‘संस्कार’ निबन्ध संग्रहमा पराजुली

सन्धिखर्क —१ तुम्कोट अर्घाखाँचीमा बुबा सुवानन्द र आमा एकावली पराजुलीको कोखबाट जन्मेका उत्तरकुमार पराजुलीले विशेषतः नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा राष्ट्रिय पहिचान बनाइसकेका छन् । छोरा सरोकार पराजुली र छोरी श्रद्धा पराजुली अनि जीवन संगीनी बसुन्धरा भुसाल पराजुलीको साथमा बुटवल उपमहानगरपालिका दिपनगरमा स्थायी रूपमा बसेका उनी नेपाली साहित्यका इमान्दार साधक हुन् । उनका करिब एक दर्जन कृतिहरू प्रकाशित छन् ।
नेपाल सरकारको निजामती सेवामा प्रवेश गरी उपसचिवसम्म पुगेका उनका कृतिहरू ११ वटा प्रकाशित भइसकेका छन् । उनले सरसफाइ कक्षा ४ र कक्षा ५ को इच्छाधीन पाठ्यपुस्तक तयार गरेका छन् । त्यो बाहेक नेपाली बजारमा निकै चर्चित पुस्तकहरू ‘लोक विश्वास’, ‘हाम्रो परम्परागत चिकित्सा पद्धति’, ‘दलालीको बहाली’, ‘संस्कार निबन्ध संग्रह’ प्रकाशित छन् । ‘प्रचलित लोककथा संग्रह’, ‘प्रचलित बाल लोककथा संग्रह’ जस्ता विशुद्ध साहित्यिक रचनाहरू प्रकाशित गरेका छन् । एम.एड.प्रथम वर्षको लागि ‘शैक्षिक व्यवस्थापन तथा साङ्गठनिक व्यवहार’ पाठ्यपुस्तक प्रकाशित छ ।
उनका केही प्रकाशोन्मुख कृतिहरू पनि छन् । उनले ती कृतिहरू केही समयभित्र प्रकाशन गर्ने तारतम्य मिलाउँदै छन् । उनका प्रकाशोन्मूख कृतिहरू ‘हाम्रो शिक्षाभित्र संस्कृति’, ‘भजन संग्रह’, ‘सवाई सङ्ग्रह’, ‘साथी’ खण्डकाव्य, ‘कविता’ संग्रह, ‘लिपिको गुहार‘, ‘कथा’ संग्रह प्रकाशित हुँदैछन् । पछिल्ला कृतिहरू विशुद्ध साहित्यिक कृति हुन् । उनी नेपाली साहित्य क्षेत्रका चम्किला पुञ्ज बन्दैछन् । आशा छ, उनका पुस्तकहरू छिट्टै प्रकाशित हुनेछन् र नेपाली साहित्य सिञ्चित हुनेछ । संस्कार गर्नु भनेको खार्नु हो । हाम्रो पूर्वीय समाजमा सांस्कारिक मूल्य र मान्यताहरू छन् । ती मूल्य र मान्यताहरूको माध्यमबाट नयाँ नयाँ पिढी दलाने पाठशाला, मठ मन्दिरहरू, यज्ञयज्ञादिहरूमा पण्डित पुरोहितबाट खारिदै आएका थिए । विद्यालय, विश्व विद्यालयमा शिक्षक र प्राध्यापकहरूबाट दीक्षित बन्दै आएका थिए । घरमा आमा बुबा र घरपरिवारबाट अनौपचारिक रूपमा खारिदै आएका थिए । संस्कार मनोवैज्ञानिक विषय हो । यसले समाजलाई सभ्य बनाउँछ । संस्कार यस्तो कुरा हो जुन खोस्न सकिन्न । जुन हाम्रो आनुवांसिक परम्परामा आदत बनेर रहेको हुन्छ । जुन हजारौं वर्षसम्म संस्कार गर्नाले पनि शिशुमा जन्मजात बनेर आएको हुन्छ । यसलाई अनुशिक्षणको माध्यमबाट बाहिर प्रस्फुटन गर्न सकिन्छ । जुन समाजमा आफ्नै सांस्कारिक मूल्य मान्यताहरू छन् त्यो समाज स्वाधीन समाज हो । उसलाई सांस्कृतिक रूपमा कोही कसैले पराधीन बनाउन सक्दैन । अङ्ग्रेजले विशाल भारतीय फाँटमा बन्दूकको बलले करिव ३ सय वर्ष सत्ता खोसेर शासन गरेता पनि पूर्वीय संस्कार र संस्कृति भने खोस्न सकेन । भाषाभित्र संस्कृति हुन्छ । त्यही भाषा लादेमा आफ्नो संस्कृतिको प्रभाव जमाउन सकिन्छ भन्ने उनीहरूको धारणा र भारतीय उपमहाद्वीपमा गरेको प्रयोग सफल हुन सकेन । भारतीयहरूले ३ सय वर्षसम्ममा पनि आफ्नो निजत्व बचाएरै राखे ।
नेपाली समाजमा पनि विदेशीहरूको प्रभावले केही प्रभाव पार्न सकेन । यसको कारण नेपाल औपचारिक रूपमा कसैको उपनिवेश भएन । किन कि हामीसँग आफ्नैपन थियो । आफ्नै रहनसहन रीतिरिवाज थियो । आफ्नै परम्पराहरू थिए । ती आफैमा श्रेष्ठ थिए । अफ्रिकालगायत कतिपय मुलुकमा अङ्ग्रेहरूले आफ्नो भाषा, संस्कृतिको प्रभाव जमायो । किन कि त्यहाँ आफ्नै सांस्कृतिक मूल्यहरू थिएनन् । कविला समाजमा अरू जातिहरूको सभ्यताको प्रभाव पर्न सक्छ । विश्वका कतिपय मुलुकहरू अरूका सभ्यता र संस्कृतिको प्रभावमा पर्न गए । जसले गर्दा ती मुलुकहरू अरूको सांस्कृतिक उपनिवेशमा परे । सांस्कृतिक उपनिवेशले आर्थिक, राजनैतिक र सामाजिक उपनिवेश बलियो बनाउँदै जान्छ । तर नेपालमा भने यस्ता विद्वानहरू निजत्वको रक्षा कवच बनेर रहे । उनीहरूले कसैको प्रभावमा पार्न दिएनन् । कुनै कुनै असाध्य मानवीय, संवेदनशील र श्रेष्ठ मूल्यहरू प्रवेश गरेका भए पनि तिनीहरू नेपालीपनमा रिमिक्स भएर रहेको देखिन्छ । यसको अर्थ पनि हाम्रो संस्कृतिको प्रभाव हो भन्न सकिन्छ ।
आज म साहित्यकार तथा संस्कृतिविद उत्तरकुमार पराजुलीको संस्कार निबन्ध संग्रहको सामान्य समीक्षा गर्न चाहन्छु । वास्तवमा यो कृति संस्कृति क्षेत्रमा लेखिएको प्रभावकारी कृति हो । पराजुली पूर्वीय साहित्य र संस्कृतिका गुरु हुन् । उनले यो विषयमा निकै अध्ययन अनुसन्धान र अनुशीलन गरिरहेका छन् । उनका कृतिहरू अनुसन्धानमूलक र ऐतिहासिक यथार्थवादमा आधारित हुन्छन् । इतिहासलाई रहस्यको पोल्टाबाट झिकेर यथार्थको जलप लगाउनु उनको शिल्प हो । आध्यात्म र भौतिकवादका दर्शनबाट तटस्थ भएर वस्तुपरक रूपमा जेजस्तो छ र जे जस्तो हुनुपर्ने हो त्यस्तै लेख्नु उनको धर्म हो ।
वास्तवमा निबन्ध सर्वप्रिय विधा हो । यो यस्तो कला हो, जसले हामीलाई संगठित रूपमा विचार प्रस्तुत गर्न सिकाउँछ । वक्तव्य दिंदा होस् वा कुनै विषयवस्तुको विवेचना गर्दा होस् । यात्रा संस्मरण लेख्दा होस् वा समालोचना गर्दा होस् । नियात्रा लेख्दा होस् वा जीवनी लेख्दा होस् हरेक ठाउँमा निबन्ध आवश्यक छ । अर्काको मनलाई जितेर उसको मस्तिष्कमा गम्भीर प्रभाव पारी आफ्नो विचारको समर्थनमा ल्याउन सक्ने सामथ्र्य निबन्धमा हुने भएकोले यसलाई ‘फकौरी’ भनेका हुन् ।
त्यसैले देवकोटाले निबन्धलाई यो एक किसिमले मनको जालीले जगतको लहडी माछा मार्ने कला हो । यो टेबुल गफ हो, चश्मादार अध्यापकको गफ हैन, न त वमन वेदान्त । यसमा ठर्रोपना हुँदैन । यो लच्किन्छ र घनिष्टतातिर ओर्लन्छ भनेका छन् । देवकोटाको यो परिभाषा निबन्धकारहरूको लागि महत्वपूर्ण छ । पराजुलीका निबन्धहरू यसरी नै प्रस्तुत भएका छन् । उनका निबन्धहरू विचारात्मक निबन्ध हुन् । यसलाई वस्तुपरक भन्दा पनि आत्मपरक निबन्धभित्रको विचारात्मक निबन्ध भन्दा हुन्छ ।
पराजुलीका निबन्धहरूमा ज्ञान बुद्धि, तर्क, विचारको प्रयोग गरिएको छ । खोज अन्वेषण, समालोचना परीक्षण तत्सम्बन्धी विचार विमर्श विचारात्मक निबन्ध भएकोले पनि यो निबन्ध संग्रहलाई विचारात्मक निबन्ध संग्रह भन्न मिल्छ । विचारात्मक निबन्धमा हार्दिकता भन्दा पनि ज्यादा बौद्धिकता हुन्छ । देवकोटाको कला र जीवन अनि समको आत्म विश्वास निबन्धहरू विचारात्मक निबन्ध हुन् ।
निबन्धमा विषयवस्तु छानिन्छ । प्रशस्त प्रमाणहरू र उदाहरणहरू दिइन्छ । यसमा आआफ्नै खालको भाषाशैली हुन्छ । पराजुलीका निबन्धहरूमा संस्कारगत विषयवस्तुरु छन् । यसमा झण्डै पाँच दर्जन शीर्षकहरूमा विचार प्रस्तुत गरिएको छ । ती विषयहरू मूलतः हाम्रा संस्कारमा आधारित विषयहरू हुन् । कुलपूजा, श्राद्ध, यज्ञ, घोत, जोगी, ग्रहण,सूर्यपूजा, नेग, वैराग्य,पाहुना, ग्रहण लगायतका थुप्रै विषयमा पूर्वीय तथा पाश्चात्य धारणाहरूको तुलनात्मक विश्लेषण गरी पूर्वीय संस्कारहरू श्रेष्ठ भएको प्रमाणित गरेका छन्् । यो पुस्तक पढेपछि पूर्वीय आर्ष सभ्यताप्रतिको गर्व गर्न र त्यसलाई आत्मसात गरी मानवतावादी नागरिक बन्न बनाउन प्रेरित गर्छ । उनको भाषा सरल छ, शैली विवरणात्मक छ । वास्तवमा यो पुस्तकको महिमा अत्यन्त उच्च छ । यस कृतिको विषयमा प्राज्ञिक व्यक्तित्व विष्णुप्रसाद पराजुलीले देशका विभिन्न भागमा छरिएर रहेका सामाजिक, सांस्कृतिक आध्यात्मिक, भौतिक व्यावहारिक, नीति, रीतिरिवाज, उखान, भाषा, पहिरन, चाडपर्व, जनजीवन, लोक विश्वास, लोकगाथा, भजन, पौराणिक तथा ऐतिहासिक कुराले समाजमा प्रभाव पारिरहेको हुन्छ । समाजको लागि हानि हुने कुरालाई आध्यात्मिकतासँग जोडी पापको डर देखाइएको हुन्छ । त्यसरी नै कारण र असर प्रष्टसँग देखाउन सकिने कुरालाई विज्ञानसँग जोडिएको हुन्छ । जीवनपयोगी कुराको वास्तविक गुणलाई व्यवस्थित रूपले समावेश गरी सर्वसाधरणले सजिलै बुझ्ने र फाइदा लिने गरी देखाइनु यस निबन्ध संग्रहको विशेषता हो भन्दै यो पुस्तकको महिमालाई स्पष्ट पारेका छन् । पराजुलीले पूर्वीय संस्कारको विषयमा निकै महत्वपूर्ण निबन्ध प्रकाशन गरेका छन् । समाजमा अग्रगतिमा निरन्तर रूपमा हिंडाउन अपनाउने विधि विधानलाई संस्कर भनिन्छ भन्दै हाम्रो आर्य समाजमा रहेका षोडष संस्कारहरू गर्भादान, पुंसवन, सीमान्तोनयन, जातकर्म,नामकर्म, निष्क्रमण, अन्नप्रासन, कर्णभेद, विद्यारम्भ, चूडाकर्म, केशान्त, उपनयन, वेदारम्भ, समावर्तन, विवाह मृत्यु आदि संस्कारहरूको चर्चा छ । यो कृतिको केन्द्रीय निबन्ध नै यही हो । यसैबाट यो कृतिको नामाकरण गरिएको छ । यो कृतिमा अभिभादन, कुलपूजा, नागपूजा, वेद र हाम्रो समाज, भजन, जनै पूर्णिमाको महत्व, फागु, तिहार, विजया दशमी, पाहुना, पूर्वीय संस्कार,यज्ञ, तीज, गणेश चौथी, अक्षय तृतीया र दान, जोगी घोत, ग्रहण, श्राद्ध, वृद्धाश्रम, एकादशी माहात्य, शिव संस्कृति, शान्तिको खोजी, सूर्यपूजा, विरुवाको खाना, टोपी, बूढाबूढी, जाडो, डडेलो, सरसफाइ, वायु, सम्पादक, चालक, अभिभावकको छहारी, सन्तान, लेखक, सामन्तवाद, सशक्तीकरण, सर्वाभौमसत्ता,पूर्वाग्रह, विज्ञापन, कुकुर, मुसाको चिनारी, सबाई, काइँखुट्टी, डण्डीबियो, योजना, जीवनमय शिक्षा, बलात्कार, नेग, माग्ने, वैराग्य, मृत्यु आदिको विषयमा पूर्वीय दर्शनको दृष्टिकोणमा ढालेर आम मानिसलाई संस्कारको लागि मार्गदर्शन गर्ने काम गरेका छन् । यी लेखहरूमा लेखकको बौद्धिक सामथ्र्य भरपूर पोखिएको छ ।
‘संस्कार’ कृति पराजुलीको उत्कर्ष फल हो । यसबाट उनको व्यक्तित्व झल्कन्छ । यसले उनको जीवन दर्शन पनि झल्काउँछ । पूर्वीय साहित्यका जीवनपयोगी मूल्यहरूलाई आत्मसात गरी सुन्दर समाज निर्माण गर्न पूर्वीय गौरवगाथालाई बचाउने उनको अभिप्राय हो । विवरणात्मक शैली र सरल भाषामा लेखिएको यो कृति ३ सय ८६ पृष्ठको छ । आफ्नो पे्ररणाको मूलश्रोत आफ्नो हजुरबुवा जिं. हिमलाल पराजुलीप्रति समर्पण गरिएको यो कृतिको मूल्य ४००। राखिएको छ । महर्षि र मठ मन्दिरको आवरण पृष्ठले पुस्तकलाई गहकिलो बनाएको छ । यो पुस्तक अद्योपान्त पढ्नेहरू पूर्वीय उपलब्धिप्रति गर्व गर्न र जीवनशैलीमा परिवर्तन ल्याई आफ्नो परम्परागत पहिचान कायम राख्न प्रेरित हुन्छन् । लेखकलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार