नर्सिङभित्रका कुरा

प्रत्येक वर्ष मे १२ तारिखलाई नर्स दिवसको रुपमा मनाइन्छ । आधुनिक नर्सिङ सेवाका अभियान्ता फ्लोरेन्स नाइटिङलको जन्मदिनको अवसर पारेर नर्सिङ दिवस मनाउन थालिएको हो । विश्व नर्सेस काउन्सिलले सन १९६३ देखि विश्वका धेरै देशमा यो दिवस मनाउन थालेको हो । नेपालमा नर्सिङ दिवस दुईपटक मनाइन्छ । एकपटक प्रत्येक वर्षको माघ १५ गते र मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ । नर्सिङ पेसाको विश्व इतिहासमा सन १८५४ को बेलायत र रुसबीच युद्ध हुँदा इटालिमा जन्मेकी फ्लोरेन्स नाइटिङगेलले टर्कीको मिलिटरी हस्पिटलमा उपचारमा रहेका घाइते सिपाहीहरुको सेवाबाट पहिलो नर्सको औपचारिक रुपमा जन्म भएको हो ।
हाम्रो समाजमा कुनैबेला नर्स भन्ने बितिक्कै बिरामीको स्याहार सुसार गर्ने मानिस हो भन्ने धारणा थियो । तर हिजोआज हामीमा धेरै कुराको शिक्षा र चेतना बढेको छ । जसले गर्दा स्वास्थ्यको क्षेत्र र बुझाइमा धेरै नै फराकिलो हँुदै गएको छ । मानिस स्वस्थ्य रहनलाई शारीरिक रुपमा मात्र स्वस्थ्य भएर हुन्न मानसिक रुपमा पनि स्वस्थ रहनु पर्दछ भन्ने कुराको विकास भएको छ । चार दशक अगाडिसम्म नर्सिङ पेसालाई समाजले हेर्ने दृष्टिनै फरक थियो । तर आजभोलि यो पेसा सम्मानित भएको छ । जसले गर्दा आजभोलि नर्सिङ धेरैको लागि आकर्षणको पेसा बनेको छ । तर प्रतिस्पर्धामा उत्रिएर नर्सिङ पेसामा प्रवेश गर्न भने सजिलो छैन ।
नेपालमा नर्सिङ अध्यनको शिक्षा वि.सं १९८५ बाट सुरु भएको हो । सुरुमा चारजना नेपालीले सुत्केरी गराउने विधिको अध्ययन गरेपछि सुरु भएको नेपालको नर्सिङ शिक्षाले पछिल्ला दिनहरुमा यो शिक्षा र सेवाले यतिबेला निकै आकर्षणको क्षेत्र बन्दै गएको छ । वि.सं.२०१३ सालमा विश्व स्वास्थ्य संगठनको सहयोगमा बीर अस्पतालबाट औपचारिक रुपमा नर्सिङ शिक्षाको पठनपाठन सुरु भएको थियो । सुरुमा १० जना विद्यार्थीबाट सुरुआत भएको नर्सिङ अध्यापन आज वर्षेनि हजारौंको संख्यामा अध्यापन भैरहेको छ । नेपालको पहिलो नर्स उमादेवी दास हुन् । उनले नर्सिङ शिक्षाको अध्ययन भारतबाट गरेकी थिइन । त्यतिखेर नेपालमा कुनै पनि नर्सिङ अध्ययन गर्ने विद्यालय थिएन । त्यसैले उनलाई सरकारले छात्रवृत्ति स्वरुप अध्ययनको लागि भारतमा पठाइएको थियो । पछि २०२८ सालबाट विश्वविद्यालयले नर्सिङ शिक्षाको अध्ययन सुरु गरेको हो । विश्वविद्यालयले वि.सं.२०३३ सालबाट बि.एन. र २०५२ सालबाट स्नातकोत्तर तहको पठनपाठन पनि सुरुवात गर्दै आएको छ । पछिल्ला दिनमा २०५३ देखि बीपी कोइराला मेमोरियल अध्ययन प्रतिष्ठान धरानले पनि बि.एस्सी.नर्सिङको पढाइ सञ्चालन गर्दै आएको छ ।
नर्सिङ अध्यनको शैक्षिक गुणस्तर भने प्राइभेटभन्दा सरकारी कलेजको राम्रो मानिन्छ । प्राइभेटको तुलनामा सरकारी शिक्षण संस्थामा कम शुल्कमै अध्ययन गर्न पाइन्छ । अहिले सञ्चालनमा रहेका प्राइभेट कलेजको वार्षिक शुल्क सरकारी नर्सिङ कलेजको भन्दा तीन गुणा बढी छ । तर पनि सरकारी शिक्षण सस्थाहरुमा सिट नपाएपछि अधिकाँश नर्सिङ पढने विद्यार्थीहरु प्राइभेट शिक्षण सस्थामा जाने गरेका छन् । नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने हालसम्म नेपालमा नेपाल नर्सिङ परिषदको पछिल्लो तथ्याङ्क अनुसार २६ हजार ५ सय १५ जना नर्स, २१ हजार ६ सय ५२ जना अनमी र ७ सय ७३ विदेशी नर्स गरी कुल ४८ हजार ९ सय ४० रहेको छ । सरकारी तथा निजी स्तरमा गरी साढे २ सय भन्दा शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा बढी जनशक्ति उत्पादन हुने गरेका छन । तर सबै जनशक्तिका लागि रोजगारीको समस्या भने बढ्दै गएको छ । अहिले विश्वभर चिकित्सकीय सेवा अभिन्न बनिसकेको छ, नर्सिङ । निश्चित पाठयक्रम र अभ्याससहितको शिक्षापछि मात्र नर्सिङ पेसाको जनशक्तिलाई योग्य मानिन्छ । नेपालमा पनि नर्सिङ पेसामा लाग्न चाहनेले कम्तीमा पनि ३ वर्षको अध्ययन पूरा गर्नुपर्छ । नेपालमा पनि नर्सिङ पढाउने शैक्षिक संस्थादेखि अभ्यास गर्ने पेसाकर्मीले नर्सिङ काउन्सिलको अनुमति पाउनुपर्छ ।
नर्सिङ सेवालाई व्यवसायिक र व्यवस्थित बनाउन नर्सिङ काउन्सिल ऐन २०५२ अनुसार परिषद गठन भएको छ । नर्सिङ व्यवसायलाई सुचारु रुपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने, नर्सिङ व्यवसायीको कार्यसीमा निर्धारण गर्ने, नर्सिङ व्यवसायीको आचारसंहिता निर्धारण गर्ने र त्यस्तो आचारसंहिता उल्लङ्घन गर्ने नर्सिङ व्यवसायी उपर कारवाही गर्ने काम, कर्तव्य र अधिकारसमेत नेपाल नर्सिङ परिषद ऐन, २०५२ को दफा ९ ले प्रष्ट पारेको छ । विकसित मुलुकमा ६ सयदेखि ८ सय जनसंख्याको बीचमा एक जना नर्स र सामान्यतया तीनजना बिरामीको बीचमा १ जना नर्स हुनुपर्ने प्रावधान छ । नेपालमा भने सरदर एक जना नर्सले २० देखि ३० जनाभन्दा बढी बिरामी हेर्नु परिरहेको अवस्था छ । तर नर्सिङ सेवासम्बन्धी नीति निर्माणको त कुरै छाडौं, नेपालको जनसंख्या अनुसार मुलुकमा कति नर्सिङ जनशक्ति खाँचो छ भन्ने कुराको सामान्य अध्ययनसमेत परिषदबाट हुन सकेको छैन । जबकि मुलुकको जनसंख्या र बिरामी संख्याको अनुपातमा कति नर्स आवश्यक छ ? उत्पादित नर्सिङ जनशक्तिको खपत कहाँ र कसरी हुने गरेको छ । त्यसले प्रवाह गरिरहेको सेवा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम छ छैन अथवा कस्तो छ, सेवाको क्रममा आइपरेका चुनौती तथा अप्ठ्यारा के कस्ता छन् र त्यसको समाधान कसरी हुन सक्छ भन्नेबारे समेत विस्तृत अध्ययन, अनुसन्धान गर्ने र प्राप्त नतिजाको आधारमा सरकारलाई कार्यान्वयनका लागि सिफारिस गर्ने काम पनि परिषदको हो । तर स्थापनाकालदेखि नै संख्यात्मक रुपमा नर्सिङ कलेजहरु बृद्धि गर्ने कामबाहेक नर्सिङ सेवाको गुणस्तर सम्बन्धमा कामभएको पाइन्न ।
नेपालमा हालसम्म १०३ वटा संस्थाले तीनवर्षे नर्सिङ विषय अध्यापन गराउने मान्यता लिइसकेका छन् भने बि.एस्सी.नर्सिङका लागि २५ वटा, बि.एन.का लागि १९ वटा, मास्टर अफ नर्सिङका लागि ४ वटा र अनमीका लागि ४८ वटा कलेजले मान्यता लिइसकेका छन् । नेपालमा नर्सिङ विषय पढाउने कलेज अत्यधिक खुलेका र त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै प्रयास नगरिएका कारण अब नेपालमा उत्पादित नर्स स्वदेशका लागि भन्दा पनि विदेशको लागि उत्पादन भएको हो भन्ने कुरा बुझ्न पर्ने भएको छ । अधिकाँश युवती स्टाफ नर्सको अध्ययनपछि विदेशमा करिअर बनाउने सोंचमा रहेको पाइन्छ । युरोप, अमेरिका, तथा अष्ट्रेलियामा हजारौं नेपाली नर्स कार्यरत रहनुले पनि यो शिक्षा विदेश जाने सोंच बनाउनेहरुका निम्ति आकर्षक विषय साबित भएको छ । एक तथ्याङ्क अनुसार प्रत्येक वर्ष अमेरिकामा मात्र ६ हजार नर्सको माग हुन्छ । एकातर्फ नेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले पनि नर्सप्रतिको आकर्षण बढेको छ ।
नर्सिङ पेसाप्रति बढ्दो आकर्षणका कारण संख्या बढेपनि त्यसको व्यवस्थापन हुन नसक्दा बेरोजारी बढेको छ । अर्कोतर्फ भएका अस्पताल र स्वास्थ्य केन्द्रहरु सहर र सहरउन्मूख क्षेत्रमा केन्द्रित भएकाले समस्या बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु पनि नर्सिङ पेसाभित्रका समस्या हुन । हिजो नर्सिङ पेसामा संलग्न र आज नर्सिङ पेसामा संलग्न नर्सको कार्यशैलीमा केही परिवर्तन भएको पाइन्छ । कतै नर्सहरुमा सेवाभावमा कमी आएको पो हो कि ? कतै ती व्यावसायिकतातिर पो गएका हुन् कि ? यी कुराहरु नेपाली समाजको चिन्ता र चासोको विषय पनि बन्ने गरेको छ । यस पेसामा संलग्नहरु आज अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानडाको भिसा लगाउन आतुर रहेको पाइन्छ ।
नर्स हुन सजिलो छैन । त्यसमा पनि असल र गुणकारी नर्स बन्न त झनै कठिन छ । तर पनि स्वास्थ्यको क्षेत्रमा कर्मप्रति इमान्दार नर्सहरु प्रशस्त भेटिन्छन् । सेवामुखी पेसा नर्सिङतर्फको आकर्षण पनि दिनानुदिन बढ्दै गइरहेको छ । यससँगै केही विकृति र कमजोरी पनि भित्रिँदै गएका छन् । हुन त सेवालाई प्रमुख प्राथमिकतामा राख्ने नर्सिङ पेसालाई कर्तव्य र धर्म ठान्ने नर्सहरुकै कारण अस्पतालमा बिरामीले उचित सहयोग पाइरहेका हुन्छन् । बिरामीको स्याहार सुसारमा आफ्नो समय बिताउने नर्सहरुप्रति जति सम्मान व्यक्त गरे पनि कम हुन्छ । एउटा कुशल नर्सको राम्रो व्यवहारकै कारण बिरामी र बिरामीका आफन्तले ठूलो राहत महसुस गर्छन् । त्यसैले यस पेसाभित्र चुनौती, अवसर कष्ट र सन्तुष्टि पनि सबैकुरा पाइन्छ ।
नेपालमा उत्पादित नर्सहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि सुरुमा बेरोजगार नर्सहरुलाई नेपालमै रोजगारीको वातावरण सिर्जना गर्नु पर्दछ । सेवामात्र होइन, आकर्षक तलब साथै अन्य सेवा सुविधाहरु बढाएर विदेश पलायन हुने नर्सहरुको मनस्थितिमा परिवर्तन ल्याउन पर्दछ । नर्सिङ समाजसेवाको पेसा हो । नर्सहरु आफ्नो दुःख, पीडा र विभिन्न कठिनाइका बाबजुद पनि दिनरात बिरामीको स्वास्थ्य स्थिति सुधार्न तत्पर हुन्छन । बिरामी निको पार्न अन्य स्वास्थ्यकर्मीको तुलनामा नर्सकै भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । नर्सलाई त्यतिबेला खुसी लाग्छ, जब एउटा बिरामी हाँसीखुसी स्वास्थ्यलाभ गरि घर फर्कन्छ । यस्ता सृजनशील र कर्मठ जनशक्तिको उचित बृद्धि विकास र रक्षातर्फ राज्यले सोंच्न सकेको छैन । न त अस्पताल सञ्चालकले नै यो सेवाको मर्म बुझ्न सकेका छन् । त्यसैले गर्दा पनि देशमा अपमान भएको अनुभूति गर्दै कतिपय नर्सहरु विदेशिन बाध्य छन् ।
विदेश नजाउन पनि किन ? देशमा न त नर्सको उचित तलब छ । कतिपय रोजगारीकै लागी महिनौं भोलिन्टियर बनेर शोषणमा पर्नु परेको छ । न त सेवाको कुनै मूल्याङकन नै हुन सकेको छ । कतिपय विकसित देशमा नर्सको सेवा सुविधा अन्य पेसाको भन्दा निकै उच्च छ । सम्मान पनि त्यत्तिकै गरिन्छ । आफूले गर्दै आएको सेवामा आत्मा सम्मान पाउन नसकेका नर्सहरुमा राम्रो काम र सम्मानको खोजिमा विदेशिने सम्भावना बढ्दै गएको छ । नेपालमा अधिकांश नर्सहरु काम गर्दागर्दै विदेश जाने तयारीमा लागेको पाइन्छ । अहिले नेपालबाट जागिर छाडेर अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिका जाने नर्सको संख्या दिनप्रतिदिन बढदो छ । अहिले नेपालमा एउटा स्टाफ नर्सको मासिक तलब १० देखि २२ हजार रुपैयाँसम्म हुन्छ । तर विदेशमा एउटा नर्सले मासिक एकलाख भन्दा बढीसम्म तलब सुविधा पाउने गर्दछन ।
नेपालबाट कामको लागि बेलायत पुगेका नेपाली नर्सहरुको संख्या अहिलेसम्म पाँच हजार भन्दा पनि धेरै पुगेको छ । बेलायतको स्वास्थ्य क्षेत्रको कानुन अनुसार एनएमसीबाट पिन नम्बर लिएका नर्सहरुमात्र यहाँ योग्य रजिष्टर्ड नर्स मानिन्छ । उनीहरुले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्न पर्दछ । जति नै सिनियर नर्स भए पनि बेलायतमा समय अनुसार नयाँ कोर्स गरिरहनु पर्दछ । बेलायतमा एनएमसीमा दर्ता भएका नेपाली नर्सहरुको संख्या २ हजार ८ सय रहेको छ । राम्रो तलब र अन्य सुविधा पाउने भएकोले नर्सिङ अध्यन गरेका धेरै नर्सहरु बेलायत जाने सोचमा समेत रहेको पाइन्छ । वास्तवमा नर्स अस्पतालमा विरामीहरुका लागि आमाको जस्तै भूमिकामा रहेको हुन्छ । निसंकोच बिरामीको व्यक्तिगत सरसफाइमा पनि नर्स लागिपरेका देखिन्छ । त्यसैमा उनीहरु रमाएका हुन्छन । कतिपय अवस्थामा त विरामीका आफन्तले पनि नगरिदिएका सरसफाइ नर्सले नै गरिदिएका हुन्छन । यो उनीहरुको सेवालाई सबैले सम्मान गर्नु पर्दछ ।
नेपालमा उत्पादित नर्सिङ जनशक्ति बिरामीसँग सम्बन्धित प्राथमिक सेवामा मात्र सीमित नभएर विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने बायोमेडिकल टेक्नोलोजीको ज्ञान र सीपका धनी छन । नर्स बन्नका लागि के कति ज्ञानको जरुरी हुनुपर्छ, सम्भवतः सबै दायरा प्रारम्भिक पाठ्यक्रमले नै समेटेको छ । वास्तवमा नर्सिङ शिक्षाको पाठ्यक्रम सर्वोत्कृष्ट छ । अहिले हाम्रा अस्पताल र स्वास्थ्य केन्द्रमा नर्सिङ सेवा पूर्ण रुपमा मेकानिकल भइरहेछ । टेम्परेचर, पल्स, रेस्पिरेसन, ब्लड प्रेसर लिनु र मेडिकेसन गर्नु नर्सको मुख्य काम भइरहेको छ । यो बाहेक अस्पतालमा बिरामी विभिन्न समस्या लिएर आएका हुन्छन् । उनीहरुको बानीब्यहोरा, रहनसहन, धर्म, जीवनशैली सबै फरक हुन्छन् । यी कुराहरुलाई पनि ध्यानमा राखेर नर्सले काम गर्नुपर्ने हुन्छ ।
अस्पताल पुगेका अधिकांश बिरामीले डाक्टरलाई देवता ठान्छन भने नर्सलाई भने उसको सेवाको कदर नगरी खाली दोषदिने प्रचलन छ । बिरामीलाई अलिकति असुविधा भएमा नर्सले नहेरेको भन्दै दोष नर्सहरुलाई दिने गरिन्छ । त्यसैले नर्सिङ पेसामा चुनौतीपूर्ण मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार