बिर्सिंदै लुतो फाल्ने संस्कृति

ध्रुवशरण ढुंगाना / बुटवल । २० वर्षअघि ‘लुतो लैजा, पीलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै’ तिलोत्तमा ८ शिवपुर निवासी ७३ वर्षिय तुलसीराम चालिसेले साउने संक्रान्तिका दिन लुतो फालेको सम्झिन्छन् । तर त्यो संस्कृति विस्तारै हराउँदै गएको छ ।
सहरबाट लगभग विस्थापित भइसकेको साउने संक्रान्तिको महिमा पहाडी जिल्लामा समेत बिर्सिन थालिएको छ । नयाँ पुस्ताले संस्कृति भुल्दै गएकोप्रति संस्कृतिका चिन्तकहरू भने निराश छन् ।
‘२० वर्ष भयो लुतो फाल्न छोडेको पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो । खै यो जोगाउनु पर्ने रीति हो, तराई झरेसँगै लोप भयो, बिर्सिइयो’– चालिसेले भने । श्रावण महिनाको १ गते संक्रान्तिका दिन यसरी गाउँघरमा चारै दिशातिर लुतो लैजा, पीलो लैजा भन्दै धँयरीको दाउरा जलाएर फाल्ने चलन छ । पहाडमा कतै यो चलन अहिले पनि छ तर तराईमा झरेका पहाडियाहरूले यो चलन बिर्सिंदै गएका छन् ।
बुटवल बहुमुखी क्यापस बुटवलका समाजशास्त्र विभागका प्रमुख जीवनारायण अधिकारी भन्छन्– ‘पहिलेको समयमा मानव बस्ती प्रकृतिको नजिकै बस्ने गथ्र्यो, तर अहिले बस्ती प्रकृतिदेखि टाढिँदै छ, साउने संक्रान्तिको चलन हराउनु पनि यसैको प्रतिफल हो ।’
कागती, अमिलो, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने जनविश्वास छ ।
साँझमा कुकुर डाइनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर ताप्ने र धँयरीको जलेको अगुल्ठो घरको आँगनबाट चारै दिशामा लुतो लैजा भन्दै फ्याँक्ने चलन छ ।
अधिकारी भन्छन्– ‘पहिले बस्ती जंगलको छेउछाउमा बस्ने गथ्र्यो, श्रावण महिना उत्पादनशील महिना भएका कारण अनेकौ जीवाणु उत्पन्न हुने गर्दछन्, यसले प्रत्यक्ष मानवलाई असर पु¥याउने जीवाणुहरू घरको वरिपरि नआऊन् भन्नको लागि धँयरीको दाउराको विषाक्त धुँवाको अगुल्ठो फाल्ने प्रचलन चलेको थियो । यस्तो कर्मले शरीरलाई असर पु¥याउने जीवाणुको दमन गर्न सहयोगी हुन्थ्यो ।’
अधिकारीका अनुसार बढ्दो आधुनिकीकरणले गर्दा हाम्रो समाजमा यस्ता मौलिक रीतिरिवाजको लोप हँुदै जान लागेको हो । हाम्रो समाजमा यस्ता रीति परम्पराले सामजिक सद्भाव कायम राख्ने काम गरिरहेको अधिकारीको भनाई छ ।
हिन्दुधर्मका अभियान्ता पं. नारद गौतम धार्मिक दृष्टिले पनि यो पर्वमा गरिने कार्यको महत्व रहेको बताउँछन् । शरीरमा वर्षाको वेला अनेकौं किराहरूले टोकेर शरीर सुनिने, घाउ खटिरा आउने हुँदा शरीर स्वास्थ्यको लागि कण्डारक पूजा गर्ने र लुतो फाल्ने चलन चलेको उनी बताउँछन् ।
ज्योतिष शास्त्रानुसार पनि सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) तथा मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
यसै दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जान्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार