अभिभावकत्व ग्रहण गर्न तछाड–मछाड

बुटवल । रूपन्देहीमा अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गर्ने लहर चलेको छ । प्रतिनिधिसभा, प्रदेश सभाका सदस्यदेखि स्थानीय जनप्रतिनिधिहरूले विपन्न समुदायका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेका छन् । रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित छविलाल विश्वकर्माले रोहिणी गाउँपालिकाकी सुरज कोइरीलाई भर्ना गराउँदै अभिभावकत्व ग्रहण गरेका छन् । स्थानीय नवजीवन आधारभूत विद्यालयको कक्षा चारमा भर्ना भएका सुरजको अभिभावक विश्वकर्मा बनेका हुन् । क्षेत्र नम्बर २ का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले तिलोत्तमा वडा नं. १ को सुकुम्बासी बस्तीकी सृष्टि विश्वकर्माको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् ।
नेपाल सरकारले सञ्चालन गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग गर्दै पौडेलले तिलोत्तमाको जनजागृति माविको कक्षा १ मा सृष्टि विश्वकर्मालाई भर्ना गरेका हुन् । पौडेलले सृष्टिको सम्पूर्ण पढाइ खर्च बेहोर्ने एमाले क्षेत्रीय समितिका संयोजक तेजेन्द्र केसीले जानकारी दिए ।
क्षेत्र नम्बर ३ का सांसद घनश्याम भुसालले केही दिनअघि मात्रै शुद्धोधन गाउँपालिकाका दुई बालकलाई विद्यालय भर्ना गर्दैै अभिभावकत्व ग्रहण गरेका थिए । प्रदेश सांसद डा. कृृष्णप्रसाद न्यौपानेले रोहिणीको नवजीवन आधारभूत विद्यालयमा मनोज केवटलाई भर्ना गरेर अभिभावकत्व लिएका छन् ।
रूपन्देहीमा राजनीतिक दल, विद्यार्थी संगठनका नेताहरूले पनि विद्यार्थी भर्ना गराएका छन् । मंगलबार अनेरास्ववियु रूपन्देहीले बुटवल प्रगतिनगर आधारभूत विद्यालयमा दश जना विपन्न समुदायका विद्यार्थी भर्ना गरेको छ । भर्ना अभियानका संयोजक सरोज पोख्रेलका अनुसार अनाथ, अपांग र गरिब परिवारका बालबालिकालाई भर्ना गरिएको हो ।
अनेरास्ववियु रूपन्देहीले बुटवल उप–महानगरपालिका वडा नं. ११ अवस्थित प्रगति निमाविमा १० जना विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच भर्ना गरेको छ ।
नेपाल सरकारले सञ्चालन गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग गर्दै अनेरास्ववियु रूपन्देहीले असहाय र गरिबीका कारण शिक्षाको पहुँचभन्दा बाहिर रहन बाध्य भएका विद्यार्थीहरूलाई भर्ना गरेको हो ।
अनेरास्ववियुले ऋतिका थापा र भरत चौधरीलाई कक्षा १ मा भर्ना गरेको छ । त्यस्तै रिता थापा, रोहन तामाङ्ग, सुकबहादुर थापा र उज्वल थापालाई कक्षा ३ मा भर्ना गरेको छ । त्यस्तै रमा थापा कक्षा ४, सपना चिदी कक्षा ६, जानकी सुनार कक्षा ७ र अमृत ठहराईलाई कक्षा ८ मा भर्ना गरेको विद्यार्थी भर्ना अभियानका जिल्ला सहसंयोजक बालकृष्ण पाण्डेले जानकारी गराएका छन् ।
अनेरास्ववियुले भर्ना गरेका विद्यार्थीमध्ये कोही बुवाआमा नभएका, कोही बुवा नभई आमा अशक्त, कोही विद्यार्थी नै अपाङ्ग, अशक्त जस्ता अत्यन्तै गरिब परिवारका विद्यार्थीलाई भर्ना गरेको पाण्डेले जानकारी गराएका छन् ।
अनेरास्ववियु रूपन्देहीले आयोजना गरेको विद्यार्थी भर्ना अभियानमा नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायी महासंघ रूपन्देहीले समेत सहयोग गरेको थियो । मंगलबार भर्ना गरिएका १० जना विद्यार्थीहरूको अभिभावकका रूपमा अनेरास्ववियु रूपन्देहीका जिल्ला अध्यक्ष लेखनाथ खनाल र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष त्रिलोचन ज्ञवालीले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूलाई कापी, किताब तथा स्टेशनरी सामग्री वितरण गर्दै प्रमुख अतिथिसमेत रहेका प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर मुलुककै प्रधानमन्त्री केपी शर्मा ओली आफैले विद्यार्थी भर्ना गरेर सुरु गरेको अभियान अहिले देशभरी नै चलेको बताएका थिए । उनले हरेक बालबालिकाहरूलाई अनिवार्य रूपमा शिक्षाको पहँुच पु¥याउनका निम्ति सरकारले यस्तो अभियान सञ्चालन गरेको बताउदै अनेरास्ववियुलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज बाबुराम पन्थीले अनेरास्ववियुले विद्यालय बाहिर रहेका विद्यार्थीहरूलाई भर्ना गरी बालबालिकाको भविश्य उज्वल बनाउने कार्य गरेको बताएका थिए ।
कार्यक्रम पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रूपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवालीको अध्यक्षतामा तथा अनेरास्ववियु केन्द्रीय सदस्य तथा विद्यार्थी भर्ना अभियान रूपन्देहीका संयोजक सरोज पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य बाबुराम पन्थी, प्रगति निमाविका प्रमुख सल्लाहकार जितबहादुर मल्ल, विद्यालयका प्राचार्य शिवकुमारी अर्याल, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ रूपन्देहीका प्रथम उपाध्यक्ष रामकृष्ण चापागाई, अनेरास्ववियुका जिल्ला अध्यक्ष लेखनाथ खनाल लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार