प्राचीन कपिलवस्तुमा एक सातासम्म बुद्ध जयन्ती मनाइने

किरणमान बज्राचार्य / कपिलवस्तु  । प्राचीन कपिलवस्तुमा २५ सय ६२ औं बुद्ध जयन्तीको तयारी तीव्र पारिएको छ । भगवान गौतम बुद्धले २९ बर्षीय युवा अवस्था जीवन व्यतित गरेको प्राचीन कपिलवस्तुलाई विश्वभर पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिने बुद्ध जयन्तीको तयारीलाई तीव्रता दिइएको हो ।
२५ सय ६२ औं बुद्ध जयन्ती मूल समारोह समिति कपिलवस्तुले मंगलबार तौलिहवामा राखेको पत्रकार सम्मेलनमा कपिलवस्तुमा बैशाख १२ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ मनाइने जनाइएको छ ।
त्यसका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको समिति संयोजक तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । लुम्बिी विकास कोषको अग्रसरतामा बैशाख १२ र १३ गते जिल्लाका ७ वटै पुरातात्विक स्थलहरूमा सरसफाई गर्ने, १६ र १७ गते सातवटै पुरातात्विक स्थलहरू एवं नगर क्षेत्रभित्र दीप प्रज्ज्वलन गरिने उनले जानकारी दिए ।
अस्पताल तथा बालगृहका बालबालिकाहरूलाई फलफूल वितरण गरिने, बैशाख १३ नगर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र १४ गते चित्रकला प्रतियोगिता संचालन गरिने मूल समारोह समिति सदस्य भक्तिराम पन्थीले बताए । फोटो पत्रकार संघ कपिलवस्तु र भिजुअल आर्टिस्ट गैंडाकोटको संयोजनमा तिलौराकोटमा बैशाख १६, १७ र १८ गते बुद्ध चित्र प्रदर्शनी गरिने छ ।
स्थानीय बिहारहरू एवं बौद्ध मन्दिरहरूमा बुद्धपूजा गरिने सदस्य अमृत चन्द ठाकुरले बताए । बैशाख १५ गते बाल मन्दिरमा बाल ध्यान शिविर आयोजना गरिने, १६ गते भिक्षुहरूलाई भोजनदान कार्यक्रम र १८ गते लुम्बिनीबाट बेबी बुद्धको र्याली एवं शोभायात्रा ल्याइ तिलौराकोटमा समापन गरिने सदस्य कमला सापकोटाले बताइन् ।
बुद्ध जयन्तीको अवसरमा बैशाख १२ र १३ गते तौलिहवामा क्रिकेट प्रतियोगितासमेत आयोजना हुने जनाइएको छ । ‘लुम्बिनी नेपालः बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान’ भन्ने मूल नाराका साथ आगामी बैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ । जिल्लामा पर्यटन÷पुरातात्विक सम्पदाको जर्गेना, उद्धार तथा प्रचार प्रसारमा कलम चलाउने पत्रकारलाई सम्मानसमेत गरिने संयोजक ज्ञवालीले बताए ।
प्राचीन कपिलवस्तुमा हुने बुद्धजयन्ती तथा बेबीबुद्धको स्वागत÷समापन कार्यक्रममा वर्तमान सरकारका कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) र प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी क्रमशः प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा आगमन हुने समिति सदस्य दिपक पाण्डेले बताए ।
मूल समारोह समिति सदस्य भक्तिराम पन्थी, दिपक पाण्डे, माया ज्ञवाली, भोजराज खनाल, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायतको सहभागिता रहेको कार्यक्रममा २५ सय ६२ औं बुद्ध जयन्ती मूल समारोह समिति कपिलवस्तुका संयोजक राजेश ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रम संचालन माधवराज आचार्यले गरेका थिए । यस पटक बुद्ध जयन्ती मनाउन कोषको ५ लाख रूपैयाँ विनियोजित भएको ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार