितरण भएको छ । जिल्ला वन कार्यालयका प्रवक्ता तथा सहायक वन अधिकृत मदनमोहन शाण्डिल्यले तिलौराकोट साझेदारी वनले हालसम्म करिब ३० करोड बढी रकम वन पैदावारबाट आम्दानी गरेको बताए ।
जसमध्ये १८ करोड नेपाल सरकारलाई दिएको छ भने १२ करोड रकम वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना अनुसारको काममा लगानी गरेको छ । तिलौराकोट साझेदारी वन विद्याको अध्ययन केन्द्रसमेत बनेको छ ।
तिलौराकोट साझेदारीका अध्यक्ष जयप्रकाश पाण्डेले सरकारले तिलौराकोट साझेदारी उत्कृष्ट बनेपछि उत्साह बढेको बताए । ‘ कामको मूल्यांकन भएको छ यो अति राम्रो कुरा हो,’ उनले भने ।
आफूहरूले वनको विकास र प्रवद्र्धनमा मात्र समय तथा लगानी खर्चेको बताए । देशभर बैज्ञानिक वन व्यवस्थापन मार्फत वनपैदावार उत्पादन बढाउन सके देश काठजन्य वस्तु आयात शून्यमा झर्ने र देशको आर्थिक सम्बृद्धि बढ्ने उनको दाबी छ । साझेदारी वन मात्र नभई कपिलवस्तुका सामुदायिक तथा निजी वनसमेत अब्बल बन्दै गएका छन् ।
नेपाल सरकारले वर्षेनी प्रदान गर्ने विभिन्न पुरस्कारमा कपिलवस्तुका वन उत्कृष्ट हँुदै आएका छन् । वन मन्त्रालयले वर्षेनी प्रदान गर्ने गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार कपिलवस्तुको सामुदायिक वन तेश्रो भएको छ । बुद्धभूमि १ स्थित वीरपुर जनकल्याण सामुदायिक वन तेश्रो पुरस्कार पाउन सफल भएको हो । ५० हजार राशिको उक्त पुरस्कार साउन २५ गते वितरण गरिएको थियो ।
जिल्लाको सामुदायिक, निजी र साझेदारी वनलगायत तीन वर्षदेखि उत्कृष्ट हुन सफल हँुदै आएको छ । जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले सामुदायिक तथा साझेदारी बनमा लागू भएको बैज्ञानिक वन व्यवस्थापन र निजी वन प्रोत्साहनका कारण कपिलवस्तुमा बनको हैसियतमा सुधार आएको बतऐ ।
वनको हैसियतमा सुधार आउनु, अतिक्रमण व्यवस्थापन, चुरे र वन्यजन्तु संरक्षण, वृहत वृक्षारोपण तथा दक्ष जनशक्तिको कारण कपिलवस्तुको वन अब्बल बन्दै गएको उनको दाबी छ ।
जिल्लाका ५ वटा साझेदारी वनको १९ हजार हेक्टर र सामुदायिक वनको ५ हजार हेक्टरमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम संचालनमा छ । यहाँ ६२ हजार हेक्टर वन क्षेत्र छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार