‘सामाजिक काम गर्नुमै आत्मसन्तुष्टि छु’

सामाजिक तथा गैरसरकारी संस्थामा क्रियाशील राधा भट्टराई हाल इनरह्वील क्लब अफ मिड टाउनको बर्ष २०१८÷१९ को अध्यक्ष छन् । सामाजिक काममै बढी तत्पर उनलाई यसमै सन्तुष्टि छ । विभिन्न सामाजिक संघ–संस्थामा आबद्व रहेकी राधा भट्टराईसँग जनसंघर्ष साप्ताहिकको लागि पूजा पन्थीले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईको बाल्यकाल कसरी बित्यो ?
मकवानपुर जिल्ला हेटौडा नगरपालिका ९ पशुपतिनगरमा सामान्य परिवारमा बुवा गुणनाथ अधिकारी र आमा यज्ञमाया अधिकारीको कोख बाट पाँच जना दिदी–बहिनी र २ जना दाजुभाई मध्ये कान्छी छोरीको रूपमा जन्म भएको हो । हाम्रो परिवारमा आमाबुवा दुवैलाई छोरीलाई पढाउनु पर्दछ भन्ने ज्ञान भएकाले हामीले शिक्षा दिक्षामा त्यस्तो कुनै कठिनाई झेल्नुपरेन । छोरी प्रतिको आधुनिक विचार थियो आमामा, आमाकै कारण हामीले छोराछोरीमा विभेद महशुस कहिल्यै गरेनौ । साँच्चै भन्नुपर्दा घरमा दाजुहरूलाई भन्दा पनि हामी छोरीहरूलाई धेरै सुविधा थियो । आमाबुवाले छोरी छोरा बीचमा कुनै पनि कुरामा भेदभाव भएको महशुस गराउनु भएन । उहाँहरूले त हामीलाई छोराभन्दा छोरीलाई अझै सक्षम गराउनु पर्छ भन्नु हुन्थ्यो म भन्दा ठूलो दाजु दिदी भएकाले मैले घरमा उहाँहरूबाट नै धेरै सिक्ने मौका पाएँ । उहाँहरूको त्यो सोंचको कारणले नै आज हामीले त्यति गर्न सकेका हांै ।
म सानोमा एकदम चकचके स्वभावकको थिएँ । जसको जे नयाँ समान देखेपनि चलाउनै पर्ने अनि बिगारीहाल्ने त्यसैले सबैको गाली खान्थें अलि निडर स्वभाव थियो कसैले हेपेको सहन नसक्ने बानी थियो । विद्यालयमा हुने अतिरिक्त कृयाकलापमा भाग लिई हाल्ने खेलकुदमा रुचि थियो । विद्यालयस्तरमा खेलकुदमा पुरस्कारहरू पनि प्राप्त गरेको थिएँ तर विद्यालय छोडेसँगै त्यो पनि छोडिएछ । सानैदेखि अलि बोल्ने स्वभाव नयाँ कुरा देख्योकी जिज्ञासा राखी हाल्ने नराम्रो कुराको विरोध गरी हाल्ने बानी थियो । घरमा धार्मिक वातावरण आमाबुवा अलि धार्मिक स्वभावको हाम्रो घरमा धार्मिक कार्य धेरै हुने गर्दथ्यो ।
सानोमा सामान्य रूपमा नै हुर्किएँ । खासै मैले त्यस्तो कुनै दुखको महशुस गरिन । सामान्य परिवार थियो तर पनि खुशी परिवार थियो । मैले १२ सम्म हेटौडामा पढें भने त्यसपछिको बाँकी अध्ययन विवाहपछि बुटवलमा गरें । मेरो विवाह रूपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ बस्ने तारानाथ भट्टराईसँग २०५९ सालमा भयो । विवाह पछि श्रीमान र परिवारको सहयोगले नै अध्ययन गर्न सफल भएँ । रूपन्देहीमा आएपछि मैले एक वर्ष बुटवल एफएममा काम गरें । त्यसपछि रेडियो छोडेर गैरसरकारी संस्थामा काम गर्न थालें । त्यही गैरसरकारी संस्थामा नौ वर्ष काम गरें त्यही संस्थाले मलाई रूपन्देहीमा स्थापित गरायो । त्यसैक्रममा स्वार्थभन्दा माथिको सेवा बोकेको संस्था इनरह्वील क्लब अफ मिडटाउन बुटवलमा प्रवेश गरें । त्यसमा रहेर पनि धेरै सामाजिक कामहरू गर्ने अवसर पाएँ । नौ वर्षको कामको अनुभव लिँदै हाल अर्काे संस्था कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डमा काम गर्न थालें हाल कार्यक्रम संयोजकको रूपमा काम गर्दै छु । हाल इनरह्वील क्लब अफ मिडटाउनको अध्यक्ष भएर सामाजिक काम गर्दैछु ।
सामाजिक क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
सामाजिक क्षेत्रको कुरा गर्नुपर्दा हामी त सानैदेखि सामाजिक काममा सहभागी हुने गर्दथ्यौं । गाउँघरमा हुने सामाजिक काममा जाँदा रमाइलो लाग्थ्यो । तर औपचारिक रूपमा भन्नु पर्दा प्रमाणपत्र तह पढ्दा हामी कम्प्युटर सिक्ने गर्दथ्यांै । एउटै कलेजमा पढ्ने सात जनाको समूह कम्प्युटर सिक्ने त्यतिबेला हेटौडामा लागूपदार्थ दुव्र्यसनको व्यापकता थियो भने अर्कातिर चेलीबेटी बेचबिखनको हुने जिल्ला मध्ये मकवानपुर पनि पर्दथ्थो । त्यहीक्रममा मकवानपुरको जिल्ला प्रहरी कार्यालयमा एसपी भएर वसन्तराज कुवँर आउनु भयो र उहाँले दुव्र्यसन नियन्त्रणका लागि युवाहरूको समूह बनाई आश्रय नामक संस्था खोली अभियान नै चलाउनु भयो । हामी पनि उहाँले सुरु गर्नुभएको उक्त अभियानमा हामीलाई पहिलो पटक एक जना दिपक ढुङ्गेल भन्ने दाईले सहभागी गराउनु भयो र त्यसपछि अन्य कार्यक्रममा पनि सहभागी हुन थाल्यांै एकदिन हामी पढ्ने कलेजमा उहाँले दुव्र्यसनविरुद्धको कार्यक्रम गर्नुभयो । हामी सबै साथीहरू सकृय रूपमा कार्यक्रममा सहभागी भयौ र हाम्रो सकृयता देखेर बसन्त सर प्रभावित हुनु भएछ । अनि हामीलाई मकवानपुर जिल्लाको बेचबिखनको समस्याका बारेमा जानकारी गराई त्यसतर्फ समूह बनाई लाग्न आग्रह गर्नुभयो । हामी पनि उहाँ दिनु भएको उत्प्रेरणाले सकृय भयांै र मेरो अध्यक्षतामा अस्मिता हेटौडा नाम दिएर एउटा संस्था दर्ता गरी विभिन्न संस्था, व्यक्तिहरू सँग सहयोग माग्दै काम गर्दै गयांै । यति धेरै मेहनत गर्यौकी उक्त संस्थालाई स्थापित गराएर छोड्यौ । उमेरमा सानो भएपनि जताततै हाम्रो नाम आउन थाल्यो । हाम्रो संस्था मकवानपुर जिल्लाको उत्कृष्ट संस्थाका पर्न थाल्यो ।
यस संस्थाको माध्यमबाट समाजमा धेरै सामाजिक काम गरियो सानै उमेरमा सामाजिक काममा सकृयतासँगै त्यही बीचमा हेटौडामा उपत्यका बाहिर व्यवसायिक रूपमा एफएम रेडियो स्थापना भयो र एफएमबाट मलाई रेडियोमा कार्यक्रम सञ्चालकको प्रस्ताव आयो । सुरुमा धेरै डर पनि लाग्यो सक्दिन जस्तो पनि लाग्यो । किनकी त्यतिबेला सञ्चारको माध्यममा रेडियो नं एकमा पर्दथ्यो । जताततै रेडियोको चहलपहल थियो महिला प्रस्तोता एक जना पनि नभएको अवस्थामा म नै रेडियोमा पहिलो कार्यक्रम प्रस्तोताको रूपमा प्रवेश गरेको थिएँ । कतै गलत बोल्छुकी भन्ने डर लाग्ने हुन्थ्यो । सुरुमा धेरै डर लाग्यो तर विस्तारै स्टेशन म्यानेजर समिर नेपाल र दिपक सिजाल सरले धेरै हौसला दिनुभयो साथै मेरो परिवारको प्रेरणाले मलाई हिम्मत आयो काम गर्दै गए रेडियोबाट पनि धेरै सफलता हासिल गरें । चाँडै नै रेडियोमा कार्यक्रम प्रस्तोता हुँदै समाचार देखि सबै कार्यक्रमसम्म गर्न सक्षम भएँ । सानै उमेरदेखि सामाजिक काममा लागेर होला अहिले पनि उत्तिकै जाँगर लाग्छ सामाजिक काममा । सामाजिक काम भन्नेवित्तिकै जागर आइहाल्छ सामाजिक काममा कहिले प्रवेश गरें भन्ने थाहा नहुँदै सामाजिक कार्यकर्ता भइएछ ।
सामाजिक क्षेत्रमा लागेर के पाउनु भयो ? के गुमाउनुभयो ?
सामाजिक काम गरेर केही गुमाएको महशुस भएको छैन आत्मसन्तुष्टि पाएको छु विभिन्न क्षेत्र, समुदाय, वर्गसँग काम गरेको छु । विभिन्न क्षेत्रका अनुभव लिएको छु । आनन्द लाग्छ, खुशी लाग्छ आफ्नो सानो सहयोगले अरूको अनुहारमा हाँसो आउँदा जीवनभरी यसरी नै सबैको सेवा गर्न पाएँ हुन्थ्यो भन्ने लागेको छ । दुःखीको अनुहारमा खुशी ल्याउने मन छ । रोएको आत्मालाई हँसाउने मन छ । सानो उमेरदेखि सामाजिक काम गरेको मान्छे म अब त सामाजिक काम नगरी बस्नै सक्दिनजस्तो लाग्छ ।
भावी योजना के छ ?
भावी योजना त्यस्तो यही छ भन्ने छैन तर पनि म अहिले इनरह्वील क्लब अफ मिड टाउनको बर्ष २०१८÷ १९ को अध्यक्ष भएपछि मेरो काँधमा थप जिम्मेवारी थपिएको छ । विशेष गरी यो वर्ष छ महिला र बालबालिकामा केन्द्रीत रहेर काम गर्ने भन्ने सोंचाई रहेको छ । हाम्रो समाजमा अहिले पनि महिलाहरू हिंसा सहेर बस्न बाध्य छन् हिंसाको प्रमुख कारण भनेकै शिक्षा र आर्थिक पाटो रहेछ । त्यसैले बालिका शिक्षा आवश्यकताको बारेमा चेतना जगाउने खालका कृयाकलापहरू र महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि व्यवसायिक सीपमूलक तालिमहरू र विशेषगरी बालबालिकामा बढिरहेको यौन दुव्र्यवहार विरुद्दका कार्यक्रहरू, युवायुवतीमा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनविरुद्धका कार्यक्रम लगायत महिलाहरूलाई कानुनी सचेतना गराउने कार्यक्रहरू गर्ने साथै विशेषगरी महिलाहरूका प्रजनन् स्वस्थ्यका कुरा, पाठेघर क्यान्सर र स्तर क्यान्सर सम्बन्धि चेतना जगाउने योजनामा राखेको छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार