निर्माणाधीन पुलमा बजेट अभाव

विकाश पराजुली / बटौली । सडक डिभिजन कार्यालय रूपन्देही अन्तर्गत निर्माणधीन आयोजनामा बजेट अभाव हुँदा पुल निर्माणको काम ठप्प भएको छ । पर्याप्त बजेट नहुँदा कार्यालयले अपेक्षाकृत कामसमेत गर्न सकेको छैन ।
रूपन्देहीमा ३१ र नवलपरासी जिल्लामा २६ गरी अहिले डिभिजनले ५७ वटा पुल ठेक्का लगाएको छ । तर रकमको अभाव भएपछि अहिले पुल निर्माण ठप्प जस्तै बनेको छ । ठेकेदारलाई भुक्तानी दिन नसकेपछि डिभिजनले लक्ष्य अनुसार काम गर्न सकेको छैन ।
“सबै ठेकेदारलाई रकम तिर्न बाँकी छ, बिल ल्याएर यहाँ राखिएको छ,” डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी रामपुकार जैसवालले भने । ५७ वटा पुलहरू ठेक्का लगाएको डिभिजनमा सुरुवातको चरणमा जम्मा १२ करोड ७५ लाख मात्र बजेट सरकारले दिएको थियो ।
काम भइरहने ठेकेदारलाई भुक्तानी दिन नसक्दा अपेक्षा अनुसारको काम नभएको डिभिजन कार्यालयले जनाएको छ । भर्खर मात्र डिभिजन कार्यालयलाई थप २३ करोड ६० लाख रूपैयाँ आएको छ । निर्वाचनको समयमा मत तान्न योजनाहरू ल्याउने होडबाजी नेताहरूमा भए पनि बजेट पार्न नसक्दा नेताहरू भने आलोचित बन्दै गएका छन् ।
थप रकम डिभिजनमा आए पनि अझै ठेकेदारलाई करिब ४६ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । यो वर्ष १५ देखि १७ वटासम्म पुल निर्माण सम्पन्न हुने लक्ष्य राखेको डिभिजन सडक कार्यालयले बजेटकै कारण आयोजनाहरू सम्पन्नमा ढिलाई भएको बताएको छ ।
“काम कति भएको छ भन्ने कुनै जानाकारी लिन सकिएको छैन, ठेकेदार आउँछन, फर्कन्छ,” जैसवालले भने– “पुलमा मात्र होइन, सडकको अवस्था पनि उस्तै छ ।”
आयोजनाको संख्या थप्दै जाने तर, बजेट पर्याप्त विनियोजन नगर्दा शुरु भएका अयोजनाको काम प्रभावित भइरहेको छ ।
राजनीतिक दलका नेताले कार्यकर्ता रिझाउने नाममा तिनाउ दानवमा अनावश्यक पुलका योजनाहरू ल्याएका छन् । एमाले सांसद विष्णु पौडेल, कांग्रेस सांसद बालकृष्ण खाँणले शिलान्यास गरेका केही पुल उपयोगमा आउने देखिँदैन ।
नेताहरूले योजना ल्याउने र त्यसवापतको कमिसन बुझ्ने गरेको अरोपसमेत छ । मणिग्राममा निर्माण हँुदै गरेको पुलको स्तम्भ ढुंगामा परेपछि अलपत्र छ । बुटवलको नयाँगाउँमा समेत वर्षाैंदेखि अलपत्र छ । त्यो योजना नबन्दै तामनगर नजिकै अर्काे पुल शिलान्यास भएको छ । इन्जिनियरहरूले अध्ययन बिना आएका पुलमा बजेट सक्नु बाहेक अरू उपादेयता नभएको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार