मानवता

नेपालीमा मानवता भनौँ या अङ्ग्रेजीमा ज्गmबलष्तथ या उर्दूमा इन्सानियत सबै शब्दहरूको एकै अर्थ हो मानवता । मानवता शब्दगत निहितार्थलाई राम्रो गरी बुझ्नका लागि सर्वप्रथम शाब्दिक प्रक्रियालाई बुझ्न सकिन्छ ।
‘मन्यते मनुते वा मनुः = प्रजापतिः’ महर्षि पाणिनि निर्मित धातुपाठको दिवादिगणमा रहेको ‘मन–ज्ञाने’ धातुदेखि अथवा तनादिगणमा रहेको ‘मनु–अवबोधने’ धातुदेखि उणादिप्रत्ययप्रकरणमा विद्यमान ‘शृस्वृस्निहित्रप्यसिवसिहनिक्लिदिबन्धिमनिभ्यश्च’ सूत्रले ‘उ’ प्रत्यय गरेपछि मनु शब्दको निष्पत्ति हुन्छ । जसबाट यो अर्थ निक्लिन्छ कि ज्ञान र चिन्तनको कर्ता मनु हो । ‘मननाद् ईक्षणाद् मनुरुच्यते’ यस उक्ति अनुसार यस्तो अर्थ पनि गर्न सकिन्छ कि ‘जो सदैव मनन र अन्वेषणमा प्रवृत्त हुन्छ उसलाई मनु भनिन्छ ।’ मनु शब्ददेखि मनुको गोत्र वा अपत्य अर्थमा ‘तस्यापत्यम्’ यस पाणिनीय सूत्रले ‘अण’ प्रत्यय गरेपछि मानव शब्दको निष्पत्ति हुन्छ । पूर्वोक्त प्रक्रियाबाट यो अर्थ निक्लिने भयो कि ‘ मनन, ईक्षण र चिन्तनको धारामा सतत बगिरहने मनुका गोत्रीय सन्तान नै मानव हुन् ।
अब यो भन्न सकिन्छ कि यस धरातलमा जो पनि मानिसहरू छन् सम्पूर्ण मानवजाति नै उनै ज्ञानपथप्रवर्तक मनुका सन्तान हुन् । अत एव प्रत्येक मानव आज पनि स्वाभाविकरूपले अन्वेषणशील नै देखिन्छ र सदैव तद्रूप नै रहनेछ । त्यसैले मानवको आदि कालदेखि चलिआएको अन्वेषणशीलताको परिणाम नै आधुनिक वैज्ञानिक विकास हो । अस्तु, यो त मानव शब्दको व्युत्पत्ति, परिभाषा र प्रकृति भयो तर अझै पनि यस लेखनको केन्द्रबिन्दुमा रहेको मानवता पदार्थ सम्बन्धित प्रश्न जागृत नै छ – ‘वास्तवमा मानवता के हो ?’
यस सम्बन्धमा पनि शब्दप्रक्रियामा विचार पुरÞ्याउन आवश्यक छ, किनकि वस्तुतः शब्दबाट नै अर्थको सत्ता छ । मानव शब्ददेखि ‘तस्य भावस्त्वतलौ’ पाणिनीय सूत्रद्वारा ‘तल्’ प्रत्यय गर्दा मानवता शब्दको निष्पत्ति हुन्छ । यहाँ भाव शब्दको तात्पर्य ‘तल्’ प्रत्यय जसको गरिन्छ त्यस प्रकृतिको प्रकार हो ।’ अर्थात् ‘तद्वृत्तिधर्मलाई मानवता भनिन्छ ।’ यस्तो शब्दनिष्पत्ति प्रक्रियाबाट ‘मानवताको अर्थ मानवको धर्म हो भन्ने तात्पर्य निस्कन्छ ।’ मानवताको तात्पर्य मानवको अस्तित्व हो । जस्तै गोत्वले गोको र घटत्वले घटको अस्तित्वबारे निश्चय गराउँछ । त्यस्तै मानवताले नै मानवको अस्तित्व छ ।
मानवताको सम्पूर्ण शब्दप्रक्रियामा विचार गरी अर्थप्रति ध्यान दिने हो भने एउटै तथ्य हाम्रो सामु उपस्थित हुन्छ, जो चिरन्तन सत्य र शाश्वत छ । त्यो एक ज्ञान हो जो सनातन छ र एक छ । संसारका सबै मानवहरू जुन एउटै सू्त्रमा बाँधिएका छन् त्यो मानवीय धर्मरूप मानवता हो । मानवताले तिनी सबै गुण र धर्मलाई बुझ्नुपर्छ, जो मानवमात्रमा अवश्य हुन पर्दछ तथा तिनी सबैलाई बुझ्नुपर्छ, जसले मानवलाई मानव हुने पहिचान गराउँछ ।
मानवता एक प्रेम र सहृदयताको पर्याय हो, जो सदैव मानव र मानवेतर प्राणीहरूप्रति प्रेमभाव र आत्मभावमा निर्भर रहेको छ । तर के सबै मानवलाई आफ्नो मानवताको वास्तविक परिज्ञान छ त ? के यस आधुनि युगमा मानवले आफ्नो गुण र धर्म तथा मानवीय मूल्यहरूलाई यथावत् पालन वा अनुरक्षण गरेको छ त ? इत्यादि प्रश्नहरू मेरो मनमस्तिष्कमा गुञ्जीरहन्छन् र म निरुत्तर नै रहेको छु । किनभने मलाई लागेको छैन कि हामी आफ्नो मूल्यहरूको र गुण–धर्मको पालन तथा अनुरक्षणमा सफल वा तत्पर छौँ । मलाई त यो प्रतीत भएको छ कि हामी आफ्नो अनेकौँ क्रमिक विकासहरूसँगै अनर्गल सिद्धान्तहरूको पनि रचना गरेका छौँ । हामीले आवश्यक शिक्षा त अर्जित ग¥यौँ तर मूल्यको दीक्षा बिर्सियौँ । हामीलाई ज्ञानको मार्ग मिलेको थियो तर भौतिक शानमा रमायौँ । हामीले आफ्नो तुच्छ स्वार्थपूर्तिका लागि स्वीय गुणधर्म र मूल्यहरूलाई बिर्सिएका छौँ । उपर्युक्त सबै कुरालाई अनेकौँ आतङ्कवादी सङ्गठनहरूको सत्ताले स्पष्ट पारेको छ कि मानव निज प्रकृतिबाट कति तल खसेको छ । आफ्नो र आफ्नो स्वल्प समुदाय मात्रको हितार्थ एक मानवले दोस्रो मानवप्रति बहुशः कष्ट निम्त्याएको छ भने पशुआदि अन्य प्राणीहरूको त कुरै के गरौँ । त्यसैले कुनै हिन्दी शायरले लेखेको छ कि –
इन्सान इन्सानको डस रहा है । और साँप बैठ कर हँस रहा है ।।
म यो भन्दिन कि सबै मानव या कुनै समुदाय विशेषका मानवहरूले मात्रै मानवता हराएका छन् । मेरो भनाइमा त ‘मानव प्रकृतिमा विकृति उब्जिरहेको छ’ । मानव आफ्नो मूलाधारदेखि भ्रष्ट भइरहेको छ । त्यसैले मानवको आन्तरिक पहिचान र मूल्यको बुझाइ पनि बदलिएको छ । मानवको मूलाधार के हो यसप्रति हाम्रो चिन्तन आवश्यक छ । यस दुर्लभ मानवजीवनलाई पाएर हामीले आफ्नो मानवीय पथको अनुसरण गर्न आवश्यक छ, जसले ज्ञानतर्फ उन्मुख गराउँछ । सर्वदा मानव र मानवेतर सबै प्राणीहरूमा प्रेमभाव दर्शाउँछ । अत एव उर्ध्वगति दिलाउँछ ।
मानवता भन्नाले मानवीय एकता पनि बुझ्नुपर्दछ । त्यसैले हामीलाई सबै मानवप्रति भाइचारा सिकाइएको छ र हामीलाई ‘वसुधैव कुटुम्बकम्’को आदर्श मिलेको छ । यही साँचो मानवता हो । यो मानवता मानवसृजित अनेक वर्गीय, जातीय, धार्मिक र साम्प्रदायिक भेदशून्य छ । मानवता सम्पूर्ण मानवको एकमात्र परमधर्म हो ।
अतः मानवताको दृष्टिले सब मानव एक छन् । प्रत्येक मानव आफ्नो धर्म मानवताको सूत्रले बाँधिएको प्राणी हो । सबै मानव समधर्मशील भएका कारणले मानव–मानवका बीचमा कुनै भेद छैन । वस्तुतः मानवतामा नै सबै धर्म गतार्थ छन् किनकि मानवतालाई सार्थक गर्नका निमित्त नै धर्मादि सृजित भएका हुन् ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत्।। ।। कल्याणमस्तु सर्वेषाम् ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार