छिटै नै पत्रकारको पारिश्रमिक पुनरावलोकन : पराजुली

बुटवल । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले छिटै नै पत्रकार तथा सञ्चारकर्मीहरुको पारिश्रमिक पुनरावलोकन हुने बताएका छन्।
दैनिक पत्र दैनिकको कार्यालय बुटवलमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले देशका विभिन्न क्षेत्रका विभिन्न प्रकृतिका सञ्चारमाध्यमहरुको अनुगमन गरिरहेको र त्यसलाई आधार मानेर नयाँ पारिश्रमिक निर्धारण हुने बताए ।
‘अघिल्लो कार्यसमितिले तोकेको पारिश्रमिक अहिले सान्दर्भिक छैन, उनले भने–अहिलेको मूल्यवृद्धि, महंगी र परिवेशलाई ध्यानमा राखेर नयाँ पारिश्रमिक निर्धारण हुन्छ, तर त्यो पारिश्रमिक न्यूनतम हुनेछ, सञ्चारमाध्यमले सबैभन्दा तल्लो तहको पत्रकार÷कर्मचारीलाई दिने पारिश्रमिक नै न्यूनतम पारिश्रमिकको रुपमा निर्धारण हुने हो।’
कतिपय अवस्थामा समितिले तोकेको पारिश्रमिकलाई बाध्यात्मक रुपमा लिएर अधिकतम पारिश्रमिकको रुपमा लिएको बताउँदै उनले भने–सञ्चारमाध्यमले सबैभन्दा तल्लो तहको पत्रकार÷कर्मचारीलाई कम्तीमा त्यति तलब दिनुपर्छ र त्यो भन्दा माथिल्लो तहका पत्रकार÷कर्मचारीलाई त्यसैअनुसार वृद्धि गर्दै लगेको हुनुपर्छ भन्ने हो, यसलाई सञ्चारमाध्यम र आम मानिसले त्यसरी बुझ्न आवश्यक छ।’
अहिले अधिकांश सञ्चारमाध्यमले नक्कली कागजात पेश गरेर सूचना विभागलाई बुझाएको भन्दै अब सरकारी संयन्त्रलाई झुट कागजात पेश गरेमा कारबाही हुने गरी नियमन गर्ने बताए ।
कार्यक्रममा बोल्दै दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईंले दैनिक पत्रले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेभन्दा बढी पारिश्रमिक दिएको बताए । उनले पारिश्रमिक निर्धारण गर्दा मिडिया हाउसको प्रकृति र पत्रकारको कामलाई आधार मानेर तय गर्न सुझाव दिए।
पत्रकारितालाई स्वस्थ र मर्यादित बनाउनका लागि दैनिक पत्रले अगुवाई गरेको भन्दै चापागाईंले पत्रकारको क्षमता र योग्यताअनुसार वर्गीकरण जरुरी रहेको बताए।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका प्रदेश ५ सदस्य विक्रम खड्का, कान्तिपूर पब्लिकेशन्सका प्रदेश ५ प्रमुख दीपेन्द्र बडुवाल, दैनिक पत्र दैनिकका प्रबन्ध सम्पादक ऋषि आजाद, कार्यकारी सम्पादक सी. पी. खनाल, व्यवस्थापक महेश रिजाल, कार्यालय सचिव मञ्जु पौडेललगायतले बोल्दै पत्रकार र सञ्चारमाध्यम दुवै सबल र सक्षम हुने गरी सरकारी निकायले नीति ल्याउनुपर्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार