भएन क्रम भंग, भयो मोह भंग

फ्रान्सको राज्य क्रान्ति पूँजीपति वर्गको नेतृत्वमा भएको पूँजीवादी क्रान्ति थियो । त्यस क्रान्तिले राजतन्त्रात्मक सामन्तवादलाई समाप्त गरेर औद्योगिक पूँजीवादी क्रान्ति गरेको थियो । त्यो त्यतिबेलाको प्रगतिशील क्रान्तिकारी कदम थियो । तर कालान्तरमा पूँजीपतिवर्ग समाजवादतिर हैन, एकाधिकार पूँजीवाद र साम्राज्यवादमा पतन भयो । क्रान्ति उल्टो दिशातिर मोडियो । सामन्ती तानाशाही राजतन्त्रको अन्त्य गरी पूँजीवादी समाज स्थापना गर्न पूँजीपति वर्गले त्यतिबेला खेलेको भूमिका ऐतिहासिक महत्वको छ । तर वर्ग चरित्र अनुसार पूँजीपति वर्ग समाजवादतिर अगाडि जान सकेन र एकाधिकार पूँजीवाद र साम्राज्यवादतिर प्रतिगमनकारी बन्न गयो । त्यसैले समाजवाद साम्यवाद प्राप्त गर्न सर्वहारा वर्गको नेतृत्वमा किसान, निम्न पूँजीपति र राष्ट्रिय पूँजीपति वर्गको सहयोगमा पूँजीवादी जनवादी क्रान्ति गर्न आवश्यक भयो ।
जतिबेला सामन्तवादको पूरै अन्त र पूँजीवादको विकास गरेर औद्योगिक क्रान्ति आवश्यक थियो र त्यसका निम्ति पूरै राजतन्त्रात्मक सामन्तवादलाई नष्ट गर्नुपर्ने आवश्यकता थियो । त्यतिबेला युरोपमा नेपोलियन जस्तो बलियो शासकको माग भएको थियो । नेपोलियनको युद्धले युरोपको पूरै राजतन्त्रलाई बढारिदियो र पूँजीवादी औद्योगिक क्रान्तिको आधार तयार पारिदियो । त्यसैको जगमा पूर्वी युरोपका देशहरूमा समाजवादी क्रान्ति सम्पन्न भयो । तर कालान्तरमा त्यहाँको कम्युनिष्ट सत्ता ढलेर पूँजीवादको पुनःस्थापना भयो । समाजवादी सत्ताका नायकहरूको मनोगतवाद, एकमनावाद र नोकरशाही केन्द्रीयतावादका कारणले प्रतिगमन भयो । पूर्व सोभियत संघको समाजवादी सत्ताको पतन र सोभियत संघको विखण्डनको कारण पनि लगभग त्यस्तै बन्न गयो ।
फ्रान्स र बेलायतको औद्योगिक पूँजीवादी क्रान्ति, अमेरिकाको स्वतन्त्रता संग्राम, सोभियत संघको समाजवादी क्रान्ति र चीनको नौलो जनवादी क्रान्ति सम्पन्न भएर आधुनिक विकास र समृद्धिको दिशातिर लम्किरहेको विश्व परिस्थितिमा नेपालमा राणा हुकुमीतन्त्र, शाहशाहीको निरंकुशतन्त्रको जंजीरमा देश जकडिएको थियो । राणा हुकुमीतन्त्रलाई फाल्न नेपालको पूँजीपतिवर्गको प्रतिनिधि पार्टी नेपाली काँग्रेसको भूमिका महत्वपूर्ण थियो । सामन्तवादका विरुद्ध उसले चालेको क्रान्तिकारी कदम प्रगतिशील थियो । परिणाम स्वरूप ०१५ सालको संसदीय चुनावमा १०९ सिटमा ७४ सीट अर्थात् दुई तिहाई बहुमत जितेर बीपीको नेतृत्वमा काँग्रेसको एकमना सरकार बन्यो । तर साढे सत्र महिनामै सरकार ढल्यो । दलमाथि प्रतिबन्ध लाग्यो । प्रतिगमन भयो । मुलुक फेरि तानाशाही कुहिराको काग बन्न बाध्य भयो । लामो समय सामन्ती राजतन्त्रले काँग्रेस कम्युनिष्टलाई लडाएर शासन ग¥यो । ०३६ सालदेखि शुरु भएको संयुक्त जनआन्दोलन गणेशमानको नेतृत्व र कम्युनिष्टको विशेष पहल र सक्रियतामा ०४६ सालमा मात्रात्मक परिवर्तन भयो । सारमा हैन, रूपमा परिवर्तन भयो । राज्ययन्त्रमा हैन, शासन प्रणालीमा परिवर्तन भयो । यो परिवर्तन पछि फ्रान्समा जस्तै नेपालको पूँजीपतिवर्गको प्रतिनिधि पार्टी नेपाली काँग्रेस सामन्तवादसँग गला मिलाउँदै मुखले समाजवाद, व्यवहारमा एकाधिकार पूँजीवाद र साम्राज्यवादको पुच्छर बन्यो ।
सत्र सालको कालो काण्डपछि खास गरेर नेकपाको तेस्रो महाधिवेशनपछि दरभंगा विस्तारित बैठकबाट एकीकृत नेकपाको विभाजन शुरु भयो । केशरजंग रायमाझीको राजावादी विचार, तुल्सीलाल अमात्यको राष्ट्रिय प्रजातन्त्रवादी विचार र कमरेड पुष्पलालको नयाँ जनवादी गणतन्त्रवादी विचारकाबीच सैद्धान्तिक मतभेद शुरु भयो र पार्टीका पछाडि पुच्छर झण्ड्याउने क्रम शुरु भयो । मोहन विक्रम सिंह जेलबाट छुटेपछि चौम अलग पार्टी बन्यो । चौम टुक्रिएर धुजा–धुजा भयो । मोटो मशाल माओवादी, पातलो मसाल, एकता केन्द्र अलग आदि भए । पुष्पलाललाई कसैले गद्दार भने, कसैले काँग्रेसको पुच्छर भने त कसैले दक्षिणपन्थी संशोधनवादी भने । पुष्पलालले विघटित संसदको पुनः स्थापनाका लागि नेपाली काँग्रेसभित्रको रेडिकल फोर्ससित कार्यगत एकता गरेर शाही अधिनायकवादी पञ्चायतका विरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्ने विचार प्रस्तुत गरिरहे । सिद्धान्त, संगठन र संघर्ष (तीन ‘स’) को नीतिलाई आजीवन कार्यान्वयन गर्न प्रयत्नशील रहे । कालान्तरमा उनको विचार सही सावित भयो र वटबृक्षका हाँगा जस्तै अलग–अलग देखिएका घटकहरूकाबीच एकीकरणको प्रक्रिया शुरु भयो । पुष्पलाल वटबृक्षले जस्तै विचारको छाहारी दिने नेताको रूपमा आशा र आदरको शिखर चुम्ने स्थानमा पुगे ।
यतिबेला पार्टीको पछाडि पुच्छर झुण्डाउने क्रम भंग भएको छ । एकीकृत माले र एकीकृत माओवादी मिलेर नेकपा बनेको छ । नेकपा नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था हो । मजदुर, किसान, निम्न पूँजीपति, राष्ट्रिय पूँजीपति र सम्पूर्ण जाति, भाषा र संस्कृतिका जनसमुदायको हितलाई प्रतिनिधित्व गर्ने पार्टी हो । २२ अप्रिल १९४९ तदनुसार १० वैशाख, २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्य सदस्य रहेको नेकपाको स्थापना भएको थियो । टुटफुट, गठन, पुनर्गठन, एकीकरणको प्रक्रिया पार गर्दै २०४७ सालमा माले, माक्र्सवादी एकीकरणपछि नेकपा एमाले तथा माओवादी र एकता केन्द्रको एकीकरणपछि एमाओवादी भएको थियो र त्यो टुटफुट र एकीकरणपछि माओवादी केन्द्र बनेको थियो । एमाले र माओवादी केन्द्रबीच ३ जेष्ठ २०७५ तदनुसार १७ मे २०१८ मा एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ । यस पार्टीको रणनीतिक लक्ष वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यसको लक्ष्य काँग्रेसको जस्तो एकाधिकार पूँजीवाद र साम्राज्यवाद उन्मूख हैन, समाजवाद उन्मूख हो । समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गरी साम्यवादसम्म पुग्ने लक्ष्यका साथ यो पार्टी निर्माण भएको छ । जनसंघर्ष र सशस्त्र जनयुद्धको बाटोबाट अगाडि बढेका एमाले र माओवादी केन्द्रको पहलकदमी र नेतृत्वमा पूँजीपति वर्गको प्रतिनिधि नेपाली काँग्रेसको सहभागितामा २०६२–०६३ मा संयुक्त जनक्रान्ति भई राजतन्त्रको अन्त्य र गरी संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकता जस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । संविधानमा संस्थागत भई संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन भई सरकार गठन भैसकेको छ । निर्वाचनमा २ नम्बर प्रदेशबाहेक ६ प्रदेश र केन्द्र एवं अधिकांश स्थानीय तहमा नेकपाको बहुमत कायम भएको छ । यसरी नेकपा एशियाको तेस्रो ठूलो पार्टी बनेको छ । दुई तिहाई बहुमतको शक्तिशाली केन्द्रीय सरकार तथा ६ प्रदेशमा बहुमतको सरकार र अधिकांश स्थानीय सरकार नेकपाको बनेको छ ।
अब हजारौं वीर–वीरांगनाको बलिदान र रक्तहीन र रक्तरञ्जित जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण संवैधानिक र लोकतान्त्रिक मर्गबाट देशको सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरण गर्नु तथा राष्ट्रिय पूँजीको विकास गर्दै सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समुन्नत समाजवादको आधार निर्माण गर्नु पार्टीको र सरकारको कार्यभार रहेको छ । दलाल, नोकरशाही, शोषण उत्पीडन, विस्तारवादी, साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्दै विद्यमान सामन्तवादका अवशेषहरूलाई निर्मूल गर्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल र सुखी नेपाली बनाउनु सरकारको प्रमुख दायित्व हुन आएको छ ।
तर जनताले जुन आशा र अपेक्षाका साथ जिताएका थिए, त्यसको अनुभूति हुन सकेको छैन । ठूल्ठूला कुरा गर्ने, तर सिटामोल खान नपाएका जनताको पीर मर्काप्रति ध्यान नदिने र शिक्षा र स्वास्थ्य जस्तो गम्भीर विषयमा जुम्लामा गएर गोविन्द के.सी. ले अनशन बस्नु पर्ने र पार्टीका कतिपय नेताले शिक्षा र स्वास्थ्यमा व्यापार गर्न खोज्ने र सरकार तिनकै लहैलहैमा लागेर काम कुरो एकातिर कुम्लो बोकी अन्तैतिर भन्ने उखान चरितार्थ गर्ने कुराले पार्टी र सरकारप्रति जनताको मोह भंग हुने खतरा बढ्दै गएको छ । सरकारले राष्ट्रिय कोष मजबुत बनाउन कर उठाउनु पर्दछ । तर एकैचोटी कर बढाएर जनताको ढाड मस्काउने काम गरिएको छ । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा स्वयं करको नियम लागु गरेका थिए । त्यसबाट सरकारको कोष अभूतपूर्व रूपमा बढेको थियो । कर लगाउने पनि तरिका हुन्छ । स्थानीय सरकारको कर, प्रादेशिक सरकारको कर तथा केन्द्रीय सरकारको कर जनताले कहाँ–कहाँ कस–कसलाई कर तिर्ने यो चित्त बुझ्दो हुनुपर्दछ ।
५ वर्ष जे गरे पनि हुन्छ भनेर दम्भ गर्दा त्यसपछि हुने चुनावमा पार्टीको हालत के हुन्छ भन्ने विषयमा हेक्का राख्नु पर्दछ । हत्या, बलात्कार, भ्रष्टाचार, लुट, खसोटमा कमी आएको छैन । जनताको भौतिक, आर्थिक र सामाजिक जीवन असुरक्षित छ । पार्टीको नीति, कार्यक्रम र लक्ष्य सही छ, तर त्यसको सही कार्यान्वयन हुन सकेको छैन । प्रतिपक्षले यसैलाई एजेण्डा बनाएर संघर्ष गर्दैछ । नीति, कार्यक्रम र सिद्धान्त सही हुँदाहुँदै पनि कार्यशैली र बोली व्यवहारमा निरन्तरतामा क्रम भंग र छलाङ नभएकाले जनतामा पार्टी र सरकारप्रति मोह भंग हुँदैछ । यसबारे समयमै ध्यान पुगोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार