‘जनजाति महासंघलाई ‘बाइपास’ गरेका छैनौं’

बुटवल । बुटवलको हिलपार्कमा निर्माण हुन लागेको जनजाति संग्रहालय निर्माणमा आदिवासी जनजाती महासंघलाई ‘बाइपास’ नगरेको हिलपार्क सहयोग समिति हङकङ र हिलपार्क विकास परिषदले स्पष्ट पारेका छन् । दुबै संस्थाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी केही सञ्चार माध्यममा समाचार आएजस्तो जनजाति महासंघलाई बाइपास नगरिएको दावी गरेका हुन् । संग्रहालय निर्माणको अवधारणा बनेको १० वर्षअघिदेखि गत चैत २ गतेसम्म आदिवासी जनजाति महासंघका जिम्मेवार पदाधिकारीको संलग्नतामै निर्णयहरु भएका र हङकङमा रकम संकलनका लागि अख्तियारी दिने काम भएको दुई संस्थाले बताएका छन् । संग्राहालय निर्माणका लागि हङकङमा रकम संकलन गर्न बुटवल हिलपार्क परिषदले आजीवन सदस्य हेमराज थापालाई २०७३÷८÷२६ गते पत्र दिएको र सोही अनुसार संकलित ४७ लाख रुपयाँको चेक हिलपार्क परिषदलाई हस्तान्तरण गरेको पत्रकार सम्मेलनमा दुबै संस्थाले बताए । हङकङमा संकलन भएको ४७ लाख रुपैयां बुटवलमा ल्याएर हस्तान्तरण गर्ने सन्दर्भमा जनजाति महासंघले आफूलाई हस्तान्तरण गर्न भनेपनि आफूहरुले हिलपार्क परिषदको नाममा रकम संकलन गरेकाले उसैलाई दिन खाजेपछि असन्तुष्टी बढेको समितिका संयोजक थापाले बताए ।
‘जनजाति महासंघका साथीहरुले रकम महासंघलाई दिन भन्नुभएको थियो तर हामीले नियम अनुसार जस्को नामको रसिद छापेर सहयोग उठायौं,उही संस्थालाई दियौं,त्यहीबाट उहांहरु असन्तुष्ट हुनुभयो’– थापाले भने । जनजाति संग्रहालय सबै जाति र बुटवलको सम्पत्ति भएकाले आफूहरु जातीय सोंच भन्दा माथि उठेर काम गरेको थापाले बताए । उनले आफूले सहयोग संकलन गरेको रकम मध्ये एक रुपैयां पनि दुरुपयोग नगरेको दावी गरे । बुटवल हिलपार्क परिषदका सदस्य बोनिन पियाले जनजाति महासंघसंग वार्ता र संवाद गरेर सहमतिका साथ अघि बढ्नुपर्ने बताए । संग्रहालय निर्माण समितिका संयोजक होमबहादुर गलामीले आफू पनि महासंघको पुर्व अध्यक्ष भएकाले जनजातिलाई पाखा लगाएर संग्रहालय निर्माण नगरिने स्पष्ट पारे । उनले महासंघका जिल्ला अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति र सहमतिमा आर्थिक संकलन तथा समन्वय समिति गठन भएकाले अहिले आएर विरोध गर्नु र संग्रहालय निर्माण प्रकृयाबाट अलग्गिनु राम्रो नभएको बताए । पुरन थापा क्षेत्रीले हङकङमा रहेका जनजाति र गैर जनजाति सबैले आर्थिक सहयोग गरेकाले जनजातिको मात्रै भन्न नहुने बताए । गिरीप्रसाद पुनले संग्राहालय निर्माणमा विवाद नभएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार