प्रदेशमै आयुर्वेद औषधि उत्पादन गर्ने योजना

बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाइने बताएका छन् । बुटवलमा बिहीबार भएको प्रदेशस्तरीय आयुर्वेद औषधि उत्पादन सम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले स्वदेशी जडीबुटीलाई प्रयोग गरेर पहिलो चरणमा प्रदेशलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।
प्रदेश ५ जडीबुटीमा धनी रहेको भन्दै उनले त्यसको सही सदुपयोग हुने बताए । ‘जडीबुटी प्रयोगले प्रदेश पनि धनी हुन्छ, किसानको पनि आयआर्जन बढ्छ, उनले भने । यहाँ रहेका औषधालयहरूको स्तरबृद्धि गर्दै औषधि उत्पादनमा जोड दिने सरकारको नीति रहेको उनले बताए ।
एलोपेथिक औषधिजस्तै आयुर्वेद औषधिसमेत किन्नु पर्ने अवस्था हुनु राम्रो पक्ष नभएको उनले बताए । नेपाल र भारतमा वेदलाई विज्ञान मानेर काम नहुँदा आयुर्वेद औषधि समेत युरोपतिरबाट आउने खतरा रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एकराज बिकले आयुर्वेद स्वास्थ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै सरकारले यसको विकासमा धयन दिनुपर्ने बताए । जति खाए पनि बिगार नगर्ने बरु सन्चो गर्ने औषधिको विकल्प अरू औषधि हुनै नसक्ने उनले बताए ।
स्वेदशी कच्चा पदार्थबाट भारतमा उत्पादन भएको करोडौं मूल्यको औषधि नेपाल आयात हुँदै आएको छ । त्यसलाई प्रतिस्थापन गर्नका लागि पनि औषधि उत्पादन थाल्ने योजना छ । ‘स्वेदशी कच्चा पदार्थ प्रयोगले आयातित औषधि विस्थापन गर्न सक्छ’ मन्त्रालयका सचिव पुस्करराज पन्तले भने ।
मन्त्रालयको स्वास्थ्य महाशाखाले प्रदेशमा औषधि उत्पादनको सम्भाव्यता अध्ययन थालिसकेको महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए । प्रदेश ५ मा एक क्षेत्रीय, तीन अञ्चल र अधिकांश जिल्ला औषधालय रहेकाले समेत औषधि उत्पादनमा सहज हुने उनले बताए ।
कार्यक्रममा लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डा. रमेश केसीले औषधि उत्पादननको सम्भवना र फर्मासिस्ट मनिस केसीले औषधि उत्पादनको प्राविधिक पक्षको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा यसक्षेत्रका आयुर्वेद चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार