एमाले माओवादी एकता, संसदीय पार्टीको एकीकरण ः केसी

रूपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थाले नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न नसक्ने बताएका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रको एकतालाई संसदीय पार्टीको एकीकरण भएको भन्दै परिवर्तन आशा गर्न नसक्ने बताए ।
आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष केसीले दाम नभएकाहरूको नाम धनबहादुर भएजस्तै एमाले र माओवादीको सरकार जनताले देखिसकेको बताए । दुई दल मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी बनाउनु घुमाएर नाक समाउनु जस्तै भएको अध्यक्ष केसीको टिप्पणी छ ।
उनले एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइसौँ शताब्दीको जनवाद भने पनि दुवैको उद्देश्य सारमा संसदीय प्राणालीबाट समाजवाद ल्याउन खोजेको बताए । तर उनले संसदीय व्यवस्थाबाट समाजवाद दुनियाँमा काहीँ पनि सम्भव नभएको बताए ।

संसदीय व्यवस्थामा हरिया नोटको चलखेल आफ्नै आँखाले देखेको भन्दै नेपालमा संसदीय अभ्यास गलत ढंगले गरिएको उनको दावी छ ।
उनले दुई दलले राजनीति प्रमाणित गर्नलाई एकीकरण गरेको भन्दै केही दिनमै उनीहरूको एकताको कारण बाहिर आउने बताए ।
एमाले माओवादीको चुनावी एकताले काँग्रेसलाई भित्तामा पु¥याएको र अहिलेको सरकारले यातायातको सिन्डिकेट तोड्नुलाई सकारात्मक रूपमा लिएको बताए ।
मोदी भ्रमणका बेला प्रदेश नम्बर २ लाई लैनचौरले आदेश दिएकोमा आपत्ति जनाए । ‘२ नम्बर प्रदेशलाई केन्द्रीय सरकारले आदेश दिने की लैनचौरले ?’, उनले प्रश्न गरे ।
संघीयता विरुद्धको राष्ट्रिय अभियानका शिलशिलामा बुटवलमा आएका नेता केसीले नेपालमा संघीयता अव्यवहारिक रहेको बताए । उनले संघीयताको भारी सकिनसकी बोकेकाहरूलाई यही भारीले थिच्ने बताए । संघीयता बोकेर हिंड्नेको मनमा पनि अहिले जौतिल पाकेको टिप्पणी गरे ।

भारतको डिजाईनमा मधेश आन्दोलनमार्फत संघीयता भिœयाइएको भन्दै उनले प्रदेश प्रदेश लडाएर स्वार्थ लिन खोजेको बताए । उनले अहिलेको ७ प्रदेशलाई स्थानीय र केन्द्र सरकारलाई समन्वय गर्ने प्रशासनिक निकायको रूपमा मात्रै राख्नुपर्ने बताए । सत्ताबाट विमुख हुनुपर्ने भएपछि नेपालका नेताहरूले जस्तोसुकै सम्झौता गर्ने गरेकाले संघीयता त्यसैको उपज भएको बताए ।

संघीयता विरुद्धको राष्ट्रिय अभियान केन्द्रीय समितिले आइतबारै बुटवलमा संघीयता र राष्ट्रिय एकताको प्रश्नका बारेमा अन्तरक्रिया गरेको छ । सो कार्यक्रममा जलश्रोत विज्ञ रत्न संसार श्रेष्ठले अरूण तेस्रोमार्फत् भारतले पानी र बिजुली कब्जा जमाउने वैधानिक बाटो पाएको बताए । उनले संघीयता मार्फत नेपालमा द्धन्द्ध सृजना गरेर लाभ लिन खोजेको समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार