शून्य समयमा सांसदका गुनासै गुनासा

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभाको शून्य समयमा बोल्दै सदस्यहरूले सरकारसमक्ष गुनासा पोखेका छन् । सोमबार बसेको बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूले किसानलाई समयमा नै मल खादको व्यवस्था गर्नेदेखि प्रदेशको स्थायी मुकाम र नामाकरण तथा प्रदेशमा गाभिएका सरकारी कार्यालयबाट हुने कामको अन्यौलताको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा बोलेका १३ जना सदस्यहरूले आफ्ना जिल्ला निर्वाचन क्षेत्रका समस्यासँगै जुम्लामा अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको माग सम्बोधन, कपिलवस्तको सीमामा भारतले बनाएको बाँधले पारेको असर, मध्यपहाडी लोकमार्गका विभिन्न क्षेत्रको सडक अवरुद्धलगायका विषयमा प्रदेश सरकारमार्फत् संघीय सरकारको समेत ध्यानाकर्षण गराएका थिए ।
शून्य समयको शुरुवातमा बोलेका सांसद उत्तर कुमार ओलीले किसानलाई छिटो रासायनिक मल उपलब्ध गराउन, प्रदेश सदस्यको मर्यादाक्रम छिटो निर्धारण गर्न, प्रदेशको स्थायी मुकाम र नामाकरण व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले सरकारलाई असफल बनाउन र मुलुकलाई समाजवादको दिशामा अघि बढ्न नदिन डा. केसी अनसनमा बसेको उनको भनाई थियो ।
सांसद तारा जिसीले डा. केसीका माग जनताको पक्षमा भएकाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन् । उनले ऐतिहासिक जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनका काम प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिँदै फूलबारीमा भारतीय पेन्सन क्याम्पलाई दिएको ३ बिघा जग्गाको निर्णय खारेज गरी अन्यत्र जग्गा व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह पनि गरेकी थिइन् । तुल्सी प्रसाद चौधरीले प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा भएका किसानको समस्या तत्काल समाधान गर्नुपर्ने माग राखेका थिए । मोतिपुरमा रहेका किसाको समस्या समाधान भएमा मोतिपुर औद्योगिक क्षेत्रको गरिमा अझै वृद्धि हुने उनको भनाई थियो । प्रदेश सभा सदस्य फकरुद्धिन खाँले प्रदेश सरकारको बजेट मंगलबारदेखि नै कार्यान्वयनमा लैजानु पर्ने बताए । उनले अनसनरत डा. केसीका माग तत्काल संघीय सरकारले सम्बोधन गर्नुपर्ने र प्रदेशको स्थायी मुकाम र नामाकरणमा अब ढिलाई गर्न नहुने भनाई राखेका थिए ।
धर्मबहादुर लाल श्रीवास्तवले भारतले कपिलवस्तुको सीमा क्षेत्र महिलामा बाँध बाँध्दा यशोधरा गाउँपालिकाका १० वटा गाउँ डुवानमा परेर क्षति भएको जानकारी गराउँदै अबका दिनमा डुवान हुन नदिन संघीय सरकारले भारतसँग कुरा गर्नुपर्ने बताए । उनले किसानले भोग्नु परेको नोक्सानीलाई प्रदेश सरकारले क्षतिपूर्तिको रूपमा प्रदान गर्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य विष्णु पन्थीले पूर्वपश्चिम राजमार्ग ४ लेनको र गुणस्तरीय बनाउनु पर्ने बताए । उनले सडकबाट नै आयआर्जन गर्न सकिने हुँदा सडक निर्माणमा सबै लाग्नुपर्ने बताए । सांसद भोजप्रसाद श्रेष्ठले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न छिट्टै अव्यवस्थित बसोबास आयोग गठन गर्नुपर्ने बताए ।
त्यस्तै रामजीप्रसाद घिमिरेले अर्घाखाँचीमा २०५२ सालमा लालपुर्जा पाएका सुकुम्वासीले अहिले विशेष नापीले नापजाँच गर्दा पुर्जा नदिएकाले पुर्जा वितरणको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
शून्य समयमा तेजबहादुर वली, दीपेन्द्र अधिकारी, पुरन बज्राचार्य, सहश्राम यादव, शुष्मा यादवलगायतले बोल्दै सरकारमा समाहित भएका जिल्लाका सरकारी कार्यालयहरूबाट हुने कामहरूको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताए । उनीहरूले जिल्लामा भइरहेका बिभिन्न कार्यहरू गर्नको लागि कहाँ जाने भन्ने विषयमा उनीहरूमा रहेको दुविधा अन्त्य गर्नुपर्ने बताएका हुन् । प्रदेश सभाको अर्को बैठक साउन ११ गत बस्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार