नव प्रगतिवादमा मुरारि

डा. मुरारि पराजुली प्रगतिवादी साहित्य सौन्दर्यको बगैंचामा देखिएका अभिनव स्रष्टा हुन् । उनको साहित्यिक व्यक्तित्व र त्यसले निर्माण गरेको पहिचान स्थानीय तह हुँदै राष्ट्रिय स्तरमा पुगेको छ । विशेषतःउनलाई साहित्य क्षेत्रमा बिम्ब विधायक भनेर प्रशंसा गरिन्छ । उनका कविताहरू अभिधाबाट माथि उठेर लक्षणाको तह हुँदै व्यन्जनाको स्तरमा पुगेको देखिन्छ । सिर्जनाका स्वरहरू संयुक्त कविता संग्रह (२०४५),आगो पालेका पेट र शीत ओढेका बस्तीहरू (२०४६),हाँसेर उसको ओंठले कविता संग्रह (२०६१), लोकतन्त्रको शङ्खनाद संयुक्त कविता संग्रह(२०६२), मुक्तक मीमांसा समालोचना(२०६७), नेपाली मुक्तकका प्रवृत्तिहरू, समालोचना (२०६९),पत्थरकट्टा जातिको अध्ययन(२०७०) आदि गुणस्तरीय कृतिहरू पस्केर नेपालीय साहित्यमा देखिने गरी विन्यस्त भएका छन् । यी कृतिहरूमध्ये ‘हाम्रो छातीको दशगजा’ २०७३ महत्वपूर्ण कृति हो । यसै कृतिबाट उनको साहित्यिक परिपक्वता झल्किएको छ । यसै कृतिबाट नव प्रगतिवादको सम्भावनाको ढोका खुल्दैछ ।
नेपाली साहित्यमा नव प्रगतिवादको विषयमा चर्चा हुनु आवश्यक छ । प्रा.डा.महादेव अवस्थीले डा. मुरारि पराजुलीको ‘हाम्रो छातिको दशगजा’ कृतिको समीक्षात्मक शुभकामनामा नव प्रगतिवादको सङ्केत गरेका छन् । जसलाई बहसको विषय बनाएर साहित्यकारहरूले न्यायपूर्ण समाज निर्माणको लागि अर्जुन दृष्टि बनाउनु आवश्यक छ । जब परम्परागत धाराले परिवर्तनको छाल हान्दै बिल्कुल नौलो संसारमा पुग्छ तब त्यो सिद्धान्तमा नव जोड्ने परम्परा छ । प्रगतिवाद आफैमा गतिशील धारा हो । यो नित्य निरन्तर बगिरहन्छ । यही प्रवाहशील गुणले गर्दा यसलाई गतिशील धारा मानिन्छ । तर नेपाली समाजमा प्रगतिवादलाई जडवादको ऐजेरुले कक्क्रक्क पारेको हुनाले प्रवाहशीलताको गुण हराएर जड भएर रहेको छ । अब त्यो जडतालाई हसिया हतौडाले फोरेर तरल बनाउँदै प्रवाहशील बनाउनु पर्नेछ । यसलाई नव प्रगतिवादको नाममा भए पनि गतिशील धाराको रूपमा नित्य निरन्तर बग्न दिनुपर्छ ।
प्रगतिवादको विषयमा महादेव अवस्थी भन्छन्—‘‘ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद वा माक्र्सवादकै साहित्यिक सिद्धान्तको बोध शब्द हो र प्रगतिवादी धाराका स्रष्टाहरूलेचाहिं समाजमा विद्यामन क्षेत्रीय, जातीय, जनजातीय, लिङ्गीय, धार्मिक, सांस्कृतिक, भाषिक आदि क्षेत्रका विभेद र तिनका बीचमा रहेको अन्तः संघर्षको सवाललाई पनि वाणी दिई साहित्य रच्ने जुन प्रवृत्ति पछिल्लो समयमा देखा परेको छ, त्यसलाई ‘नव प्रगतिवाद’ भनिन्छ । अर्को किसिमले भन्ने हो भने आर्थिक दृष्टिले मात्र नभई अरू अनेक किसिमका विभेदमा पारिएका किनारीकृत उत्पीडित वर्ग र समुदायको मुक्तिको स्वर गुन्जाउनु तर मुख्यत माक्र्सवादी विचारकै अनुशरण गर्नु नव प्रगतिवादी धाराको विशेषता हो ।
यो बहसले नव प्रगतिवादको सम्भावनाको ढोका ढक्ढकाएको छ । वास्तवमा प्रगतिवादी साहित्य सौन्दर्यले केवल वर्गीय शोषणको मात्र कुरा गर्दैन, वर्ग संघर्षको केन्द्रीयतामा उत्पीडनमा परेका अन्य वर्ग र समुदायका आवाजलाई पनि एकीकृत रूपमा मुखर गर्छ । त्यसैले नव प्रगतिवाद वर्ग संघर्षको केन्द्रीयतामा सबै उत्पीडित जात, जाति, वर्ग, लिङ्ग, क्षेत्र, भाषाका वर्ग र समुदायको एकीकृत क्रान्तिको रूपमा देखा पर्छ । नव प्रगतिवाद २०५२ सालदेखि औपचारिक रूपमा प्रकट भएको हो ।
नव प्रगतिवादलाई निम्नानुसार हेर्नुपर्छ —
यसको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद हो ।
यसले इतिहासको अध्ययन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्तका आधारमा गर्छ ।
यो वर्ग संघर्ष प्रधान हुन्छ । साथै वर्ग संघर्षको केन्द्रीयतामा उत्पीडित वर्ग र समुदायको उत्पीडनको अन्त्य गर्ने माग गर्छ ।
यसले सर्वहारावर्गीय अधिनायकत्व हैन, कानुनी सर्वोच्चतासहितको जनताको जनवादी अधिनायत्व स्थापना गर्न माग गर्छ ।
यसले उत्पादनका साधनहरू निरपेक्ष रूपमा राष्ट्रियकरण गर्न भन्दैन । उत्पादनका साधनलाई राजकीय, सहकारी र निजी तिनै क्षेत्रमा प्रतिस्पर्धा हुनेगरी वितरण गर्छ ।
यसले प्रतिपक्ष बीचको एकता र संघर्षसहितको जाँच सन्तुलन विधिमा आधारित जनवादी संसदको माग गर्छ ।
जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाई सबैभन्दा जनपक्षीय र क्रान्तिकारी दललाई सत्तामा पु¥याउन पाउने मताधिकार प्रत्यायोजन गर्छ ।
यसले सामन्तवाद, साम्राज्यवाद र प्रभुत्ववादको निन्दा गर्छ ।
यसले लोकतान्त्रिक अभ्यासको माध्यमबाट प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्दै समाजवादमा जाने विश्वास राख्छ ।
नेपालको परिप्रेक्षमा सबै वर्ग र समुदायको आत्म सम्मान, आत्मपहिचान र समानुपातिक समावेशीकरणसहितको संघीय प्रणालीको माग गर्छ ।
यसले धर्म निरपेक्षतालाई आत्मसात गर्छ ।
एकमा एकता हैन, अनेकतामा एकता हुने बहुलवादमा आधारित बलियो राष्ट्रवादको माग गर्छ ।
डा. मुरारि पराजुलीको ‘हाम्रो छातीमा दशगजा’ कविताको भूमिकामा उल्लेख गरिएको नव प्रगतिवादको आधारभूत नीतिगत मूल्यहरू यिनै हुन् । जसलाई अवस्थीले सङ्केत मात्र गरेका छन् । यी सबै मूल्यहरू बहुदलीय जनवाद र एक्काइसांै सताब्दीको जनवादको सैद्धान्तिक अवधारणा हुन् । मैले यसलाई सैद्धान्तिकीकरण गर्न खोजेको हुँ । नेपालको संविधान २०७२ ले माथिका मूल्यहरूलाई वरण गरेको छ । त्यसैले पनि नेपाल पुँजीवादी जनवादी क्रान्ति सफल गरी समाजवादोन्मूख बाटो हिंड्न थालेको छ । लोकतान्त्रिक अभ्यासको माध्यमबाट श्रेष्ठता हासिल गर्दै अघि बढेमा हामी नव प्रगतिवादी साहित्यिक चरणमा पुगीसकेका छौं । यसलाई प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो ।
यति हुँदाहुँदै पनि ‘हाम्रो छातीको दशगजा’मा दलित, महिलाका आवाजहरू जसरी जुन मात्रामा मुखर भएका छन् त्यसरी नै मधेस, जनजाति, थारु, कर्णाली, मुस्लिमलगायतका समुदायको आत्मसम्मान, आत्मपहिचान र स्वत्त रक्षाको सवालमा अपेक्षित स्वर घन्काउन सकेको देखिदैन । अधीनमा रहेको समाजलाई स्वाधीन बनाएर सबै अटाउने, सबै देखिने र सबै जोडिने गरी पुनः रचना गरेर जसरी नेपालको संविधान २०७२ ले सुल्ट्याएको छ । त्यतिसम्म पनि बोल्न गाह्रो मान्नु यो कृतिको सीमा भएको छ । विशेषतः जनजाति र मधेसको सवालमा त यो कृतिले राष्ट्रिय अखण्डतासँग जोडेर देशभक्त नेपालीको कोमल हृदयमा शङ्का र त्रास उमारिदिएको छ ।
वास्तमा यो देशमा अब गोर्खाको पृष्ठभूमिका टेकेर रोल्पा र गौरको बलिदानलाई पनि जोड्नु पर्छ । गोर्खाको बिम्बमा रोल्पा र गौरको बिम्ब जोडेर राष्ट्रिय अखण्डतालाई बलियो बनाउनु पर्छ । कसैलाई मूलप्रवाहबाट बाहिर राखेर राष्ट्रिय अखण्डता बलियो हुँदैैन । त्यसैले राज्य पुनः रचना गरी सबै अटाउने, सबै देखिने र सबै जोडिने गरी व्यवस्थापन गर्नु आजको माग हो । त्यो आंशिक रूपमा पूरा भएको छ ।
विगतमा प्रगतिशील क्याम्पभित्रैबाट नेपालमा भएको परिवर्तनको स्वरप्रवाहलाई उत्तर आधुनिक भनी ओंठ लेब्र्याउने काम भयो । बडे बडे भनिएका दिग्गज प्राज्ञहरू आत्म सम्मान, आत्मपहिचान, संघीयता, समावेशीकरण, समानुपातिक प्रतिनिधित्व आदि मूल्यलाई माक्र्सवाद विरुद्ध पुँजीवादीहरूले फ्याकेका उत्तर आधुनिक मूल्य हुन् भन्दै परिवर्तनको प्रसव वेदनालाई अरू पेचिलो बनाई दिएका थिए । यो विषयमा डा.मुरारिको विरोधचाहिं देखिदैैन । उनी उत्तरआधुनिक भनेर बोली हालेका छैनन् । त्यसैले पनि यो कृति परिवर्तनप्रति इमान्दार देखन्छ । कृतिकारलाई यो विषयमा धन्यवाद दिनु पर्छ ।
अन्त्यमा परिवर्तन आर्थिक उपरिढाँचा अनुसार हुन्छ । आर्थिक स्वतन्त्रताले व्यक्तिगत स्वतन्त्रता प्रदान गर्ने हुँदा व्यक्तिले आफ्नो निजत्वप्रति गर्व गर्न थाल्छ । माक्र्सवादलाई अधीनायकवादी शैलीमा अघि बढाउन चाहनेहरूले निजत्वलाई खुल्न र फुल्न दिंदैनन् । व्यक्तिगत स्वतन्त्रता मान्दैनन् । आत्म निर्णयको अधिकारको विरोध गर्छन् । त्यसैले पनि एकथरि माक्र्सवादीहरू नेपालको परिवर्तनलाई परिवर्तन नै ठान्दैनन् । बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद भन्नेहरू पनि तिनै अधिनायकवादीहरूको लहलहैमा लागेर परिवर्तनलाई उत्तर आधुनिक मूल्यको रूपमा चित्रण गर्न पुगेका छन् । व्यक्ति आत्म पहिचान खोज्छ । आत्म सम्मान खोज्छ । स्वायत्तता र स्वाधीनता खोज्छ । यसले नै देशको विशिष्ठता अनुरूप संघीयता,समावेशीकरणलगायतका मूल्यहरू स्थापित हुन्छन् । नेपालमा जुन परिवर्तन भएको छ त्यो नेपाली समाजमा विकास हुन लागेको पुँजीवादी जनवादी क्रान्तिको प्रभाव र बहुजातीय, बहुभाषिक बहु भौगौलिक विशेषताबाट आएको परिवर्तन हो । सामन्तवादबाट पुँजीवादतिर जाने क्रममा देखिने राजनैतिक विशेषताहरू यस्तै हुन्छन् । यही नै नव प्रगतिवाद हो । डा. मुरारि नव प्रगतिवादी धारका कवि हुन् । उनलाई हामी धन्यवाद दिन चाहन्छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार