दिवाखाजाले विद्यार्थीको आकर्षण बढ्दै

बुद्धिमान पुन / सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरामा रहेको कालिका प्राथमिक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजा खुजाउन शुरु गरेको छ । पहिले घरबाट नै खाजा बोकेर आउने विद्यार्थीहरू अहिले विद्यालयमा नै खाजा खान पाइने भएपछि खुसी भएका छन् । अहिले विद्यालयमा विद्यार्थीहरूको संख्या पनि बढ्दै गएको छ ।
अहिले विद्यालयमा दिवा खाजा खान पाउँदा निकैँ सजिलो भएको भएको कक्षा ४ मा अध्ययनरत पवित्रा वलीले बताइन् । ‘पहिले बिहान पकाएको रोटी, भात लिएर आउथ्यौँ, दिउँसो खाजा खाने समयमा चिसो भैसकेको हुन्थ्यो’, उनले भनिन्– ‘प्रायः त पसलबाट किनेर बिस्कुट, चाउचाउ, भुजा खान्थ्यौँ, पैसा नभएको बेला त भोकै बस्नु पथ्र्याे ।’
विद्यालयमा अहिले चना, अण्डा, रोटी, दाल भात दिनदिनै फरक फरक खाने गरेको कक्षा ३ मा अध्ययनरत गोमा वलीले बताइन् । ‘स्कुल आउँदा खाजा नलिएर आउछौँ, दिउँसो घण्टी लाल्न बित्तिकै थाल लिएर लाइनमा बस्छौँ, पहिला शिशुकाले खान्छन्, त्यसपछि १ कक्षाकाले खान्छन्, २ कक्षाकाले खाए पछि मात्रै हाम्रो पालो आउँछ’– उनले भनिन् ।
विद्यालयमा नै दिवाखाजा खुवाउन थालेपछि आफूलाई नि सजिलो भएको अभिभावक केशर भण्डारीले बताए । उनले भने– ‘सधै घरबाट कि त खाजा, कि त पैसा दिएर पठाउनु पथ्र्यो, अहिले विद्यालयले राम्रो काम गरेको छ, घरबाट केही पठाउनु पर्दैन, हामी त निकै खुसी छौँ, हाम्रो छोराछोरीको लागि विद्यालयले नयाँ काम गरेको छ, आजभोलिले घरमा बस्नु हुन्न, पढ्नु पर्छ भन्दै सधैँ विद्यालयमा जान्छन् ।’
विद्यालयमा दिवाखाजाको व्यवस्था गर्न व्यवस्थापन समिति नै गठन गरिएको छ । विद्यालयमा पढ्ने प्रति विद्यार्थी मासिक ३ सय रूपैयाँ उठाउने र बाँकी विद्यालयले पैसाको जोहो गरेर दिवा खाजा खुवाउने गरेको दिवाखाजा ब्यबस्थापन समितिका अध्यक्ष डम्बर बहादुर खत्रीले बताए । उनले भने– ‘हामीले २ जना न्यूनतम ज्यालामा कर्मचारी राखेका छौँ, उनीहरूले खाजा बनाउने र खुवाउने काम गर्छन् ।
अहिले विद्यालयमा अध्ययनरत ७९ जना विद्यार्थीहरूलाई दिवाखाजा खुवाउने गरेको विद्यालयका प्रधानाध्यापक बालाराम वलीले बताए । उनले विद्यालयमा दिवाखाजा खुवाउन थालेपछि विद्यालयमा भर्ना भएका सबै विद्यार्थीहरू विद्यालयमा आउने गरेको बताए । ‘पहिले दिउँसो १÷२ बजे ती विद्यार्थी विद्यालय छोडेर घर जाने, खानेकुराहरू खोज्न जाने, विद्यालय आए पनि पढ्न मन नगर्ने गर्थे, दिवा खाजा खुवाउन थाले देखी सबै विद्यार्थीहरू ४ बजेपछि मात्रै फर्कन्छन्’– उनले भने ।
उनले विद्यार्थीहरूलाई पोषणयुक्त खानेकुराहरू मिलाएर दैनिक रूपमा खुवाउने गरेको बताए । उनले भने– ‘जबसम्म विद्यार्थीहरूलाई विद्यालयमा बसेर आनन्दले पढ्न मिल्ने वातावरणको सिर्जना हुँदैन, तबसम्म पठनपाठन प्रभावकारी हुदैँन, त्यही भएर विद्यार्थीहरूलाई उत्सुक र पढाइप्रति जागरुक बनाउने उद्देश्यले यस कार्य गरेका हौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार