बाँकेमा खुलेआम यौन व्यवसाय

रूपा गहतराज /नेपालगञ्ज । कैलालीकी मिना केसी ९ महिनाअघि नेपालगञ्ज आइन् । अन्तर्जातीय विवाह गरेकी उनले पतिको कुटाइ र यातना सहन नसकेर कामको खोजीमा नेपालगञ्जको होटेलमा काम सुरु गरिन् । भाँडा माझ्ने काम सुरु गरेकी उनले पछि आफ्नै शरीरको व्यापार सुरु गर्नुप¥यो । आफ्नै बाध्यताले काम गर्नुप¥यो ।

एउटा पुनःस्थापना केन्द्रको सेल्टरमा भेटिएकी ३७ वर्षिय मिना भन्छिन्– ‘सजिलै केही काम पाइँदैन । पेटका लागि पनि काम गर्नुपर्ने बाध्यता छ ।’ उनी मात्र होइन उनी जस्तै धेरै महिला कोही बाध्यता त कोही रहरले पनि यौन व्यापारमा लाग्ने गरेका छन् । नेपालगञ्ज र कोहलपुरमा १ वर्षदेखि यौनकर्मीको रूपमा मिनाले काम गर्दै आएकी छन ।

पतिले अर्काे विवाह गरेर बीच बाटोमा छाडेपछि छोरीको भविष्यका लागि काम खोज्दै उनी नेपालगञ्ज पुगिन् । सुरुमा होटेलमा सरसफाइको कामका लागि कोहलपुर पुगेकी २३ वर्षिय मिना रहरभन्दा पनि बाध्यताले यौनकर्मी बनिन् । उनी भन्छिन्– ‘रहरले त होइन छोरीको भविष्यका लागि आफ्नो शरीर बेच्दैछु ।’ पैसा कमाउनका लागि यौन नै बेच्नुपर्ने बाध्यता किन त ? उनले भनिन्– ‘काम गर्न न पढाइ छ न सीप छ, कसले दिन्छ काम ।’ तर उनको योजना फेरिँदै छ । घरमा माछा पालन गरेर छोरीलाई बोर्डिङ्गमा हाल्ने उनले योजना सुनाइन् ।

उनको जस्तै धेरै महिलाको समस्या यही हो । शिक्षित नभएका कारण राम्रो काम नपाएपछि तथा कम समयमा धेरै पैसा कमाउने महत्वकांक्षाका कारण धेरै महिला यौन व्यवसायमा भासिएका छन् । १८ वर्षिय मेघा रानाको हरेक रात होटेलमा बित्ने गर्छ । एक दिनमा ७ जनाभन्दा बढी पुरुषसँग उनले यौनसम्पर्क गर्ने गरेको बताइन् ।

सानैमा बालविवाह गरेकी मेघाले आमाले अर्काे विवाह गरेर छाडेपछि बुवाले समेत हेरविचार नगर्दा आफू यो अवस्थासम्म पुगेको बताउँछिन् । उनी भन्छिन्– ‘आमाले छोडेर जानुभयो बुवाले पनि अर्काे विवाह गरेपछि घरमा बस्न सकिन ।’ साथीको लहलहैमा लागेर सुर्खेतबाट रोजगारीका लागि उनी नेपालगञ्ज आइपुगिन् । कोहलपुरमा एक होटेलमा काम गर्दागर्दै उनी साहुले राति पनि काम गर्नुपर्छ भनेपछि यौनकर्मी बन्न पुगिन् । एसएलसीसम्म पढेकी उनले घरको अवस्थाका कारण अगाडि पढ्न पाइनन् ।

उनी भन्छिन्– ‘कसैको साथ पाएको भए यसरी काम गर्ने थिइन । म पनि मान्छे हो, मेरो पनि अनेकौं चाहना र आवश्यकता छन् ।’ त्यही आवश्यकताहरू कामले पूरा गर्न उनले यौन व्यवसाय अंगाल्न पुगिन् । तर उनको पढ्ने चाहना मरेको छैन । उनले आफू फेरि पनि पढाइलाई निरन्तरता दिने बताइन् ।
नेपालमा कानुनी रूपमा यौन व्यवसाय बर्जित छ । तर पनि लुकेर गरिने यो व्यवसाय फस्टाउँदो अवस्थामा छ । अधिवक्ता सुनिता शर्मा कति महिला बाध्यता र रहरमा यो व्यवसायमा लागेको बताउँछिन् । उनी भन्छिन्– ‘बाध्यताले लागेकाहरू होटेलका मालिकका विरुद्ध बोल्दैनन्, वेश्यावृत्ति विरुद्ध ठोस कानुन नहुँदा पनि यो समस्या मौलाइरहेको छ ।’

महिला बेचबिखनका विरुद्ध क्रियाशील संस्था साना हातहरू नेपालकी अम्बिका थापा सरकारको कानुनी प्रावधान फितलो हुनु, क्याविन डान्सबार, मसाज लगायतका अवैध धन्दा हुने अखडाहरूलाई बन्द गर्न नसक्दा यी महिलाहरू यौन व्यवसायमा भासिएको बताउँछिन ।
उनी भन्छिन्– ‘यौनकर्मी महिलाको पुनः स्थापनाको राम्रो पहल हुन नसक्नु जस्ता कारणहरूले गर्दा यो समस्या कम हुनुको सट्टा झन् झन् चर्किंदै गएको हो ।’

यता होटेल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापा फितलो कानुनका कारण यौन व्यवसाय फस्टाएको स्वीकार गर्छन् । उनी भन्छन्– ‘होटलमा आउनेहरूसँग वैवाहिक प्रमाणपत्र माग्ने विधान छैन । तर बिना इन्ट्री होटेलमा प्रवेश निषेध गर्नुपर्छ ।’ केही समययता बाँके तथा कोहलपुरमा ठुला ठुला होटेल खुल्ने क्रमसँगै यौन व्यवसाय पनि बढ्दै गएको छ ।

बाँके तथा आसपासका क्षेत्रमा खाजाघर, होटेलका नाममा यौन व्यवसाय संचालन गर्ने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले न्यु रातो भाले रेष्टुरेन्ट कोहलपुरबाट ४जना महिलालाई केही दिनअघि मात्रै नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार