रूपन्देहीको वाम राजनीति र प्रदीप नेपाल

Balkrishna chapaigian

२०२८ सालको झापा विद्रोह पछि बनेको कोअर्डिनेशन कमिटी हुँदै २०३३ देखि संस्थागत रूपमा विकास भएको तत्कालीन मा.ले. पार्टी लाई रूपन्देहीमा संस्थागत गर्ने क्रममा प्रदीप नेपालको अहम् भूमिका रहेको छ ।
मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतम, पृथ्वी शेरचन, देवेन्द्र घिमिरे, देवी प्रसाद पाण्डेय, मोहनलाल आचार्य, मदनलाल पौडेल, बाबुराम अर्याल, भवानी शंकर सापकोटा, दिल साहनी, गोपीरमण उपाध्याय, एकराज पाण्डे, नेत्र प्रसाद पन्थी, वसन्त ध्वज जोशी, गोपाल भट्टराई, शान्ता मानवी, राधा ज्ञवाली, शिवराज न्यौपाने लगायतका अग्रजहरूको योगदान महत्वपूर्ण हुँदा हुदै पनि २०३५÷०३६ को विद्यार्थी आन्दोलनमा कमरेड सिन्धुका रूपमा रूपन्देहीमा आउनुभएका प्रदीप नेपालको तत्कालीन परिवेशमा पार्टी संगठन निर्माण र विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ ।


झापा विद्रोहको प्रभाव वनमा सल्किएको आगो झैँ देशभरी सञ्चारित भएको थियो त्यतिबेला । नख्खु जेल ब्रेक गरेर जनताका बीचमा आउनु भएका प्रदीप नेपालले रूपन्देहीको बाम राजनीतिलाई कुशलतापूर्वक नेतृत्व दिनुभएको थियो । म त्यतिवेला रूपन्देहीको मणिग्राम स्थित गीर्वाण सरस्वती संस्कृत मा. वि. मा कक्षा–८ मा पढ्ने विद्यार्थी थिएं भने घनश्याम भुसाल कक्षा ९ का विद्यार्थी हुनुहुन्थ्यो । हामीमा राजनीतिक चेतना भर्ने काममा त्यतिवेला विशेषतः शिक्षक गोपीरमण उपाध्याय, बुद्धिसागर भट्टराई, रोहितराज क्षेत्रीहरू हुनुहुन्थ्यो । तापनि रूपन्देहीको समग्र पार्टी राजनीतिको नेतृत्व प्रदीप नेपालबाट हुन्थ्यो ।
भर्खर २४÷२५ वर्षको नवयुवाका रूपमा रहनु भएका प्रदीप नेपालको बोली, संगठन निर्माण कला र लेखन सांच्चिकै अनुकरणीय थियो । प्रदीप नेपालकै प्रभाव बाट राजनीतिमा १९÷२० वर्षको ठिटो विष्णु पौडेल पेशेवर भूमिगत राजनीति मै होमिनु भयो । प्रदीप नेपालले उहाँलाई जिम्मेवारी दिँदै खार्दै अगाडि बढाउनु भयो । उहाँको प्रशिक्षणमा अगाडि बढ्नु भएका विष्णु पौडेल अहिले एकीकृत नेपाली कम्युनिष्ट पार्टीको महासचिव हुनुभएको छ । महासचिव भए लगतै आफ्ना राजनीतिक गुरु प्रदीप नेपाललाई उहाँकै निवासमा भेट्न जानु भएछ । यो राम्रो गर्नुभयो भन्ने लाग्यो । त्यति बेला सँगै राजनीतिमा होमिनु भएका कमरेड रविन हिरामणि वस्याललाई पनि हामी सम्झनै पर्ने हुन्छ । रूपन्देहीको वाम राजनीतिमा उहाँको योगदान लाई पनि स्मरण गर्नै पर्छ । त्यतिवेला विकास कमरेडको रूपमा परिचित गोपाल शाक्य, डि.वि. सिंह, भीम नारायण थारु, नाथुृ कुमाल, झ्याउल लोध, कलाकारिताबाट योगदान पु¥याउने छपियाका ताराका रूपमा परिचित अमर जि.सि., साहित्य लेखन तथा पत्रकारिताका माध्यमबाट रामचन्द्र भट्टराई लगायतबाट पार्टीलाई पहिचान दिने, पार्टी निर्माण र विस्तारमा पु¥याएको योगदानको सदैव स्मरण गरिरहनु पर्दछ । पार्टीमा धेरै अग्रजहरूको योगदान भएकोले सबै नाम यो सानो आलेखमा उल्लेख गर्न सम्भव छैन । त्यसका लागि म क्षमा चाहान्छु ।
कमरेड समिरका रूपमा रूपन्देहीमा हाम्रो बिच परिचित हुनुभएका स्व. कमरेड जिवराज आश्रितले त नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको बारेमा हामीलाई भैरहवा स्थित रिद्धी प्याकुरेल घरमा राजनीतिक कलास दिनुहुन्थ्यो । त्यसबाट राम्रै गरी ज्ञान प्राप्त गरेका थियौँ हामीले । त्यसपछि रूपन्देहीमा फेरि कमरेड गौरवको नामबाट प्रदीप नेपाल आउनुभयो । पार्टी कामलाई नयाँ उचाईमा पु¥याउनुभयो । रूपन्देहीमा त्यसपछि कमरेड मिलनको नाममा ईश्वर पोखरेल आउनुभयो । पार्टीले त्यतिवेला पञ्चायती चुनावहरूलाई उपयोग गर्ने नीति अनुरूप जनपक्षीय उम्मेदवार खडा गरेको थियो । पार्टीको त्यो उपयोग नीतिलाई ईश्वर पोखरेलले राम्रोसँग हाँक्नु भएको थियो ।
२०४५÷४६ सालको संयुक्त जनआन्दोलन बेला कमरेड केपी ओली जेलबाट रिहा भएपछि बुटवल आउनुभयो र लुम्बिनी अञ्चल पार्टीको जिम्मा लिई काम गर्नुभयो । २०४६÷४७ को आन्दोलनले निरंकुश पञ्चायती व्यवस्था ढालेर बहुदलीय प्रजातन्त्रको पुर्नस्थापना गरेपछि केपी ओली काठमाडौं जानु भयो र युवा संघको केन्द्रीय अध्यक्ष भई युवाहरूलाई परिचालन गर्नुभयो । अहिले केपी ओलीको बारेमा चर्चा गर्नु परेन किनकि सबैलाई विदितै छ । एकीकृत पार्टीको सांगठनिक संरचना बारे पनि सबैमा विदितै छ ।
२०३५÷०३६ देखि २०४६ सालसम्म तत्कालीन मा.ले. का हेड क्वाटरहरू लुम्बिनी अञ्चलमै थिए । गोरखपुर र वानारस जान पनि बुटवल भैरहवाबाट सहज हुने, अन्य क्षेत्रबाट आउनपनि तुलनात्मक रूपमा सजिलो र नजिक पर्ने, देशको मध्य भाग हुनाले पनि राजनीतिक सञ्चार गर्नमा यो क्षेत्र अनुकूल थियो ।
हामी विद्यार्थी मोर्चामा खटेका कार्यकर्ताहरूले लुम्बिनी अञ्चलमा पार्टी नेतृत्वमा जो आउनुहुन्छ उहाँहरूकै निर्देशनमा काम गरिन्थ्यो । २०३५÷३६ को आन्दोलले हामी मा भरपुर राजनीतिक चेतना दियो । जनवादी क्रान्ति सम्पन्न भए पछि राष्ट्र, जनता र कार्यकर्ताहरूको भविष्य स्वतः उज्ज्वल हुने शिक्षा प्राप्त भयो । २०३५ सालको अन्तिम तिर पाकिस्तानका सैनिक शासक ज्याहुलहकले जुल्फीकर अलि भुट्टोलाई फाँसि दिएको घटनाले नेपालको राजनीतिक वृत्तमा निकै तरंग ल्यायो । टि.यु का विद्यार्थीहरूले त्यस घटनाको विरोधमा काठमाडौं स्थित पाकिस्तानी राजदूतावासमा विरोध जनाउन जाँदा पञ्चायती सरकारले विद्यार्थीहरूमाथि निर्मम दमन ग¥यो । यसको विरोधमा टि.यु. का विद्यार्थीहरूले कक्षा बहिस्कार गर्दै देशव्यापी आन्दोलनको आव्हान गरे । यसै क्रममा हामीले मणिग्राम स्थित गीर्वाण सरस्वती संस्कृत मा.वि.को प्राङ्गणमा बसेर त्यो आन्दोलनलाई सफल पार्न मानसिक र भौतिक रूपमै एक्यवद्धता जनाउने निर्णय ग¥यौँ । एउटा पर्चा छापेर जिल्लाभरिका स्कुल क्याम्पसहरूलाई आव्हान ग¥यौँ । त्यही निर्णय अनुसार जिल्लाभरि आन्दोलनको आगो सल्क्यो । अन्य जिल्लामा पनि आन्दोलनको प्रभाव पर्न थाल्यो । काठमाडौंलगायत देशका विभिन्न ठाउँमा आन्दोलनले चर्काे रूप लिदै गयो । आन्दोलनका कारण तत्कालीन शाही सरकार झुक्न बाध्य भई सुधारिएको पञ्चायत रोज्नेकी बहुदल रोज्ने भन्ने विषयमा जनमत संग्रह गर्ने घोषणा तत्कालीन राजा वीरेन्द्रबाट भयो । यो जनमत संग्रहलाई स्वीकार गर्ने वा बहिस्कार गर्ने भन्ने विषयमा लामो समयसम्म बहस चल्यो । यसप्रकारको अन्योलताका बिच जनमत संग्रह हुँदा थोरै मतको अन्तरले सुधारिएको पञ्चायतलाई जिताइएको घोषणा गरियो । परिणाममा सुधारिएको पञ्चायत आएतापनि यसले बहुदलको पक्षमा राम्रो जनमत निर्माण ग¥यो । जनताहरू खुलेर पञ्चायतको विरुद्धमा सडकमा उत्रने हिम्मत गर्न थाले । आन्दोलन चर्किदै जाने क्रममा २०४५÷०४६ मा पुग्दा प्रजातन्त्रका पक्षधर कांग्रेस, कम्युनिष्ट र स्वतन्त्र पहिचान भएका सबै प्रकारका लोकतान्त्रिक चिन्तन भएका व्यक्ति, शक्ति र समूहका बिच एकता हुन गई संयुक्त जनसंघर्ष भयो । जसले गर्दा पञ्चायती शासकहरू झुक्न बाध्य भए । राजा वीरेन्द्रले जनआन्दोलमा अभिव्यक्त भावलाई बुझ्दै प्रजातन्त्रको पुनः स्थापना भएको घोषणा गरे । मुलुक संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मार्गमा अघि बढ्न थाल्यो । त्यसयता अनेकौँ आरोह अवरोहका बिच मुलुक अगाडि बढ्दै गयो । यसै क्रममा २०६२÷६३ को जनआन्दोलन (कांग्रेस, एमाले, माओवादी) को संयुक्त कदमबाट अगाडि बढ्दै जाँदा राजतन्त्रलाई विदाइ गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । त्यो यात्राले पनि १२ वर्ष पूरा गरिसकेको छ । त्यही आधारमा नयाँ संविधान निर्माण भई हामी यतिवेला कार्यान्वयन को तहमा छौँ। मुलुक नयाँ युगमा प्रवेश गरेको छ । यसलाई युगान्तकारी सफलतामा पु¥याउनु पर्छ । यो यतिवेलाको हामी सबैको दायित्व हुन आएको छ । यही घडीमा २०७५ जेठ ३ गते एमाले माओवादी बिच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टीको घोषणा हुनु आफैमा सुखद कुरा हो भन्ने लाग्छ । यसलाई परिवर्तित रूपमा राष्ट्र र जनताको हितमा लैजान सक्नु पर्छ भन्ने मलाई लाग्दछ ।
रूपन्देहीको वाम राजनीतिमा राजकीय पद जो जसले प्राप्त गरेको भएपनि राजनीतिक योगदानका हिसाबले प्रदीप नेपाललाई उच्च सम्मान दिनुपर्छ भन्ने मलाई लाग्छ । रूपन्देहीका बाम कार्यकर्ता र जनताले प्रदीप नेपालले रूपन्देहीको वाम आन्दोलनमा गरेको योगदानलाई सधंै सम्झिरहनु पर्दछ ।
उहाँले नै अगाडि बढाएका कार्यकर्ता विष्णु पौडेल यतिवेला पार्टीको महासचिव हुँदा उहाँ निकै खुसी देखिनु भयो । हामीलाई राजनीति र  लेखनमा अगाडि बढाउनुमा प्रदीप नेपालको प्रेरणादायी भूमिका रहेको छ । यसका लागि उहाँलाई सम्मान प्रकट गर्दछु । प्रदीप नेपालले बहुदल पछि पनि लुम्बिनी अञ्चललाई कार्यथलो बनाउनु भएकोभए उचित हुने थियो भन्ने हामीलाई लागेको हो । यस्तो भएको भए लुम्बिनी अञ्चलमा पार्टी राजनीतिलाई योगदान पु¥याउनेहरूको उचित मूल्याङ्कन हुने थियो भन्ने हाम्रो ठम्याई रहेको छ ।
हामीलाई बुटवल प्रदेश नं. ५ को राजधानी भएका कारण मुख्य मन्त्रीको रूपमा शङ्कर पोखरेललाई पनि यतै पाएका छौँ । उहाँलाई भेट्न चाहानेहरू पनि विशेषतः बुटवल नै आउनु प¥यो । उहाँको पनि यो क्षेत्र भएको छ यतिवेला । उहाँको क्षमता र कुशलताको परीक्षण गरिरहेका छन् बुटवलबासीहरू यतिवेला । प्रदेश नं. ५ का सबै जनप्रतिनिधिहरू एकै ठाउँमा जुट्ने थलो बनेको छ बुटवल । नेपालको बाम राजनीतिलाई डो¥याएर हिंडाउन हर तरहले कोशिस गरिरहेको छ बुटवल । राष्ट्रकै लागि एजेण्डा दिएर अगाडि बढ्न सक्ने बुटवल बत्ती मुनि अध्यारो जस्तो नहोस् । जीवनको उर्वर समय पार्टी राजनीति गरेको रूपन्देहीमा फेरि पनि प्रदीप नेपालजस्ता प्रिय नेताहरूको दृष्टि पुगी रहोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार