आधारभूत तथा एडभान्स कम्प्युटर तालिम

पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा जिल्लाका द्वन्द्व प्रभावित परिवारलाई २ महिने आधारभूत तथा एडभान्स कम्प्युटर तालिम समापन भएको छ ।
तानसेनको न्यू डाइनामिक कम्प्युटर एकाडेमीमा भएको तालिमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही थिए । प्रमुख अतिथि शाहीले अहिलेको २२ औं शताब्दीमा कम्प्युटर शिक्षा अनिवार्य भएकाले सबैले सिक्नुपर्ने बताए । कार्यक्रममा न्यायका लागि द्वन्द्वपीडित समाज पाल्पाका अध्यक्ष होमनाथ पोखरेलले विभिन्न समयमा भएका घाइते, अपाङ्ग, द्वन्द्व प्रभावित व्यक्तिलाई प्राविधिक ज्ञान दिन सहयोग गरेकोमा आयोजकलाई धन्यवाद दिए । समाजका उपाध्यक्ष सिता जिसीले अन्य गाउँपालिका र नगरपालिकाले समेत द्वन्द्व पीडित परिवारलाई सीपमूलक तथा चेतनामूलक कार्यक्रम दिनुपर्ने बताए ।
तालिमका प्रशिक्षक न्यू डाइनामिक एकाडेमीका म्यानेजिङ्ग डाइरेक्टर अमृत अधिकारीले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उत्र्तान सिकारुलाई आग्रह गरे । पत्रकार महासंघका केन्द्रीय सभासद् रेखीराम रानाले मोवाइल, कम्प्युटर जस्ता विषय सिक्नु अहिले अनिवार्य भएको बताए । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले द्वन्द्व प्रभावित व्यक्तिलाई केही राहतका लागि तालिमको व्यवस्थापन गरिएको बताए । उनले सीप सिकेर जीविकोपार्जन गर्नमा लगाउन आग्रह गरे । सहभागी जीवा आलेले तालिमले व्यवहारिक ज्ञान दिएकाले आगामी दिनमा यसको सही उपयोग गरिने बताए । यसैबीच, माथागढी गाउँपालिकाको प्रायोजन तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा शिक्षक सेवा आयोग तालिम सम्पन भएको छ ।
तानसेनको न्यू डाइनामिक एकाडेमीमा भएको तालिममा माथागढी गाउँपालिकाका ४० जना सहभागीहरूको सहभातिा रहेको थियो । तालिम समापन समारोहमा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले गाउँपालिकाले दिएको अवसरलाई सही रूपमा सदुपयोग गर्न सहभागीलाई आग्रह गरे । उनले शिक्षक र कर्मचारीको संघीय संरचनासँगै ठूलो माग र सम्भावना रहेकोले मेहनतका साथ लक्ष्य चुम्न आग्रह गरे । उनले गाउँपालिकामा दरबन्दी अनुसारको कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या रहेको बताए ।
विशिष्टि अतिथि आदिवासी जनजाति महासंघ पाल्पाका संस्थापक अध्यक्ष गमबहादुर थापामगरले जनजातिहरूलाई सरकारी सेवा पहुँचमा पु¥याउन तालिम दिइएको बताए । उनले जनजातिहरू सक्दैनौं भनेर बस्नु भन्दा मेहनत गरेमा देश चलाउन समेत सक्ने बताए । यस्तै गुरुङ्ग सेवा समाज पाल्पाका अध्यक्ष खड्गबहादुर गुरुङ्गले शिक्षक एक सचेत पेशा भएकाले सहभागीले त्यसलाई सही रूपमा सदुपयोग गर्नुपर्ने बताए । तालिमका प्रशिक्षक गोपाल प्रसाद बस्यालले विद्यार्थीले निरन्तर मेहनत गरेमा सफलता हुने बताए । उनले तालिम अवधिभर सिकेका ज्ञानलाई कापीमा उतारेमा शिक्षक बन्ने अवसर मिल्ने बताए । सहभागी विद्यार्थी डासवीर सारु र तारा रानाले गाउँपालिकाले दिएको तालिमले लक्षितवर्गलाई सरकारी सेवामा पुर्याउन सहज हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार