अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनप्रति प्रदेश प्रमुखको चासो

लुम्बिनी । भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उदगम भूमि तथा विश्वशान्तिको मुहान भन्ने मूल नाराका साथ यही वैशाख १५, १६ र १७ गते लुम्बिनी विकास कोषको आयोजनामा बुद्धजन्म स्थल लुम्बिनीमा हुन गइरहेको २५६२ औं बुद्धजयन्ती तथा दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनप्रति ५ नं. प्रदेश प्रमुख उमाकान्त झाले चासो देखाएका छन् ।
उनी मंगलबार पहिलो पटक पवित्र बुद्धजन्म स्थल लुम्बिनी पाइला टेकी २५६२ औं बुद्धजयन्ती तथा दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तयारीप्रति लुम्बिनी विकास कोषसँग औपचारिक रूपमा छलफल गर्दै विशेष चासो देखाएका हुन् ।
कोष पदाधिकारीहरूसँगको छलफल पश्चात पाँच नं. प्रदेश प्रमुख झाले बुद्ध जयन्ती तथा सम्मेलनलाई भव्यसभ्य र सहज ढंगबाट सम्पन्न गर्नका लागि कोषसँग आवश्यक सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
यसै गरी हिजो साँझ पख बसेको २५६२ औं बुद्धजन्यती तथा दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरक्षा समिति बैठकले तीन दिनसम्म लुम्बिनीको सुरक्षाका लागि राज्यको चारवटा सुरक्षा अंग प्रयोग गर्ने निर्णयसमेत भएको बौद्ध जयन्ती मूल कार्यान्वयन समारोह समितिका कार्यबाहक एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मित्रैय (अवधेश कुमार त्रिपाठी)ले जानकारी गराए ।
उनले ट्राफिक जाम कम गर्न सम्मेलन तथा बुद्धजन्यती अवधीभरि तीन दिनसम्म अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमान स्थलदेखि लुम्बिनी हुँदै तिलौराकोटसम्म औद्योगिक व्यवसायिक प्रयोजनका लागि चल्ने सवारीसाधनहरू राती मात्रै चल्ने गरी दिउँसो रोक लगाउने, रूपन्देही, कपिलबस्तु र नवलपरासी तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत लुम्बिनी बृहत्तर क्षेत्रभित्र धूलो, धुवाँ वायु तथा ध्वनी प्रदूषणयुक्त उद्योगहरू बन्द गराउने र लुम्बिनी बृहत्तर क्षेत्रका विभिन्न ठाँउमा स्वागतगेट निर्माण गरी बौद्ध झण्डासमेत राख्ने निर्णय भएको बताए ।
वैशाख १५ र १६ गते चिनियाँ बौद्ध बिहारको सभाकक्षमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा कोषद्वारा प्रदान गरिएका प्रवेश परिचय पत्रबाहेक अन्य आगन्तुक तथा सर्वसाधारणलाई सम्मेलन स्थलमा जान पाहुनाहरूको सुरक्षा दृष्टिकोणले रोक लगाइए पनि वैशाख १७ गते बिहानैदेखि बुद्धजयन्ती समारोहमा आम रूपमै बिनारोकटोक प्रवेश गराउने सुरक्षा समितिले गरेको निर्णयलाई कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार