अनियमित विद्युत् कटौतीले उपभोक्ता हैरान

  • अझै १५ मेगावाट विद्युत् अपुग
  • बुटवल । सरकारले वैशाख मसान्तमा मुलुक लोडसेडिङमुक्त घोषणा गरेपनि अनियमित विद्युत् कटौतीको समस्याले उपभोक्ता हैरान छन् ।
    साविकको लुम्बिनी क्षेत्रमा विद्युत् वितरण गर्ने बुटवल ग्रीडमा १ सय ४० मेगावाट आवश्यक रहेपनि अहिले १ सय २५ मेगावाट मात्रै विद्युत् छ । जसमा अझै १५ मेगावाट थप गरेमात्रै यो समस्या पूर्ण रूपमा समाधान हुनसक्छ । ‘१ सय ९० मेगावाट क्षमता रहेको बुटवल ग्रीडमा १ सय ४० मेगावाट आवश्यक रहेपनि १ सय २५ मेगावाट विद्युत् मात्र वितरण हुने गरेको छ । वितरण भइरहेको विद्युत्मा ३२ मेगावाट भारतबाट आउँछ भने बाँकी ९३ मेगावाट नेपालकै हो ।
    जसमा अझै १५ मेगावाट विद्युत् कम रहेको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्राले बताए ।
    तराईमा बढ्दै गएको गर्मी र विद्युत् कटौतीको हैरानी सर्वसाधारणलाई बढी छ । ‘सरकारले लोडसेडिङमुक्त घोषणा ग¥यो, तर दिनमा १०–१२ पटकभन्दा बढी पटक बिजुली आउने जाने भैरहन्छ’– बुटवल मिलनचोकका कमल बराल आफ्नो भोगाई बताउँछन् ।
    बुटवलका कमल बरालले भोगेको समस्या साविकको लुम्बिनी अञ्चल र यस बाहेकका अरू जिल्लावासीहरूको पनि उस्तै हो । यसको पुष्टि विद्युत् प्राधिकरण आफैले गर्छ ।
    बुटवल, भैरहवा, लुम्बिनी, सालझण्डी, नयाँमिल, खैरेनी, परासी, पाल्पा, अर्घाखाँची, गुल्मीलगायत साविकका लुम्बिनी अञ्चलका जिल्लामा रूपन्देहीको जोगिकुटीमा रहेको बुटवल ग्रीडबाट सब स्टेशनमार्फत विद्युत् वितरण हुन्छ ।
    गर्मीको मौसम शुरु भएसँगै खपत बढ्नु र लोडसेडिङमुक्त भनेपछि उपभोक्ताले मनमौजी रूपमा बिजुली उपयोग गरिरहेकाले माग नथेग्दा ओभरलोड ट्रिपिङ भएको केन्द्र प्रमुख मिश्राले बताउँछन् । उनले प्राधिकरणले माग धान्न नसकेको स्वीकार गर्छन् ।
    सामान्यतयाः बुटवल ग्रीड जोगीकुटीमा १ लाख २५ हजार भोल्टमा पावर आउने बताउँदै उनले भारतबाट आउने विद्युत्मा भने भोल्ट कम हुने बताए । उनले भने –‘भारतबाट आउने विद्युत् २ सय किलोमिटर टाढाबाट आउँछ । यसले गर्दा जम्मा १ लाख ८ हजार भोल्ट मात्रै आउँछ, यो लो भोल्टेज हो, यसैले पनि छिनछिनमा लाइन जान्छ, यो हामीले रोक्न नसक्ने कुरा हो ।’
    प्राधिकरणसँग भएका ट्रान्सफर्मरहरूले फूललोड तथा ओभरलोडमा काम गरिरहेको हुँदा १६.६ एमबिएका एउटा ट्रान्सफर्मर थप्ने तयारी भइरहेको उनले बताए ।

    दिउँसो र साँझमा बढी समस्या
    दिउँसोमा पंखा, कुलर, एयर कन्डिसनर, फ्रिजलगायतको प्रयोग बढी हुन्छ । यसैले पनि बढी समस्या छ । बिहान १० देखि साँझ ५ र पुनः ६ बजेदेखि साँझ ९ बजेसम्म ओभरलोड ट्रिपिङको समस्या उपभोक्ताले भोग्नुपरेको छ ।
    यो समस्याको समाधान हुन बढीमा १० दिन लाग्छ । मिश्रा भन्छन्–‘आकाशबाट पानी परेमा विद्युत् आपूर्ति केही बढ्छ, अरू पनि केही व्यवस्थापनका कुराहरू छन्, तिनलाई मिलाएपछि केही राहत हुनेछ ।’
    उनका अनुसार बुटवल क्षेत्रमा टिभी, केबल र इन्टरनेटका तारहरू विद्युतीय पोलमा राखेका कारण पनि विद्युत् आपूर्तिमा समस्या आउँछ । ‘केबल र इन्टरनेटको लाइन सर्ट भयो भने विद्युत् लाइन बन्द गर्नुपर्छ, यसले उपभोक्तालाई समस्या पारिरहेको छ’–उनी भन्छन्–‘यो समस्या पनि छिटै हट्दैछ ।’ त्यस्तै सडक विस्तारका कारण पनि छिनछिनमा लाइन जाने समस्या रहेको भन्दै उनले पूर्व सूचनाबिना सडक विस्तारको कामका लागि विद्युत् कटौती नहुने बताए ।

    ‘विद्युत् कटौती होइन, बन्द भएको हो’
    प्राधिकरणका अनुसार लोड धान्न नसकेर मात्रै विद्युत् काटिन्छ । ‘हामीसँग जति विद्युत् छ त्योभन्दा धेरै उपभोक्ताले खपत गरेपछि त हाम्रो कन्ट्रोल सिस्टमले धान्नै सक्दैन, अनि ट्रिप झर्छ, त्यो ठीक ठाउँमा ल्याउन केही समय लाग्छ’ उनले भने–‘बनायो, फेरि धान्दैन अनि फेरि लाइन काटिन्छ, यसरी विद्युत् आउने, जाने भइरहेको हो ।’
    भारतबाट ल्याएको विद्युत्ले धानेसम्म भारतको विद्युत् वितरण गर्ने र भारतको विद्युत्ले नपुगे वा केही समस्या आएमा नेपालको विद्युत् वितरण गर्ने बताउँदै उनले नेपाल र भारतको विद्युत् परिवर्तन गर्दा पनि केही समय विद्युत् बन्द हुने गरेको बताए ।

    उपभोक्ता र उद्योगीलाई आधा–आधा विद्युत्
    बुटवल ग्रीडबाट वितरण हुने विद्युत् करिब करिब आधा–आधा उपभोक्ता र उद्योगीलाई वितरण गर्ने गरिएको छ । ग्रीडबाट वितरण हुने कुल १ सय २५ मेगावाट विद्युत्मा उपभोक्तालाई ६० मेगावाट विद्युत् वितरण गर्ने गरिएको छ भने उद्योगीलाई ६५ मेगावाट विद्युत् वितरण गर्ने गरेको मिश्राले जानकारी दिए ।

    विद्युत् प्राधिकरणको उपभोक्तालाई सुझाव
    प्राधिकरण भन्छ–‘जति विद्युत् वितरण भएपनि उपभोक्ताले किफायती ढंगले उपभोग नगरे माग धान्नै सक्दैन ।’ प्राधिकरणको उपभोक्तालाई सुझाव छ–‘कार्यालय समय र बेलुकाको समयमा अलिकति बचत गरौं, यसो गर्दा लाइन आउने जाने हुँदैन, यसले आफैलाई फाइदा गर्छ ।’
    प्राधिकरणका प्रमुख मिश्रा भन्छन्–‘जुन उपकरणले धेरै विद्युत् खपत गर्छ, त्यसलाई अत्यावश्यक भएमात्रै चलाउँ, फ्रिज, ब्याट्री चार्जर, कुलर, एसी चलाउँदा ख्याल गरौं, सकेसम्म बचत गरौं, अनि विद्युत् आउने जाने समस्या आफै समाधान हुन्छ ।’

    विद्युत् आउने जाने गर्दा ख्याल गर्नुस्
    माग धान्न नसकेर भइरहेको ट्रिपिङका कारण विद्युत् सर्ट हुने समस्या धेरै आइरहेको छ । विद्युत् प्राविधिक उज्ज्वल घिमिरे भन्छन्–जब बिजुली आउने जाने भइरहन्छ, यसले विद्युतीय उपकरणहरूलाई असर गर्छ, इन्भर्टर चार्ज नहुने, पावर सप्लाई जाने, सर्ट हुने, पंखाको क्वाइल जाने, मोबाइल, ल्यापटपको चार्जर सर्ट हुने, पड्किने जस्ता समस्या देखिन सक्छन्, यसैले बिजुली आउने जाने भइरह्यो भने, लाइन नै बन्द गर्नु राम्रो हुन्छ ।’ उनका अनुसार यसरी विद्युत् आउने जाने हुँदा फ्रिजमा प्रेसर लो हुने र रिले हुन समस्या देखिने, इन्टरनेटको राउटरको एडप्टर बिग्रिने, एसीको क्यापासिटर र पावर सप्लाई बिग्रिने संभावना पनि बढी हुन्छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार