किसानलाई मेसिनरी सामान सञ्चालन तालिम

रामपुर । साना फार्म मेसिनरी सञ्चालन तथा मर्मत संभार अगुवा कृषक तालिम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका कृषि शाखाको आयोजनामा भएको ३ दिने मेसिनरी सामान मर्मतसंभार तालिममा नगरपालिकाका १९ अगुवा किसानको सहभागिता रहेको थियो । कृषि शाखा हलमा चलेको तालिम समापन कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाले कृषि उपज तथा अन्नबालीका लागि प्राथमिकता दिँदै आएको बताए । थापाले रामपुरलाई अर्गानिक तरकारी र अर्गानिक औषधी उत्पादन क्षेत्रको रूपमा चिनाउन अब प्रयत्नशील तर्फ उन्मुख हुनुपर्ने बेला आएको बताए । उनले तरकारी स्टोर निर्माणलाई बाहिर समन्वयको काम चलिरहेको जानकारी दिए ।
रामपुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत दुुर्गा प्रसाद खनाल, रामपुर वडा नम्बर ६का वडाध्यक्ष तथा नगरपालिकाका कृषि समिति संयोजक हुमनाथ न्यौपानेले नगरमा व्यवसायिक किसानलाई पेशामा उत्प्रेरणा दिलाउँदै नगरलाई तरकारी खेतीमा आत्मनिर्भर गराउन तर्फ लाग्ने अभियानमा कृषक समूह र अगुवा कृषकले सघाउँदै मेहनत गर्नुुपर्ने बताए ।
तालिममा सहभागी रामपुर ८ का किसान भेषराज अर्यालले बोल्दै तालिम सैद्धान्तिक मात्रै नभई मेसिनरी सामानको प्रयोग र मर्मतले धेरै सीप दिएको बताए । उनले १० रोपनी जग्गामा आफूले काँक्रा, खुर्सानी खेती र अन्य तरकारी उब्जाएकोमा अब २० रोपनी क्षेत्रफलमा बढाउने बताए ।
तालिममा सहभागी १९ जना किसानलाई गत फागुनमा ५० प्रतिशत अनुदानमा मिनी टेलर, पावर टेलर वितरण गरेकोमा अहिले मेसिनरी सञ्चालन र त्यसको मर्मतका लागि तालिम दिई दक्ष बनाइएको हो । हाल रामपुर क्षेत्रमा ७० वटा कृषि समूह आबद्ध छन् भने १० वटा कृषि सहकारी रहेको छ । धेरै किसान आफूले व्यवसायिक तथा परम्परागत कृषि उत्पादन गर्दै आएका छन् । नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कृषि शाखाका प्राविधिक अशोक श्रेष्ठले सहभागीलाई स्वागत गरेका थिए भने कृषि शाखा प्रमुख रामहरि पाण्डेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार