हजाराैं सवारी साधन बोक्ने पुल कमजोर बन्दै

बटौली । पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्यभागमा पर्ने बुटवलस्थित तिनाउ नदीको पुल कमजोर बन्दै गएको छ ।
पुलमुनिबाट जथाभावी नदीजन्य पदार्थ (ढुंगा, बालुवा र मिस्कट) निकाल्दा पुल कमजोर बनेको हो । दैनिक हजारांै सवारी साधनलाई बोक्ने पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्यभागमा पर्ने बुटवलस्थित तिनाउ पुल नदीको जथाभावी दोहनका कारण कमजोर बन्दै गएको छ ।
बढ्दो दोहन र वर्षायामको बाढीले नदी गहिरिँदै जाँदा पुलका पिल्लर (खम्बा)हरूको फाउण्डेसन करीब साढे चार मिटरसम्म देखिन थालेका छन् । चुरे क्षेत्रबाट भेल बनेर आउने पानीका लागि सहज निकास नपाउँदा तिनाउ नदी प्रत्येक वर्ष गहिरिँदै गएको छ । “पुलको पिल्लर देखिने गरी अहिले नदीको बाहव बगेको छ” वातावरण विज्ञ युवराज कंडेलले भने । लामो समय तिनाउ पुल आसपासको क्षेत्रबाट नदीजन्य पदार्थ निकालेपछि पुल जोखिममा परेको उनको भनाइ छ ।
तिनाउ नदीका बारेमा लामो समयसम्म अध्ययन गरेका इन्जिनियर खेटराज दाहालले तिनाउ नदीमा ठूलो बाढी आएमा अझ बढी पिल्लर खोस्रने बताए । “पुलका बिमहरू समेत कमजोर बन्न थालेका छन्, जुन कुनै अवस्थामा जे पनि हुन सक्छ” उनले भने ।
वि.सं. २०३८ सालमा बनेको पुल २२६ मिटर लामो छ । नदी आसपासमा बस्दै आएका अव्यवस्थित बसोवासीले नदीको धार परिवर्तन गराइदिँदा नदी गहिरिँदै गएको छ । पुल कमजोर भएपछि नदीको दक्षिणतर्फ गत वर्ष बेड बाँधिएको छ । सरकारको आम्दानीको प्रमुख स्रोत मध्येको नदीजन्य पदार्थको जथाभावी उत्खनन नियन्त्रण गर्न आवश्यक देखिन्छ । पुलको तलरमाथि पाँच सय मिटरसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । तर यहाँ त्यो मापदण्ड लागू नहुँदा जिल्लामा मुख्य राजमार्गमा पर्ने धेरैजसो पुल कमजोर भएका छन् ।
पछिल्लो समय यो पुल साँघुरोसमेत हुँदा दैनिकजसो पुलमा जाम हुन थालेको छ । कमजोर पुलले धेरै भार थेग्न सक्दैन । नदीको बहाव क्षेत्र अतिक्रमण गरेर धमाधम बस्ती बसेका छन् । जसले गर्दा नदीको बहाव क्षेत्र साघुरिँदै गएको छ । ५ सयदेखि ७ सय मिटर क्षेत्रमा बग्दै आएको तिनाउमा ३ सय मिटर क्षेत्रमा साँघुरो हुँदै गएको छ । बुटवल उपमहानगरपालिकाले भने, पुल आफूहरूको कार्यक्षेत्रमा नपर्ने भन्दै त्यसप्रति चासो दिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार