जगदीशपुर देशकै नमूना गन्तव्य बनाउँछौँ : पोख्रेल

किरणमान बज्राचार्य / कपिलवस्तु । विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालको विकासमा प्रदेश सरकारले चासो दिन थालेको छ । जगदीशपुर ताल संरक्षणमा स्थानीय सरकारले महत्व नदिँदा ओझेलमा परेको जैविक विविधतायुक्त नेपालको ठुलो मानव निर्मित जगदीशपुर तालमा प्रदेश सरकारले मुलुककै नमूना गन्तव्यको रुपमा विकास र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताललाई देशकै नमूना गन्तव्य बनाउने घोषणा गरे ।
२५आंै जैविक विविधता दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीयको सहभागितामा मुलुककै नमूना गन्तव्यको रुपमा विकास गर्ने बताए । ‘जैविक विविधता महासंघका २५ वर्ष ः पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता’ भन्ने नाराका साथ प्रदेश नम्बर ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा जगदीशपुरमा दिवस मनाइएको हो ।
उनले तालको विकास प्रदेश नम्बर ५ को प्राथमितमा रहेको भन्दै तालको अझ विकासका लागि गुरु योजना बनाई जगदीशपुर तालको एकीकृत विकास गर्नु पर्ने बताए । उनले ताललाई अध्ययन केन्द्रको रुपमा विकास गर्दै लैजानु पर्ने बताए । तालको संरक्षण र विकासको अगुवाई कपिलवस्तु र वाणगंगा नगरपालिकाले लिनुपर्ने भन्दै उनले ताललाई स्थानीय जनतासँग जोडेर विकासको काम अघि बढाउनु पर्ने बताए ।
‘तालको विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउनु पर्छ,’ मुख्यमन्त्री पोख्रेलले भने– ‘ताल क्षेत्र भित्र मात्र होइन ताल बाहिर पनि विकास गर्नु पर्छ ।’
उनले तालको छुट्टै पहिचान र विकासका लागि यहाँ छुट्टै मापदण्ड बनाउनु पर्नेमा जोड दिए । तालको विकास गर्दा ताल क्षेत्र भित्रभन्दा बाहिर बढी केन्द्रित हुनु पर्ने उनले बताए ।
उनले तालमा जैविका विविधता बढाउने खालको रुखहरु रोपेर ताललाई सुन्दर बनाउनु पर्ने बताए । उनले तालको वरिपरि वृक्षारोपण गरेर रुख बिरुवा हुर्काए नगरपालिकालाई प्रदेश सरकारले अनुदानसमेत दिने घोषणा गरे ।
उनले बिस्तृत खाकासहित १५ दिनभित्र प्रस्तावना पेश गरिए त्यसै अनुसार प्रदेश सरकारले योजनाहरु स्विकृत गर्न तयार रहेको बताए । बुद्धस्थलहरुले भरिभार रहेको कपिलवस्तुको समग्र पर्यटकीय विकासका लागि रामग्रामदेखि तिलौराकोटसम्म मोनो रेल संचालनका लागि सरकारले अध्ययनसमेत सुरु गरेको बताए ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जगदीशपुर तालको पर्यटकीय विकासमा संघीय प्रदेश र स्थानीय सरकारले ठोस लगानी गर्नु पर्ने बताए । उनले जगदीशपुर ताल विश्वकै सम्पदा रहेकोले अब यसको विकासमा ढिलाइ गर्न नहुने बताए ।
उनले प्रदेश सरकारले जगदीशपुर तालको संरक्षण विकासका लागि ठोस लगानी गर्ने बताए । सो अवसरमा प्रदेश सदस्य विष्णु पन्थीले जगदीशपुर तालको विकासमा सरकारले चासो दिएको बताए । ‘अब यसको विकास हुन्छ, जनतालाई प्रत्यक्ष फाइदा पुग्छ’, उनले भने ।
कार्यक्रममाविद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो स्थान हासिल गरेका विद्यार्थीलाई मुख्य मन्त्री पोख्रेलले नग र प्रमाण पत्र प्रदान गरेका थिए ।
दिवसमा अहिरवा, झमरा, लाठी नाच प्रर्दशन गरिएको थियो । सोही अवसरमा जगदीशपुरमा थारुहरुले संचालन गरेको होमस्टेका संचालकहरुले घोघी, झित्री, हाँसको परिकार लगायतका खानेकुराहरु समेत प्रदर्शन तथा बिक्रीका लागि राखेका थिए ।
तालको विषयमा नेपाल पंक्षी संघका भुपाल नेपाली र बाणगंगा सिंचाई प्रणालीका डिई तारा भट्टले जानकारी गराएका थिए । तालको संरक्षण र विकासमा प्रदेश नम्बर ५ ले १० लाख बजेट बिनियोजन गरेको छ । ४ दशक अघि सिंचाई प्रयोजनका लागि बाणगंगा सिंचाई प्रणाली अन्तर्गत निर्माण गरिएको जगदशपुर तालको मर्मत संभार समेत हुने भएको छ । जैविक विविधता, सिमसार र चराकाकारण महत्वपूर्ण भएकैले नै स्विटजरल्याण्डमा रहेको रामसार सचिवालयले तालाई सन २०३ मा रामसार साईटमा सुचीकृत गरेको थियो ।
तालमा चरा मात्र नभई ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाइन्छ । विश्वमै दुर्लभ पानी बिरालो पनि तालमा पाइन्छ । १ सय ५७ हेक्टरमा फैलिएको तालमा १ सय ६७ बढी प्रजातिका चरा पाईने रेकर्ड रहेको छ । कार्यक्रम मन्त्री गिरीको अध्यक्षता र सुन्दर पाण्डेयको संचालनमा भएको थियो । दिवसमा जगदीशपुर जलाशय बहुसरोकार मञ्च, कपिलवतु नगरपालिका, वन कार्यालय, बाणगंगा सिंचाई डिभिजन कार्यालयको सहकार्य थियो ।

जगदीशपुर तालमा भ्यु टावर निर्माण
विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालको पर्यटकीय विकासका लागि भ्यु टावर निर्माण गरिएको छ । तालमा पर्यटहरुलाई तान्न भ्यु टावर निर्माण गरिएको छ । यस्तै पिकनिक स्पटको समेत निर्माण सम्पन्न गरिएको छ ।
जगदशीपुर जलाशय व्यवस्थापन बहुसरोकारवाला मञ्चको अगुवाई तालको पश्चिमपट्टि भ्यु टावर निर्माणको गरिएको हो । टावरको प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले परेवा उडाई उद्घाटन गर्दै तालमा अझ ठुलो भ्यु टावर निर्माण गर्नु पर्ने बताए । उनले भने– ‘निर्माण गरिएको टावर अली सानो आकारको छ, अझ ठुलो आकारको बनाउन जरुरी छ ।’ उनले तालकोको पूर्वाधार विकासमा प्रदेश नम्बर ५ ले योजना बनाई लगानी गर्ने बताए । करिब १२ लाखको लागतमा टावर निर्माण भएको मञ्चका सदस्य अब्दुल रसिद खाँले बताए ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसियन)को तर्फबाट ३ लाख ८५ हजार, तत्कालीन निग्लिहवा गाविसबाट ७ लाख र अन्य स्थानीयको लगानी गरी १२ लाख लागतमा भ्यू टावर निर्माण गरिएको हो । भ्यु टावर निर्माण भएपछि पर्यटकहरुले टावरमा चढेर तालमा रहेको चराहरु बाईनाकुलरले हेर्ने ब्यवस्था मिलाउने तयारी गरिएको खाँले बताए । टावर ३० जना मानिस अट्ने गरी बनाइएको खाँले बताए । पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास, गन्तव्य पहिचान र प्रवद्र्धनसहित बजारीकरणका लागि एकीकृत र व्यवस्थित गर्न आवश्यक भएको संघका सदस्य ललित गुरुङले बताए
१ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो । नेपालमा पाइने ८ सय ७९ चराहरुमध्ये यहाँको तालमा १ सय ६७ बढी प्रजातिका चरा पाइन्छन् ।
यस्तै ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने पन्छी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चराहरु पनि देख्न पाइन्छ । तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाइने वरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए । ताल नेपालमा पाइने २७ प्रजातिका चराका लागि महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ । ताल पर्यटकीय र जैविक बिबिधताले निकै महत्वपूर्ण छ । एकै ठाउँमा धेरै प्रजातिका चरा पाइने ठाउँसमेत यही ताल हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार