लुम्बिनीमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन हुने

बुटवल । नेपाल पत्रकार महासंघले बुद्ध जन्मस्थल लुम्बिनीको संवद्र्धन, प्रवद्र्धन र प्रचार प्रसारका लागि अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने भएको छ । महासंघको लुम्बिनीमा सम्पन्न बैठकले १४ बुँदे घोषणा पत्र जारी गर्दै लुम्बिनीलाई अन्तरराष्ट्रिय रूपमा एउटा प्रमुख गन्तव्यका रूपमा स्थापित गरी यसको गरिमा र महत्वलाई बढाउनका लागि लुम्बिनीमा अन्तरराष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो ।
पत्रकार महासंघ रूपन्देही र कपिलवस्तुको आतिथ्यतामा बसेको बैठकले बौद्ध दर्शन तथा लुम्बिनी क्षेत्र र यसको ऐतिहासिक तथा पुरातात्विक महत्वका बारेमा विस्तृत अध्ययन गर्न चाहने पत्रकारहरूका लागि पत्रकार लेखनवृत्ति वा छात्रवृत्ति स्थापना गर्न, पुरस्कार, अनुभव आदान प्रदान तथा भ्रमण कार्यक्रमहरू सञ्चालन गर्न माग गरेको छ ।
‘बुद्धको जन्मलगायतका ऐतिहासिक विषयहरूमा विभिन्न देशका पाठ्यक्रमलगायतका बुद्धसम्बन्धी जानकारीका सामग्रीहरूमा देखिएका गलत जानकारी तथा अन्योल हटाउनका लागि सम्बन्धित सरकारहरूसँग पहल गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ’, घोषणा पत्रमा उल्लेख छ ।
बैठकले मिडियासम्बन्धी कानुनहरूलाई नीतिगत रूपमा एकरूपता दिनुका साथै स्वतन्त्र प्रेसविरुद्ध हुने कुनै पनि प्रावधान नआउने सुनिश्चित गर्न आपसमा समन्वय गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारसँग माग गरेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागू गर्न यो बैठक माग गर्दछ’– महासचिव रमेश विष्टद्वारा जारी घोषणा पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार