परिचारिकाको पेसा

संसारमा १२ मईका दिन विश्व नर्सिङ्ग दिवस मनाउने गरिन्छ । १२ मई सन् १८२० का दिन बेलायतमा फ्लोरेन्स नाइटेंङ्गल नामक बालिकाको जन्म भएको थियो । संयोग हेर्नुहोस् ८ मई सन् १८२८ का दिन स्वीटरल्याण्डमा हेनरी ड्युनाको जन्म भएको थियो । संसारले प्रत्येक वर्षको ८ मईका दिन विश्व रेडक्रस दिवस मनाउने गर्छ । सन् १८८६ मा हेनरी ड्युनाले रेडक्रसको स्थापना गरेका थिए । युद्धमा, प्राकृतिक विपत्तिको समयमा, बाढी, पहिरो, भूकम्प, आँधी, सुनामीको समयमा निस्वार्थ सेवाको प्रतीक रेडक्रसको चिन्ह भिरेर परिचारिकाहरू, चिकित्सकहरू, स्वयम्सेवकहरूले तटस्थ भावले मानव र मानवताको सेवा गर्ने गर्छन् । आज विश्वका १८६ भन्दा बढी मुलुकहरूमा रेडक्रस स्थापना भएका छन् । यसका हजारौं हजार सदस्यहरूले आपत, दुःख संकटमा परेका मावनहरूको उद्दार गर्ने गर्छन् । रेडक्रसले निःस्वार्थ र तटस्थ भावले गरेको सेवाको उच्च मूल्याङ्कन गर्दै अल्फ्रेड नोबल पुरस्कार फाउण्डेशनले सन् १९०१ र १९१७ मा दुईपटक नोबल शान्तिको पुरस्कार दिएर पुरस्कृत र सम्मानित गरेको छ ।
प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो, भू–क्षय, भूकम्प, सुनामी आउँदा तथा युद्धको समयमा हजारौं हजार मानिसहरूको अकालमा मृत्यु हुने गर्छ । युद्धमा बन्दूक, राइफल र बम आक्रमणमा बारुदको दुर्गन्ध, घाइतेहरूको आर्तनाद, गुहार माग्दै गरिने चित्कारले वातावरण बडो दयनीय, विभत्स र दुर्गन्धयुक्त बनेको हुन्छ । घाइते र क्षतविक्षत, अङ्गभङ्ग भएका पीडितहरू सहायता निम्ति चिच्याइरहेका हुन्छन् । गिद्ध, स्याल, हाइनाहरूले मृत शरीर खान र ढुँग्न आक्रमण समेत गर्ने गर्छन् । यस्तो समयमा घाइते र अपाङ्गहरूको सेवा गर्ने साहस रेडक्रसको चिन्ह भिरेर परिचारिकाहरू, चिकित्सकहरू, स्वयम्सेवहरूले बडो धेर्य र संयमतासाथ बिरामीहरूको सेवा सुश्रुषा गर्छन् । सन् १८४० मा बेलायतमा भयंकर अनिकाल प¥यो । त्यहाँ रोग, भोक, कुपोषणले आक्रान्त मानवहरूको अवस्था देखेर फ्लोरेन्स नाइटेंगलको कोमल हृदय आहत भयो । उनी परिचारिकाको ज्ञान हासिल गरेर दीन, दुःखी, शोषित, पीडित, दमित, रोगीहरूको सेवा सुश्रुषा गर्न चाहन्थिन् । उनताक धनी र अभिजात्य परिवारका नारीहरूले परिचारिकाको सेवा गर्दैनथे । नर्सिङ्ग पेसालाई बडो घृणा र हेय दृष्टिले हेरिन्थ्यो । यस्तो अवस्थामा फ्लोरेन्स नाइटेंगललाई नर्सिङ्ग पढ्ने अनुमति परिवारले दिएन । तर फ्लोरेन्स नाइटेंगलले नर्सिङ्ग कोर्षका किताबहरू किनेर कोठामा राती अबेरसम्म पढ्ने गरेको देखेर फ्लोरेन्सका मातापिताले उनलाई नर्सिङ्ग कोर्ष पढ्ने अनुमति दिए ।
पछि उनले आफ्नै नर्सिङ्ग तालिम केन्द्रको स्थापना गरिन् । सन् १८५४ देखि १८५६ सम्म रुस र टर्कीमाझ क्रिमियाको युद्ध भयो । त्यसबेला फ्लोरेन्स नाइटेंगल आफ्ना ३८ अन्य सहयोगी नर्सहरू लिएर घाइते सैनिकहरूको सेवा गर्न टर्की पुगिन् । त्यहाँ युद्धमा घाइते र अपाङ्ग भएका सैनिकहरूको सेवा गर्न प्रारम्भ गरिन् । अपाङ्ग र घाइते सैनिकहरूको चित्कार, कहराई, आर्तनादको स्वर माझ चौबिसै घण्टा नसुतेर पनि हातमा बत्ती लिएर प्रत्येक घाइते सैनिकको सेवा गर्न प्रत्येक सैनिक छेउ फ्लोरेन्स नाइटेंगल पुग्न थालिन् । हातमा बत्ती लिएर सेवा गर्ने (लेडी विद द ल्याम्प) महिलाको उपनामले फ्लोरेन्स नाइटेंगलको नाम प्रसिद्ध भयो । क्रिमियाको युद्धमा टर्कीद्वारा रुस पराजित भएको थियो । आजको आधुनिक युगमा धनीमानी, अभिजात्य वर्गकी महिलाहरूलाई नर्सिङ्ग पेसामा जाने प्रेरणा दिने सत्प्रयास गर्ने काम फ्लोरेन्स नाइटेंगलले गरेकै कारण प्रत्येक वर्षको १२ मईका दिन विश्व नर्सिङ्ग दिवस मनाएर फ्लोरेन्स नाइटेंगललाई स्मरण गरिन्छ । श्रद्धाञ्जली अर्पण गरिन्छ । आज नर्सिङ्गको पेसालाई बडो सम्मान र श्रद्धाका साथ हेरिन्छ । नेपाल लगायत विश्वभरि नर्सहरूको व्यापक माग छ । थप सुखद लक्षण के छ भने नर्सको तालिम लिएकी कन्याहरूको माग विवाह निम्ति पनि व्यापक छ । नर्सको तालिम लिएकी महिलाहरूले बेरोजगार भएर बस्नु पर्ने अवस्था छैन । १३ अगस्त १९१० सन्मा ९० वर्षको उमेरमा फ्लोरेन्स नाइटेंगलको निधन भयो ।१८५४ को अक्टुबर महिनामा उनी क्रिमिया युद्धमा घाइते सैनिकहरूको सेवा गर्न आफ्ना ३८ सहयोगी साथ फ्लोरेन्स नाइटेंगल टर्की गएकी थिइन् । पछि महारानी भिक्टोरियाले उनको सेवाको उच्च कदर गर्दै रोयल रेडक्रस मेडल दिएर सम्मान गरेकी थिइन् । उनलाई अब पनि मरणोपरान्त नोबल शान्ति पुरस्कार दिनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार