वर्षमा ६९ करोडको विषादीको प्रयोग

कास्की । नेपालमा खपत हुने विषादीको पाँच भागको चार भाग विषादी तरकारीमा प्रयोग हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
बाली संरक्षण निर्देशनालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ पोखरा र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को संयुक्त आयोजनामा मंगलबार पोखरामा आयोजित ‘तरकारी र फलफूलमा विषादीको अवशेष र द्रुत विश्लेषण’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नेपालमा प्रयोग हुने विषादीको ८० प्रतिशतभन्दा बढी विषादी तरकारीमा मात्र प्रयोग हुनेगरेको तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालले नेपालमा हरेक वर्ष ६९ करोड बराबरको विषादी खपत हुने गरेको जानकारी दिए । उनका अनुसार सन् २०१५÷१६ मा ५७५ टन विषादी खपत भएको थियो ।
ढकालले नेपालमा एक हेक्टर जमिनमा प्रतिवर्ष ३९६ ग्राम विष प्रयोग हुने गरेको पनि जानकारी दिए । तर, तरकारीमा मात्र गणना गर्ने हो भने १ हेक्टर बराबर प्रतिवर्ष १ केजी ६ सय ५ ग्राम विषादी प्रयोग गर्ने गरिएको छ । यो दर हरेक वर्ष बढ्दै गएको उनको भनाइ छ ।
यद्यपि अन्य देशको तुलनामा नेपालमा प्रयोग भइरहेको विषादीको मात्रा न्यून रहेको उनको दावी छ । ढकालका अनुसार एक हेक्टर जमिनमा प्रतिवर्ष जापानमा ११ केजी, कोरियामा १६ केजी, इटालीमा साढे १३ केजी र छिमेकी देश भारतमा साढे ४ केजी विषादी प्रयोग गर्ने गरिएको छ ।
कार्यक्रममा बोल्दै निर्देशक ढकालले विषादी औषधि नभएको बताए । उनले भने–‘विषादी औषधि होइन, विष हो, त्यसैले यसको प्रयोगमा सचेत हुनुपर्छ ।’
विषादीले वातावरण र पानीलाई दूषित बनाउँदै पशु, पन्छी र मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने बताए । विषादीकै कारण परागसेचनमासमेत नकारात्मक प्रभाव परिरहेको र त्यसको उदाहरण माहुरीको संख्या घट्नुलाई लिन सकिने उनको भनाइ छ ।
विषादी प्रयोगका कारण क्यान्सरसमेत हुन सक्ने र मिर्गौला, कलेजो तथा मुटुमा प्रत्यक्ष असर गर्ने उनले उल्लेख गरे ।
विषादीको प्रयोग न्यूनीकरण गर्नुका साथै यसको वैकल्पिक उपायको रूपमा गैररासायनिक तथा जैविक विषादी प्रयोग गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उनले बताए । त्यसका लागि विषादीको प्रभावबारे सचेतना जगाउन आवश्यक रहेको र त्यसमा निर्देशनालय लागिरहेको उनको भनाइ छ । रासायनिक विषादी रक्सीजस्तै भएको बताउँदै उनले भने–’रासायनिक विषादी रक्सीजस्तै हो, यसले तत्कालै काम गर्छ तर क्षति पनि उत्तिकै गर्छ, तर जैविक विषादी घ्यूजस्तै हो, यसले बिस्तारै सकारात्मक काम गर्छ र दीर्घकालीन पनि, त्यसैले रासायनिक विषादी सकभर नगरौं, गरेपनि कम गरौं ।’ उनले विषादीको मात्रा ३५ प्रतिशतसम्म भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्मलाई केही दिन राखेर खानयोग्य र ४५ प्रतिशतभन्दा माथि विषादी भएमा त्यो खान अयोग्य अर्थात नष्ट गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नम्बर ४ का कृषि, वन, वातावरण तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले उपभोक्ता सचेत भएर अत्यधिक विषादी प्रयोग भएका वस्तु प्रयोग नगरिदिए किसान र व्यवसायीलाई विषादी प्रयोग नगर्न मनोवैज्ञानिक दबाव दिने बताए ।उपभोक्ता सचेत हुनेबित्तिकै उत्पादक किसान र व्यवसायी जैविक विषादी प्रयोग गर्न बाध्य हुने उनको जिकिर छ । उनले विषादी मापक मेसिन ल्याएपनि दक्ष जनशक्ति नहुँदा प्रयोगमा आउन नसकेको तितो यथार्थ जानकारी गराए ।
अब प्रादेशिक क्वारेन्टाइन र त्यो सँगसँगै प्रयोगशालासमेत राख्ने प्रयास भइरहेको उनले जानकारी दिए । उनले भारतबाट आयातित वस्तु नेपाल भित्राउँदा वा अर्को प्रदेशबाट प्रदेश नम्बर ४ मा खाद्य वस्तु भित्राउँदा प्रमाणीकरण गरिएको मात्र भित्राउनका लागि व्यवसायीलाई आग्रह गरे ।
वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुबेदीले विषादी प्रयोग गर्नै नहुने वस्तु नभएको बताउँदै बरु यसको प्रयोग गर्दा कुन समयमा हाल्ने, कति हाल्ने, कति पटक हाल्ने तथा विषादी हालेको कति समयपछि मात्र खान योग्य हुन्छ भन्नेबारे जानकारी लिएर मात्र विषादी प्रयोग गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार