सुस्त गतिमा ठूला आयोजना

भैरहवा । लक्ष्य अनुसार काम भएको भए भैरहवा–बुटवल व्यापारिक मार्गको काम अहिले सकिसक्नु पथ्र्याे । तर काम पूरा हुन त परै जाओस्, ढिलाई भएकै कारण आयोजनाको लागतसमेत बढेको छ । जुन आयोजना रूपन्देहीमा हाल संचालित ठूला आयोजनामध्येको एक हो ।
यस्तै अवस्था जिल्लामा संचालित अन्य आयोजनाहरूको पनि छ । जिल्लामा संचालित ठूला आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन् । धेरै आयोजनाको निर्माण समयसीमा पनि सकिएको छ र समय थपसमेत भएको छ । ती आयोजनाहरू थपिएको समयमै सकिन्छन् भन्ने अझै पनि ढुक्क हुने अवस्था छैन । तर आयोजना कार्यान्वयन इकाईहरूले भने अब तोकिएको समयमै काम सक्ने दावी गरिरहेका छन् ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल व्यापारिक मार्ग, बेलबास–बेथरी सडकजस्ता आयोजनाहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन् ।
व्यापारिक मार्ग कछुवा गतिमा
बेलहिया–बुटवल सडकलाई ६ लेनका रूपमा बिस्तार गर्न लागिएको आठ वर्ष भयो । तीन वर्षमा सक्नेगरी निर्माण थालिएको आयोजना विभिन्न बहानामा ठेकेदार कम्पनीको ढिलासुस्तीले पछि धकेलियो । यस्तै सुरूदेखि नै बजेट र निर्माण सामग्रीको अभाव झेलेको व्यापारिक मार्ग बिस्तार आयोजना निर्माण कहिले पूरा हुने भन्ने ठेगान छैन । यद्यपि आयोजना कार्यालयले भने आउँदो दसैंभित्रै सम्पन्न गर्ने दावी गरेको छ । यो मार्गको अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको छ ।
‘आयोजनाका लागि पर्याप्त बजेट नहुँदा निर्माण अवधि नै लम्बिइरहेको छ, अझै पनि बजेट अभाव झेल्ने हो भने आगामी भदौभित्र सडक बिस्तार पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काममा अवरोध आउने छ’– आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले भने । बुटवलको तीन किलोमिटरसमेत गरेर भैरहवासम्मको निर्माण गर्न बाँकी सडकका लागि अझै २ अर्ब लाग्ने देखिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले माग अनुसारको बजेट बिनियोजन गरेमात्रै अबको पाँच महिनामा सडक बिस्तार सकिने अन्यथा लम्बिनसक्ने उनको भनाइ छ ।
२४ किलोमिटर सडकमध्ये अब करिब ८ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । भलवारीदेखि पत्थरडाँडासम्म कालोपत्रेको काम भइरहेको, त्यस्तै मणिग्रामदेखि मंगलापुरसम्म र भैरहवा क्षेत्रमा पनि काम अगाडि बढेको छ । आर्थिक वर्ष २०६६÷०६७ मा सुरू भएको यो सडक मार्ग विस्तार गर्न ५ अर्ब ८६ करोडको ठेक्का भएको थियो । अहिलेसम्म ४ अर्ब रूपैयाँ खर्च भइसकेको छ । निर्माणमा ढिलाई हुँदा करिब डेढ अर्ब लागत बढिसकेको छ ।
उस्तै छ गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल
राष्ट्रिय गौरवकै आयोजना अन्तर्गत निर्माण भइरहेको अर्को आयोजना हो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । सम्झौताअनुसार काम गरेको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक झर्थे । तर यो आयोजना पनि बेलाबखत हुने अवरोधले गति लिन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत लिइएको यो विमानस्थल तीन वर्षमा सक्ने गरी बि.सं. २०७१ कात्तिकमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी सुरू गरेको थियो । तीन वर्षमा सक्ने भनिएको यो आयोजना पनि २ वर्ष पछि धकेलिएको छ । अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ ।
पर्याप्त जनशक्ति र इक्युमेन्ट नहुँदा काममा ढिलाई गरेको आरोप खेप्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय भने काममा केही तदारूकता देखाएको छ । विमानस्थल आयोजना प्रमुख ओम शर्माले २०१९ को जुनबाट संचालन आउने गरी काम भइरहेको दावी गर्छन् । कुल ६ अर्ब २२ करोड रूपैयाँ लागतको विमानस्थल निर्माण गर्दा दुई हजार दुई सय घरपरिवार अधिग्रहणमा परेका थिए । त्यसको मुआब्जा वितरणमा समेत ढिलाई भएको छ । २३ अर्ब मुआब्जा वितरणमा लाग्ने भनिए पनि हालसम्म ६ अर्बको मात्रै मुआब्जा वितरण गरिएको छ । सबै क्षेत्रबाट अवरोध आउँदा समेत सरोकारवाला निकायको ध्यान नजाँदा विमानस्थल निर्माण पनि थप गरिएको समयमा सकिने कुनै तात्विक आधार छैन ।
बौद्ध परिपथ अलमलमा
ठूला आयोजना अन्तर्गत निर्माण थालिएको अर्को आयोजना हो बौद्ध परिपथ । पर्यटन प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको यो परिपथ निर्माण काम पनि कछुवा गतिमा छ । सरोकारवालाले बेबास्ता गर्दा यो आयोजना पनि अलपत्र छ । लुम्बिनी आउने पर्यटकलाई रूपन्देही, नवलपरासी र कपिलवस्तुका सबै बौद्धस्थलमा पु¥याउन सरकारले ९ वर्षअघि बौद्ध परिपथ (बुद्ध सर्किट) निर्माण सुरू गरेको थियो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले समेत तत्काल सर्किटलाई व्यवस्थित सडक सञ्जालले जोड्ने प्रस्ताव पारित गरेको थियो । तर अहिलेसम्म काम पूरा हुने टुंगो छैन ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले यसअघिको सडक सञ्जाल विस्तार योजना भएकाले अहिले सरकारी स्तरबाट ‘बुद्धसर्किट अफ नेपाल’ को प्रारम्भिक प्रतिवेदनका लागि तयारी गरेको बताए । ‘त्यसमा ३ जिल्ला मात्र नभई मुलुकभरकै बौद्ध सम्पदा जोडेर सर्किट बनाउने योजनाको छलफल भइरहेको छ’–उनले भने– ‘आगामी असारसम्म प्रारम्भिक प्रतिवेदन बन्नेछ ।’ यो परियोजना पूरा नहुँदा लुम्बिनी आएका पर्यटक बुद्धको मावली गाउँ देवदह, अष्टधातु रहेको रामग्राम, सिद्धार्थ हुर्केको तिलौराकोट र आसपासका बुद्धक्षेत्रमा पुग्न सकेका छैनन् ।
सरकारले लुम्बिनी विकास कोषलाई विशेष प्राथमकितामा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याइरहेको छ । तर बौद्ध परिपथमा पर्ने नवलपरासीको पण्डितपुर र रामग्राम स्तुपको प्रचारप्रसार हुन सकेको छैन । पण्डितपुर र स्तुपको विकासका लागि स्थानीयले छुट्टै विकास कोष बनाउनु पर्ने माग गर्दै आएका छन् । यसरी अबौं लगानीको परिपथ निर्माणमा ढिलाई हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको छ । यो परिपथको निर्माण कार्य जम्मा १५ प्रतिशत मात्रै भएको छ ।
बेलबास–बेथरी सडक आयोजना अभाव झेल्दै
डेढ बर्ष अघिबाट सुरू भएको अर्को आयोजना हो, बेलबास–बेथरी सडक आयोजना । नमूना सडकका रूपमा हेरिएको यो आयोजनाको अवस्था पनि दयनीय छ । २५ प्रतिशत काम सकिएको यो आयोजना एक अर्ब ४८ करोड ९९ लाखमा निर्माण सम्झौता गरिएको थियो । आयोजनामा रूख कटान, स्थानीय अवरोध, विद्युत् पोल स्थानान्तरण जारी रहँदा नै अवरोध भएको हो । हरित नहरसहित निर्माण थालिएको यो सडकको ब्रजगुरू कान्छाराम जेभी, रमन–जेजेइसिसिएल जेभी र रमन कन्सट्रक्सन प्रालिले ठेक्का लिएका हुन् । सुरूमा मुआब्जा दिन नपर्ने भनिएको सडक खण्डमा पछि स्थानीयको जग्गा पर्ने भएपछि मुआब्जा दिने पैसा नहुँदा र निर्माण सामग्री तथा बजेट अभावमा रोकिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार