संस्थालाई दिएको जग्गा व्यक्तिको नाममा

निरु गौतम / लुम्बिनी । विदेशी दाताको सहयोगमा अनौपचारिक शिक्षा राष्ट्रिय स्रोत केन्द्र नेपालद्वारा रूपन्देहीमा सञ्चालित सामुदायिक अध्ययन केन्द्रको जग्गा व्यक्तिको नाममा रहेको खुलासा भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका १० लंकापुरमा रहेको सामुदायिक अध्ययन केन्द्र (सीएलसी)को ५ कठ्ठा २ धुर जग्गा अनौपचारिक शिक्षा राष्ट्रिय स्रोत केन्द्र नेपाल सातदोबाटो ललितपुरका संस्थापक अध्यक्ष तथा पूर्व शिक्षा सचिव ललितपुर निवासी ठाकुरमान शाक्यको नाममा रहेको भेटिएको हो ।
उक्त कार्यक्रमका लागि नेशनल फिडरेसन अफ युनेस्को एशोशिएसन इन जापानको आर्थिक सहयोगमा लुम्बिनीको लंकापुरमा जग्गा खरिद गरी २ तले भवन निर्माण गरिएको थियो । दाताको सहयोगमा लिइएको जग्गा परियोजनालाई भाडामा दिएको भन्ने बनाएर ५० वर्षका लागि सम्झौता गरिएको छ । तर भाँडा भने तोकिएको छैन । व्यक्तिको निजी जग्गा कसैले निःशुल्क परियोजनालाई दिँदैन तर शाक्यले आफूले परियोजना सकिएपछि जग्गा हत्याउन भाडामा लिएको भन्ने झुठो सम्झौता गरेको अध्ययन केन्द्रका कर्मचारीले आरोप लगाएका छन् ।
लुम्बिनीको लंकापुर मात्र नभई काठमाडांैको सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय भवनसमेत उनैको नाममा रहेको श्रोतले जनाएको छ । परियोजना समाप्त भएपछि व्यक्तिगत भोग चलनका लागि यस्तो गरिएको हो । निर्माण भएका भवनमा विदेशीदाताको आर्थिक सहयोगमा भनेर उल्लेख गरिएको छ । रूपन्देही र कपिलवस्तुमा गरी १३ वटा सामुदायिक अध्ययन केन्द्र स्थापनाका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । रूपन्देहीमा लंकापुरसहित मधुवनी, खुदाबगर, तेनुहवा, लुम्बिनी आदर्श, भगवानपुर, एकला र मसिनामा गरी ७ वटा सामुदायिक केन्द्र सञ्चालनमा छन् । २०५९ सालदेखि शुरु भएको परियोजनाका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि ०६५ सालमा भवनहरू निर्माण गरिएको थियो । लंकापुर बाहेकका सबै परियोजनाका भवनहरू स्थानीयले निःशुल्क प्रदान गरेको जग्गामा बनेका हुन् ।
समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालनको उद्देश्यले परियोजना शुरु गरिए पनि संस्थापकले भने सामुदायिक अध्ययन केन्द्रको जग्गा आफ्नो नाममा पास गरेर स्थानीयलाई ठगी गरेका छन् । परियोजना अन्तर्गत विदेशी दाताहरूको सहयोगबाट निर्माण भएको अध्ययन केन्द्रका भवनले चर्चेको जग्गा समुदायका नागरिकले मालपोत कार्यालयमै पुगेर संस्थाकै नाममा पास गरे पनि लुम्बिनीको लंकापुरमा रहेको सामुदायिक केन्द्रको जग्गा भने अझै पनि संस्थापक शाक्यकै नाममा रहेको कार्यालय कर्मचारी स्रोतले बताएको छ ।
समुदायको विकासमा भ्रष्टाचारी सोच र नियत राखेर विदेशी दाताको सहयोगमा लिएकोे जग्गासमेत आफ्नो नाममा राख्नुले कानुनको खिल्ली उडाएको छ । बुद्धको जन्मभूमिको नाममा संस्था बनाएर नागरिकलाई लुटने काम भएकोले यस्ता ब्यक्तिलाई तुरुन्त कारबाही हुनुपर्ने सामुदायिक अध्ययन केन्द्रका कर्मचारीहरूको माग छ ।
‘सामुदायिक केन्द्रका अध्यक्षहरूले बैठक बसेर पटक पटक जग्गा संस्थाको नाममा गरिदिन निर्देशन दिएको छ तर, उनले कुनै हालतमापास दिन मानेका छैनन्’, स्थानीयले भने ।
अध्ययन केन्द्र परियोजना लुम्बिनीका फिल्ड अफिसर तुलसीराम लामिछानेले गतवर्ष पत्रमार्फत परियोजना र भौतिक सम्पत्ति संस्था तथा परियोजनाको नाममा गर्नको लागि ध्यानाकर्षण समेत गराए तर पनि संस्थापक शाक्यले कुनै सुनुवाइ गरेनन । स्थानीयले पटकपटक गुनासो गर्छन् के जवाफदिने ?’ लामिछानेले दैनिक पत्रलाई भने, ‘यो परियोजना स्थानीयको सम्पत्ति हो, यसमा स्थानीयको श्रम र माया छ । यसलाई केन्द्रिय कार्यालयले हेर्नुपर्छ ।’
सबै सामुदायिकअध्ययन केन्द्रका अध्यक्षहरूको बैठक बसेर जग्गा संस्थाको नाममा गरिदिन आग्रह गरेको केन्द्रका कर्मचारीले बताए । तर, अहिलेसम्म टेरपुच्छर नलगाएको कर्मचारीको भनाइ छ ।
लुम्बिनी आदर्श सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सजरुद्धिन मुसलमानले संस्थाको जग्गा व्यक्तिको नाममा राख्नु लाजमर्दो भएको बताए । उनले सबै अध्ययन केन्द्रहरूको बैठक बसेर जग्गा संस्थाको नाममा गर्नका लागि अनुरोध गरिए पनि सुनुवाइ नभएको बताए ।
‘लुम्बिनी आदर्श अध्ययन केन्द्रका लागि निःशुल्क २ कठ्ठा जग्गा मैले पनि दिएको हुँ, संस्थालाई दिएपछि जग्गा संस्थाकै हो । मैले मेरो नाममा राख्न मिल्दैन । लंकापुरको जग्गा पनि दाताको सहयोगमा लिइएको हुँदा संस्थाकै नाममा गर्नुपर्छ’, उनले भने ।
यसबारे चासो राख्दा अनौपचारिक शिक्षा राष्ट्रिय स्रोतकेन्द्र नेपालका कार्यकारी निर्देशक दिलबहादुर श्रेष्ठले लंकापुरको सामुदायिक अध्ययन केन्द्रको जग्गा संस्थापक अध्यक्ष ठाकुरमान शाक्यको नाममा रहेको स्विकार्दै ५० वर्षका लागि भाडा लिएको बताए । जग्गा कसको नाममा हुने नहुने भन्नेबारे बोर्डमा छलफल भइरहेको भन्दै उनले बोर्डले नै यसको छिनोफानो गर्ने बताए । यस बारेमा प्रतिक्रिया लिन खोज्दा संस्थापक शाक्य बिरामी भएको भन्दै सम्पर्कमा आउन चाहेनन् । शाक्य केही दिनदेखि बिरामी भएकाले आराम गरिरहेको निदेशक श्रेष्ठले जानकारी गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार