हाम्रा नेता र देशको चाला

यो लेख ०६६ साल असार महिनाको लागि लेखिएको थियो तर त्यो समय चाहेर पनि छिपाउन पाइन । कुरा ०६६ साल असार १६ गतेको हो । २ बजेतिर म आँखा जचाँउन रणअम्बिका आँखा अस्पतालमा गएकी थिएं । त्यहाँ लाइब्रेरियन स्रष्टा सुधा रिसालजीको आग्रहमा उहाँको डेरामा चिया पिउन गइयो । ३ः४५ तिर कान्तिपुर पत्रिका उहाँको घर आयो । मैले त्यो पत्रिका यसो हेरें । पत्रिकाको पहिलो पृष्ठमा नै एमाले नेता पार्टी अध्यक्ष झलनाथ खनालज्यूको गलामा माला झुण्डिएको रहेछ । ढाइ लाखको हसिलो मुस्कानको साथ एकजना कार्यकर्ताको बुई चडेर खोला तर्दै गरेको रंगिन तस्विर देखें । जस जसले त्यो तस्विर देख्नु भयो सबैको मनमा केही न केही कुरा त अवश्य नै खेल्यो होला । मेरो मनमा पनि कुरा खेल्यो । सर्वप्रथम मेरो मनले के सोच्यों भन्दा जेहोस् फोटो पत्रकारलाई पनि मान्नै पर्छ, कति बेला भ्mयाप्पै यस्तो फोटो खिचिदिएको । अनि पत्रिकाको अग्र पंक्तिमा कार्यकर्ताले नेतालाई बुई बोकेर खोला तर्दै गरेको तस्बिर छापिदिएको । दोस्रो चाहिं कस्तो नेताजी होला ? यस्तो हृष्टपुष्ट शरीर भएर पनि लाजै नमानी बच्चाझै बुई चढेर खोला तरेको । बरु सहयोगिको हात च्याप्पै समातेर पो खोला तर्नु पर्ने । फेरि यसो खोलामा कत्तिको पानी रहेछ भनेर तस्बिर पनि नियाले तर खोलामा त्यति धेरै पानी भए जस्तो पनि लागेन । अनि म मनमनै हाँसे । धन्न हुन् हाम्रा नेता कार्यकर्ताको बुई चढेर असार पन्ध्रमा २,४ वटा छुपछुप धान रोप्छु भनेर गएको । अनि चाहिदो भन्दा नचाहिने कुरामा बढी भाषण छाट्न गएको । अनि फेरि मेरो मनले सोच्यो हाम्रो देश नेपालमा सामन्तीको बोट जरैदेखि ढलेकै छैन है भनेर । कार्यकर्ताको बुई चढेर , कार्यकर्तालाई ढाल बनाएर चन्द्रमा छुने हाम्रा नेताहरूको बानी बसिसकेको छ । फेरि हाम्रा कार्यकर्ता पनि त्यस्तै नेताको चाप्लुसी गर्नुपर्ने । सोझा नेपाली जनताहरू भने भोट बैंकको रूपमा प्रयोग हुने । खोलो त¥यो लौरो बिर्सियो यही चलन छ हाम्रा नेताहरूमा । हामीहरू पनि त्यस्तै छौं चिप्ला भाषणको पछाडि दौड्ने , ०६२।०६३ को जनआन्दोलन पछि विशेष गरेर पिछडिएका दलित शोषित पीडित वर्गमा हरियाली खुशीयाली छाउला गाँस बास र कपासकोे सुविधा होला भनेर मख्ख परेका थिए । संविधान लेख्न भनेर चुनिएर गएका नेताहरू कुर्चीकै निम्ति लुछाचुडी भयो । देशमा कसरी दिगो शान्ति स्थापना गर्ने ? सम्पूर्ण नेपालीको हितको निम्ति कस्तो संविधान लेख्ने त्यस विषयमा बेवास्ता गरिएको महसुस गरायो। यस्ता विशेष व्यवस्थातिरभने पटक्कै ध्यान केन्द्रित नहुने । कसरी खेती योग्य जमीन तथा पर्ती जमीनहरूलाई उर्बर बनाउने त्यतातिर महत्व दिएको छैन । भाषण मात्र छाट्नु छ । सरकारमा गइसकेपछि खै एक अर्काको सम्मान गरेको । मात्र खुट्टा तान्ने प्रवृति बढेको छ । सबैलाई कुर्ची प्यारो छ । “सर्प झै हैन भ्यागुतो झै यो देशले फड्को मार्नुपर्छ” भनेको देश टुक्राउने चलखेल भएको छ । अन्नहरू गोदाममा सडेर बस्छन् । अनि हेरेर मर्नु भन्दा छेरेरै मर्नु जाति भनेर फाल्न लगेको सडेको अन्न चामल पनि नेपाली जनताले खान बाध्य भएका छन् । नेपालको मुख्य पेसा कृषि हो । हरियो वन नेपालको धन यो कुरा त उहिलेको बाजेको पालाको कुरा भन्ने भएको छ । खेती योय जमिनहरू धमाधम प्लटिङ भएर मासिदैछन् । वन जंगलहरू धमाधम विनास भइरहेका छन् , कृषि उत्पादनमा रसायनिक मलहरू प्रयोग भएर माटोको उर्बरा शक्ति घट्दै गइरहेको छ । युवा शक्तिहरू विदेशिने क्रम जारी छ । खै त यो कुरातर्फ सरकारहरूको ध्यान केन्द्रित भएको ।
असार १५ भनेका छन् नेताहरूलाई प्रमुख अतिथि बनाउँछन् , नचाहिंदो भाडभैलो भइदिन्छ । भएन गलामा धानको माला उनेर लगाइदिन्छन् । गमलामा धान रोपेर धान दिवसको उद्घाटन गराइन्छ ।अब असार १५ मा धान रोप्ने ठाँउठाउमा भाषण छाट्न कार्यकर्ताको बुई चढेर जाने काम छैन । देशको बिग्रदो स्थितिलाई कसरी सुधार गर्न सकिन्छ ? नेपाल आमालाई कसरी हसाउन सकिन्छ ? नेताहरू आपसमा एकजुट भएर नेपाललाई बचाउनु छ । नेपाल रहे मात्र हामी नेपाली रहन्छौ भन्ने कुरा नेताहरूले बुझन जरुरी छ ।
२० वर्षपछि देशमा चुनावी लहर छायो । मलाई भोट दिनुस् म यस्तो र उस्तो गर्छु भनेर फुइलगाए जनप्रतिनिधिको हातमा देश गयो । विडम्बना जनताहरू ट्वाँ । खोला तर्याे लौरो त बिर्सियो नै भएको छ महंगीले ढाड सेक्दै गएको छ भएन करहरू बढ्दै गएको छ । दर्ता शुल्क पचास रूपैयाँबाट एक हजार गरेको छ ।
जनताहरू तेरै नेताले गर्दा झन देश खत्तम पो हुनलाग्यो भनेर आपसमा द्वन्द्व सिर्जना गराएको छ । अहो ! हाम्रो देशको चाला जुन जोगी आयो कानै चिरेको भन्न बाध्य भयांै । नेपाली जनताको मुहार चाहिं होइन नेताहरूको पो दिन फेरिने भयो । मेरो भाञ्जा खुम बहादुर बि.क.ले अब यो देशको नाम नेपाल होइन नेतापाल पो हुनुपर्छ भनेर फेस्बुकमा लेखेको कुरा नै हो कि जस्तो महसुस गराएको छ । धन्य हुन् हाम्रा देशका नेता ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार