प्रदेश बलियो बन्दैछ- मुख्यमन्त्री

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी तय गर्दा २० वर्षपछिसम्मको अवस्था अनुमान गर्नुपर्ने बताएका छन् । प्रदेश सभाले प्रदेशको राजधानी र नामका लागि सुझाव दिन विशेष समिति बनाएलगत्तै मुख्यमन्त्रीले प्रदेशको राजधानी कहाँभन्दा पनि कस्तो बनाउने भन्ने विषयले प्राथमिकता पाउनुपर्ने बताए ।
अनलाईन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग बुटवलमा भेट गर्दै मुख्यमन्त्री पोखरेलले अहिले तोक्ने राजधानीका कारण २०–२५ वर्षपछि समस्या निम्तिन नहुने तर्क गरे ।
अहिले भाडामा भवन लिएर सञ्चालन गरेको प्रदेश राजधानी व्यवस्थित रूपमा बनाउनतर्फ ध्यान दिनुपर्ने उनले बताए । ‘चुनावका बेला सबै नेताले आफ्नो ठाउँमा राजधानी बनाउँछु भन्नुभयो होला, तर सधैभरि त्यही कुरा बोकेर हिंड्नुहुँदैन’, उनले भने– ‘यदि कसैले त्यसो गर्छ भने ऊ सही अर्थमा नेता हुन सक्दैन, सबैको प्रतिनिधित्व गरेर नेतृत्व गर्न सक्दैन ।’
मुख्यमन्त्री पोखरेलले तीन तहका सरकारमध्ये प्रदेश कमजोर भयो भन्ने चर्चा बढी भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने– mसरकारले सार्वजनिक गरेको कार्यविस्तृतीकरण प्रतिवेदन हेर्नुस्, प्रदेश कहाँनेर कमजोर छ ? अहिले प्रदेशमा आउन नमान्ने र नखोज्ने कर्मचारी अबको २ वर्षपछि भनसुन गरेर आउन चाहनेछन्, त्यसरी प्रदेशले विकास गर्दै जान्छ ।’
अघिल्लो सरकारले आवश्यकताभन्दा पनि स्वार्थका आधारमा स्थानीय तह, प्रदेश र केन्द्र सरकारको अधिकारबारे कानुन बनाएको भन्दै उनले प्रदेशलाई कानुनले कमजोर बनाउने प्रयास भएको बताए । ‘पहिले काम गरिरहेको स्थानीय तहलाई नै आधार मानेर कतिपय कानुन बनेका छन्, त्यहाँ बस्ने कर्मचारीले प्रदेशको संरचनालाई कमजोर बनाउन खोजेको जस्तो देखिन्छ’, उनले भने– ‘तर प्रदेशले प्राप्त अधिकारको सदुपयोग गर्दै नमूना भएर देखाउँछ ।’
‘शिक्षा, स्वास्थ्य, वन, पर्यटन, रोजगारी, विकास आयोजना हरेक क्षेत्रमा केन्द्रभन्दा प्रदेश सरकारमा अधिकार र अवसर धेरै छन्’, मुख्यमन्त्री पोखरेलले भने– ‘तर धेरैले संविधानले प्रदेशलाई दिएका अधिकार सूची नपढी कमजोर र अधिकारविहीन भनेर एकोहोरो भ्रम फैलाइरहेका छन् जुन सत्य होइन ।’
संघीयता कार्यान्वयनमा आएसँगै जताततै कर बढ्यो भनेर आलोचना भइरहेको भन्दै मुख्यमन्त्रीले प्रदेश ५ को हकमा कुनै पनि करको दर नबढाइएको बरु कतिपय करहरू हटाइएकाले भ्रममा नपर्न आग्रह गरे ।
निकासी कर, सडक कर हटाइएको उनले जानकारी गराए । प्रदेश सरकारले नीति कार्यक्रम र बजेट ल्याउँदा राजनीतिक आग्रह र निर्वाचन क्षेत्रको चुनावी नतिजाका आधारमा नभई योजनाबद्ध ढंगले आवश्यकताका आधारमा काम गरेको बताए ।
बुटवलको जितगढी किल्लाबारे गहिरो चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले यसको समुचित विकास गर्न सके यो अन्तर्राष्ट्रिय पर्यटक तान्न सकिने ठाउँ बन्ने बताए ।
‘अरू देशमा भएको भए यो टुरिस्ट हब हुन्थ्यो हाम्रोमा कवाड राख्ने थलो बनेको छ’, मुख्यमन्त्रीले भने, ‘जितगढी प्रदेशको मात्र नभई राष्ट्रकै गहना हो, यसलाई कसरी विकास गर्ने भन्ने सबैले सोचौं ।’
उनले सञ्चारमाध्यमहरूले आफ्नो गरिमालाई ध्यानमा राख्दै सत्य तथ्य र खोजमूलक सामग्री प्रकाशन प्रशारणमा जोड दिनुपर्ने भन्दै सुझाव दिए । ‘हामी काम गर्न सकिन्छ भनेर अघि बढेका छौं, हाम्रो मार्ग प्रष्ट छ, मिडियाले पनि हामीलाई सहयोग गर्नुप¥यो’, उनले भने– mएक्लो मुख्यमन्त्रीले मात्रै काम गर्छु, विकास गर्छु भनेर सम्भव छैन, समाजका सबै अंगहरू एकैसाथ हुनुपर्छ, राम्रो विषयलाई साथ दिनुपर्छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार