मुटु अस्पतालमा १ हजार १ सय ५९ जनाको निःशुल्क उपचार

बुटवल । बुटवल–१० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधीमा १ हजार १ सय ५९ जना गरिब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् ।
गत आर्थिक वर्ष २०७४÷०७५ मा नेपाल सरकारबाट प्रदान गरिएको निःशुल्क सेवा र अस्पताल आफैले उपलब्ध गराएको निःशुल्क सेवाबाट उक्त संख्याका बिरामीहरूले सेवा लिएका हुन् ।
अस्पतालका अध्यक्ष एजाज आलमले मुटु र मृगौलाको उपचारमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी ६ करोड ९९ लाख ८९ हजार ४ सय ६ रूपैया बराबरको उपचार निःशुल्क गरिएको जानकारी दिए ।
जसमध्ये अस्पतालले ५ सय १६ जना गरिब बिरामीहरूलाई ६७ लाख ४२ हजार ६ सय ९५ रूपैयाँका निःशुल्क उपचार सेवा दिएको छ । आर्थिक अभावको कारण कुनै पनि विरामी उपचार लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीहरूलाई निःशुल्क उपचार गर्दै आएको छ ।
त्यसैगरी सरकारले प्रदान गरेको मुटुका विरामीहरूलाई एक लाख रूपैयाँसम्म र मृगौलाका बिरामीहरूलाई डायलाईसिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
जसमध्ये सबैभन्दा धेरै ३ सय ३१ जना मृगौलाका विरामीले ४ करोड, ७ लाख ५२ हजार ५ सय बराबरको निःशुल्क नियमित डायलाईसिस सेवा लिएको अस्पतालले जनाएको छ । विरामीहरूको आवश्यकता अनुसार ३ सय ३१ जनालाई एक वर्षको अवधीमा १६ हजार ३ सय १ पटक डायलाईसिस सेवा प्रदान गरिएको छ । त्यस्तै ३ सय १२ जना मुटुका विरामीहरूले सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिएका छन् ।
मुटुका बिरामीहरूको लागि २ करोड, २४ लाख ९४ हजार २ सय ११ रूपैयाँ बराबरको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । २०७० सालमा स्थापना भएको अस्पतालमा मुटुको क्याथ ल्याब सेवासहित १७ वटा डायलाईसिस मेशिनमार्फत काठमाण्डौँ बाहिर सबैभन्दा ठूलो डायलाईसिस युनिट समेत संचालनमा रहेको छ ।
शुरुमा यसक्षेत्रका उद्योगी व्यवसायीहरूको सक्रियतामा गैरनाफामुखी रूपमा संचालनमा आएको अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबहरू मार्फत रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ ।
मुटु अस्पतालसँगै हालसम्म डायलाईसिस युनिट, आईसियु, क्याथ ल्याब लगायतमा सहयोग गर्दै आएको रोटरी फाउण्डेसनले १२८ सलाइसको सिटी स्क्यानको लागि समेत सहयोग गर्ने गरी सम्झौता भइसकेको अस्पतालले जनाएको छ ।
बुटवलमा विशेषज्ञ सेवा सहितको क्लाथ ल्याब संचालनमा आएपछि मुटुको एन्जीयोग्राम, एन्जीयोप्लाष्ट र मुटुमा पेशमेकर राख्ने कार्यको लागि थोरै भएपनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जानकारी दिए ।
अस्पतालले उपचारको लागि आउने विरामी तथा बिरामीका कुरुवाहरूलाई अस्पताल ल्याउने र छोड्नको लागि निःशुल्क बस सेवा समेत संचालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार