पोखरीमा डुबेर चार बालिकाको ज्यान गयो

भैरहवा । रमजान सुरु भएसँगै रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ गदिढिउकी ९ बर्षीय मोमिना खातुनकोे दैनिकी बिहान ७ बजे मदरसामा अध्ययन गर्न जाने । ९ बजे पढाई सकेर घर आउने, खाना खाई सकेपछि साथीहरुसँग निस्कने र दिउँसो घर फर्कने थियो ।
रमजान सुरु भएपछि उनले अध्ययन गर्ने मदरसा इस्लामियामा नरुलघोदा बिचहरापुरमा बिहान ७ बजेदेखि ९ बजेसम्म पढाई हुन्थ्यो । दिउँसो बिदा ।
तराईमा बढ्दो गर्मी छल्न सोमबार खातुन गाउँकै साथीहरुसँग नजिकैको पोखरीमा नुहाउन गएकी थिइन् । तर अरु दिन दिउँसो भोक लागेपछि बाबा, आमा भन्दै घर आउने खातुन फर्केर आइनन् ।
उनी गाउँदेखि नजिकै रहेको पोखरीमा डुबेको खबर सुनाउन गाउँकै अर्की बालिका आइन् । हस्याँङ फस्याँङ गर्दै पोखरीतर्फ लागेका उनका बुबाले छोरीसँगै अरु तीनजना पोखरीमा डुबेको देखेपछि आत्तिदै गाउँलेलाई खबर गरेका थिए ।
घटनाबारे सुनाउँदै मोमिनाका बुबा कमर हुसेनले भने– ‘पोखरीबाट निकाल्दा छोरीले सास फेर्न छाडिसकेकी थिइन् ।’
सोमबार उनीसँगै नौखडिया पोखरीमा नुहाउन गएका चार बालिकाको मृत्युपछि गाउँ शोकमा डुबेको छ । डुबेर मोहम्मद सरिफकी ९ वर्षीया छोरी अबिदा खातुन, सौकतकी १० वर्षीया छोरी साहिमा खातुन, ९ बर्षीय मोमिना खातुन र सर्युदिनकी १४ वर्षीया साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले जानकारी दिए । उनीहरुको भैरहवास्थित भिम अस्पतालमा पोष्टमार्टम गरी शव परिवारको जिम्मा लगाइएको छ ।
१४ बर्षीय साहियाबाहेक अरु एउटै मदरसामा कक्षा २ मा अध्यनरत थिए । उनी भने निसहवा मदरसामा कक्षा १० मा अध्यनरत थिइन् ।
वडा नम्बर ११ का अध्यक्ष अकरामद्दिन खानले पोखरीमा बालिकाहरु डुबेको खबर आएपछि स्थानीय र प्रहरीलाई खबर गरेर उनीहरुलाई पोखरीबाट निकालिएको बताए ।
उनका अनुसार उक्त पोखरी प्राकृतिक पोखरीको रूपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गर्दथे । पोखरी गाउँदेखि केही टाढा एकान्तमा रहेको छ । जसका कारण पनि बालिकाहरुको समयमै उद्धार हुन नसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार