नेपाली पत्रकारिता, प्रवृत्ति र नयाँ मिसन

नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा प्रेस जगतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मुलुकमा नयाँ संविधान जारी भएपछि स्थानीय सरकार बनेको एक वर्ष बितेको छ भने प्रदेश र संघीय चुनाव सम्पन्न भई तीनै तहका सरकारहरू यति बेला सञ्चालित छन् । यो एक वर्षमा मुलुक कुन दिशातिर अभिमूख भइरहेको छ त भन्ने प्रश्न र जिज्ञासा आम नेपालीमा रहेको छ । यसको सूक्ष्म समीक्षा गर्दै आगामी दिनको यात्रा तय गर्नु आम नेपालीको यतिबेलाको प्रमुख दायित्व हुन आएको छ । परिवर्तित सन्दर्भममा अगाडिको यात्रा कसरी सार्थक बनाउने भन्ने विषयमा आन्तरिक छलफल र बहस चलाउनु आवश्यक देखिएको छ । राजनीति र पत्रकारिता फरक–फरक विधा भए तापनि यी एक आपसमा परिपूरक छन् । राजनीति र पत्रकारिताअन्योन्याश्रित छन् । पत्रकारिताका लागि राजनीति सूचना, समाचार र विचारको महत्वपूर्ण स्रोत हो ।
साँचो अर्थमा भन्ने हो भने समय क्रममा राजनीतिले अरू सबै कुरालाई आफ्नो मातहतमा ल्यायो । तर यसको पृष्ठभूमितर्फ जाने हो भने मानिस अस्तित्वमा आएपछि बाँच्ने पहिलो आधार त उसले सञ्चारबाटै पायो । जब मानवीय सञ्चार बाँच्ने आधार र जीवन यापनको पहिलो अस्त्र हुँदै गयो, साथै भाषा र लिपिको पनि विकास हुँदै गयो । यसै क्रममा ढुङ्गा, काठ, शिलालेख, ताम्रपत्र र कागजपत्रमा मानिसले आफ्ना भावनालाई लिखतको रूप दिन थाल्यो । समयक्रममा पुस्तक, पत्रपत्रिकामा छाप्ने र छपाउने काम हुन थाल्यो । यसरी सञ्चारको विकास हुँदै जाँदा आधुनिक रूप लिन पुगी पत्रकारिता पेसाकै रूपमा स्थापित भयो । मानवीय भाव सम्प्रेषण गर्नका लागि सूचना प्रविधिमा भएको चमत्कारिक परिवर्तनले आधुनिक छापा माध्यम, रेडियो, टेलिभिजन, इ–मेल, इन्टरनेट (अनलाइन) जस्ता नयाँ सञ्चार माध्यमको विकास भयो । यसले विश्वलाई एउटै टोलमा परिणत गरिदिएको छ ।
आम सञ्चार तथा पत्रकारिता राजनीतिको शक्तिशाली अस्त्र बनेको छ । पत्रकारिताको साथ छोड्दा राजनीतिले सफलता प्राप्त गर्न नसक्ने अवस्था रहेको छ । राजनीतिको प्रमुख आधार आम नागरिक र जीवन्त राख्ने सफलताको माध्यम आम सञ्चार तथा पत्रकारिता हुन पुगेको छ । यसलाई कसैले नकार्न नसकिने स्थिति रहेको छ । त्यति मात्र नभएर आमसञ्चार तथा पत्रकारिता मानवीय सभ्यता, संस्कृति, विकास र समृद्धिको महत्वपूर्ण आधार र अपरिहार्य तत्व बनेको छ । अहिलेको विश्वमा जसको हातमा मिडिया छैन, मिडियामा पहुँच छैन, ऊ अत्यन्तै कमजोर मानिन्छ । मिडियाको साथ नभएको, नपाएको कुनै पनि धन, सम्पत्ति र दौलत अर्थहीन हुने अवस्था आएको छ । जसले विश्वको आधुनिकतालाई समयमै आत्मसात गरेर अगाडि बढ्न सक्दैन, ऊ आफै स्वतः निषेधित हुन्छ । उसको जीवन औचित्यहीन बन्न पुग्दछ । यो कुरालाई आजको युगको मानिसले बुझ्न सक्नुपर्छ । हामीसँग अहिले हातमा केही क्षण मात्र पनि मोबाइल भएन भने कस्तो अनुभूति हुन्छ । यति कुराबाट पनि सञ्चारको महत्वलाई हामीले अनुभूत गर्न सक्छौं ।
नेपालका गाउँ–गाउँ र दूरदराजमा सूचना प्रविधि र सञ्चारका विभिन्न माध्यमहरू पुगेर त्यसको उपयोग हुन थालेपछि मानवीय चेतनाको तीव्र विकास भएको छ । कुनै बेला मानिसका लागि गास, बास, कपास भन्ने कुरा प्रमुख नाराको रूपमा थियो भने पछिल्लो समयमा मानव जीवनका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा र सञ्चार धेरै प्राथमिकताका विषय बनेका छन् । जसको अभावमा आजको मानिस सभ्य, सुसंस्कृत र सफल जीवन जिउन सक्दैन । यी विषयहरूसँग आर्थिक रूपमा घाटा नाफाको कुरा हुँदैन । जीवनका लागि उपयोग हुन नसक्ने धनको के औचित्य रहन्छ र ? यो कुरालाई अहिलेको युगमा जीवन यात्रा गरिरहेको मानिसले बुझ्न आवश्यक छ । राजनीति, अर्थनीति, सभ्यता, संस्कृति, विकास, समृद्धि र शान्ति सार्थक जीवनका लागि अपरिहार्य छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ र आम नागरिकलाई बुझाउन सक्नुपर्छ ।
त्यसैले गाउँ–गाउँमा मानवीय समृद्धिको सञ्चार यति बेलाको महत्वपूर्ण कार्यभार हुनुपर्छ भन्ने हामीलाई लागेको छ । विकास र समृद्धिका आधारहरू खोज्दै योजना बनाउँदै र त्यसको सफल कार्यान्वयनतर्फ लाग्नुपर्ने यतिबेलाको कर्तव्य हुन आएको छ । यसै सन्दर्भमा नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक (२०७५ श्रावण २३ र २४ गत)े शान्तिभूमि लुम्बिनीमा सञ्चालित छ । परिवर्तित सन्दर्भमा नेपाली पत्रकारहरूको नेतृत्व गर्ने संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय बैठकले मुलुकलाई दिशाबोध गर्ने गरी नयाँ एजेण्डाहरूमा छलफल गरोस् र सही निष्कर्ष निकालोस् भन्ने हामीलाई लागेको छ ।
नेपाली राजनीति र पत्रकारिताले आजसम्म मूलतः अधिकार प्राप्तिकै लागि संघर्ष गर्दै आयो । विकास, समृद्धि र शान्तिका बारेमा सोच्नसम्म पाएन अर्थात भ्याएन । संघर्षै संघर्षका बीच आजसम्मको समय व्यतीत भयो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान जारी भई त्यसको कार्यन्वयनको रूपमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार बन्ने र यी तीन तहका सरकारहरूले काम गर्न थालेपछि समृद्धिका बारेमा चर्चा हुन थालेको छ । दैनिक पत्रले गत वर्षदेखि नै ‘समृद्धिका लागि पत्रकारिता’ भन्ने नारा अघि सारेको छ । यो समृद्धिको नारा मानिसको जीवन पद्धतिसँग जोडिएको छ । विका र निर्माणसँग जोडिएको छ । मानवीय सुख, करुणा, मैत्री र शान्तिसँग जोडिएको छ । मुक्ति र कल्याणसँग जोडिएको छ । गौतमबुद्धको विचारको सार पनि यही कुरासँग मिल्छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक पनि मुलुकको यो परिवर्तित सन्दर्भमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमै शुरु भएको छ । त्यसर्थ पनि यो बैठकको विशेष महत्व रहेको छ ।
नेपाली पत्रकारिताले नेपालको राजनीतिक आन्दोलनमा पु¥याएको योगदान अत्यन्तै महत्वपूर्ण रहेको कुरा सर्वविदितै छ । अब विगतको गुणगान गाएर मात्र हुनेवाला छैन । परिवर्तित सन्दर्भमा नेपाली पत्रकारको आचार, विचार र व्यवहार कस्तो हुनुपर्ने ? समग्र मिसन के हुनु पर्ने ?भन्ने विषयमा यो बैठकले विशेष योजना बनाओस् भन्ने हाम्रो चाहना रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान जारी भएपछि नेपाली पत्रकारहरूले खेलेको भूमिकाको बारेमा समीक्षा गर्नु जरुरी देखिन्छ । यस बीचमा पत्रकारिताले जुन मिसन बनाएर अगाडि बढ्नुपर्ने हो, त्यसमा कमी भएको महशुस भएको छ । पत्रकारिता अत्यन्तै सम्मानित र मर्यादित पेसा भएता पनि पछिल्लो समयमा यसभित्र अराजकता, बेथिति र विकृति बढ्न थालेको देखिएको छ । यस प्रकारको अराजकता, बेथिति र विकृतिलाई समयमै निगरानी र नियन्त्रण गर्नु अत्यावश्यक भइसकेको छ । यसलाई नरोक्ने हो भने यो पेसाप्रतिको विश्वास घट्दै जाने छ । विकासको गतिमा अन्यौल देखा पर्नेछ । अतः यो बैठकले पत्रकारिताको आगामी मिसन तय गरोस् र पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पालना गर्नमा पे्ररित गरोस् भन्ने हाम्रो चाहना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार