‘राजसत्ता’ नाटकमा शास्त्री

किचनाश गाविस ४ मा स्याङ्जामा स्वर्गीय तुल्सीशरण उपाध्याय र दमयन्ती उपाध्यायको न्यानो काखमा हुर्केर अध्ययन गर्ने क्रममा हिन्दु विश्वविद्यालय वाराणासीबाट संस्कृति साहित्यमा शास्त्री उत्तीर्ण गरेका मोदनाथ शास्त्री नेपाली साहित्यका विराट श्रष्टाको रूपमा परिचित छन् । उनका करिव एक दर्जन महाकव्य छन् भने त्यसरी नै खण्डकाव्य, नाटक, कविता संग्रह गीत संग्रह गरी करिव तीन दर्जन ज्यादा कृतिहरू प्रकाशित छन् । उनले थुप्रै कृतिहरू अनुवाद पनि गरेका छन् । रूपन्देही मात्र हैन सिङ्गो नेपाली साहित्यमा उनको पहिचान शानदार रूपमा झल्किएको छ ।
आज म मोदनाथ शास्त्रीको ‘राजसत्ता’ नाटक कृतिको समीक्षा गर्न चाहन्छु । अर्काको बोली व्यवहारको नक्कल गर्ने तथा नाँच्ने व्यक्तिलाई नट भनिन्छ । यही नटबाट नाटक भएको हो । अरूको रूपका आरोप गर्ने हुँदा यसलाई रूपक पनि भनिन्छ । त्यसैले विश्वनाथले ‘तन्दू पारो पात्तु रूपकम्’ भनेका छन् । यो विधा अभिनयसँग सम्बन्धी छ । त्यसैले यसलाई पूर्वीय साहित्यकारहरूले यसको सैद्धान्तिकीलाई विस्तृत पारेका छन् । उनीहरूले आङ्गिक, वाचिक, आहार्य र सात्विक भनेर अभिनयका आधारहरू तोकेका छन् ।
नाटकहरू विभिन्न किसिमका हुन्छन् । कुनै ऐतिहासिक कुनै पौराणिक र कुनै सामाजिक पनि हुन्छन् । यो कृति राजनैतिक विषयवस्तुमा आधारित छ । अन्त्यका दृष्टिकाणले सुखान्त दुःखान्त अनि सुखान्त दुखान्त दुबै हुन्छन् । यो नाटकलाई यी तिनवटै आधारमा मापन गर्न सकिदैन ।
नाटकमा हुने विभिन्न तत्वहरूमध्ये कथावस्तु पहिलो हो । कथा वस्तु अर्थ प्रकृति र पञ्चसन्धिले कसिएको हुन्छ । त्यसरी नै यस नाटकको परिवेश भैरहवा आसपासमा सीमित छ । यसको उद्देश्य दर्शकहरूमा साम्यवादी धारणा बसाल्नु रहेको छ । यो अल्पपात्री नाटक हो । यसमा ३ वटा अङ्कहरू छन् । प्रत्येक अङ्कमा दुई दुईवटा दृष्यहरू राखिएको छ । यस नाटककमा सूत्राधारको जस्तो भूमिका लक्ष्मण र माधवले गरेका छन् । पहिलो अङ्कमा मदन सुधीर दोस्रो अङ्कमा राजेश सुरेश र तेस्रो अङ्कमा राम र श्यामको संवादबाट विषय वस्तुको प्रतिपादन गरिएको देखिन्छ । यो नाटक रसस्वादनका दृष्टिले त्यति सफल छैन । यसबाट गौरवबोध त होला तर अन्य प्रकृतिको रसानूभूति हुँदैन ।
नाटकको प्रतिपाद्य विषय राज्यसत्ता हो । यसमा राज्यसत्ताको उत्पत्ति हुनाको कारण बताउँदै उक्त राज्यसत्तालाई कम्युनिष्टहरूले आफ्नो अधीनमा ल्याएर कसरी समाजवाद हुँदै साम्यवादतिर जान्छन् भन्ने विषयमा जानकारी दिइएको छ । यस कृतिको प्रथम अङ्कको पहिलो दृश्यमा सामन्तवादी अधिरचनाको उत्पत्ति पछि साहित्यकार र कलाकारहरूले कसरी उक्त राज्यसत्तालाई बलियो बनाउन नट बल्टुको काम गर्छन् भन्ने बताएका छन् । दृृश्य दुईमा कलाकार र साहित्यका बारे रहस्यवादी भ्रम छरेर सत्तालाई बलियो बनाउँछन् तर प्रगतिशीलहरूले त्यसको भ्रमलाई फोरेर वैज्ञानिक चिन्तन प्रदान गर्नुपर्छ भन्दछन् । अङ्क २ को पहिले अङ्कमा दाश युगको विशेषताको चर्चा गरिएको छ । एक कविलाले अर्को कविलालाई पक्डेर दाश तुल्याउन थालेको अवस्थाको चित्रण छ । अङ्क २ को दृश्य दुईमा विकासक्रमको चर्चा गर्दै दाश युग सामन्तवादी युगतिर संक्रण हुन लागेको सामन्तवादको जन्म भएको बताएका छन् । अङ्क ३ को दृश्य १ मा पूँजीवादी समाजको विकासको चर्चा गर्दै त्यसको अन्त्य हुँदै सर्वहारावर्गीय राज्यसत्ताको चर्चा गर्दै पुरानो जनवाद र नयाँ जनवाद बीचको अन्तर अनि पेरिस कम्युन हुँदै समाजवादतिर प्रस्थानको विकासक्रमको चित्रण गरेका छन् । दोस्रो र अन्तिम अङ्कमा वर्ग संघर्षद्वारा स्थापित नयाँ राज्य सत्ताको चित्रण गर्दै समाजवादी युगका विशेषताहरूको सुन्दर चर्चा गरेर लक्ष्मणलाई पूरै तृप्त पारिएको छ ।
यस कृतिको भूमिकामा प्रगतिवादी साहित्यकार प्रा.डा. कपिल लामिछानेले यस कृतिलाई प्रगतिवादी कृतिको नमुना बताएका छन् । कलात्मक रूपमा कमजोर भए पनि दृष्टिकोणका आधारमा हेर्ने हो भने यसले ऐतिहासक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवाद, वर्ग संघर्ष, वर्ग संघर्षको माध्यमबाट सर्वहारावर्गीय राज्यसत्ता स्थापना र समाजवादी अर्थतन्त्रको रूप जस्ता आधारभूत समाजवादी मूल्यहरूमा टेकेर प्रगतिवादी साहित्यको जग बलियो बनाउन सहयोग गरेको देखिन्छ । ऐतिहासक भौतिकवादको सर्भेक्षण गरेर सरल र सुबोध तुल्याउनु यो कृतिको प्राप्ति हो भनेका छन् ।
वास्तवमा यो कृति समाजवादी धारणा बुझ्नको लागि पाठ्य पुस्तक जस्तो छ । अझ अभिनयको माध्यमबाट आम दर्शकहरूलाई बुझाउन सजिलो पनि छ । भाषाशैली सरल र वर्णनात्मक छ । संवाद रोचक छ । नयाँ पाठकहरूको लागि अभिनव विषयवस्तु भएकोले रोचक लाग्नु स्वभाविकै हो ।
कृति रचनाको काल र परिवर्तित परिवेशमा समाजवादको नयाँ परिभाषा आइरहेको सम्बन्धमा माक्र्सवादका आधारभूत मूल्यहरूमा टेकेर लोकतान्त्रिक अभ्यासको माध्यमबाट श्रेष्ठता हाँसल गर्दै समावादी समाजतिर प्रस्थान गर्ने नयाँ बहुलवादी धारणालाई आत्मसात गरी परिमार्जनका साथ पुनः संस्करण आउनु जरुरी छ । लेखककले परिवर्तनलाई आत्मसात गरी यो कृतिलाई वैचारक परिस्कृतिका साथ प्रस्तुत हुनु अनिवार्य छ । २०४५ सालबाटै बहुलवादी खुल्ला समाजको अवधारण राख्दै प्रगतिवादी साहित्यलाई पुनर्भासित गर्नुपर्ने अवस्थामा लेखक २०५८ सालमा उही शास्त्रीय बाटोमा लाग्नु पर्ने अवस्था पनि थिएन । तर पनि लेखकीय विचारलाई सम्मान गर्दै मोदनाथ शास्त्रीको गर्विलो साहित्यिक यात्रा नेपाली साहित्य क्षेत्रमा आराध्य बनेको छ ।
पूर्वीय तथा पाश्चात्य महाकाव्यीय मापदण्डका आधारमा महाकाव्य लेख्नेहरू सोझै महाकवि हुन् । झण्डै दर्जन बराबर महाकाव्यहरू लेखेर नेपाली साहित्यमा ठूलो गुन लगाएका छन् । त्यसैले पनि लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले उनलाई सगर्व महाकवि भनेर अभिनन्दन गरिसकेको छ । उनी महाकवि मोदनाथ शास्त्री हुन् । हामी निशङ्कोच उनलाई महाकवि भनेर सम्बोधन गर्छाैं । अन्त्यमा महाकविका आगामी दिनहरू विगतजस्तै सम्मानित र आदरणीय बनोस् । बाँकी कृतिहरू संस्करणको रूपमा प्रकाशन गर्ने काम पूरा होस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार