छोराको हत्या बारे बाबुको बयानः ‘मनोज पुन देखावा थियो’

बुटवल  । निलकण्ठ पौडेल, रूपन्देहीको देवदहका एमाले नेता हुन् । गत २१ पुसमा उनका छोरा वसन्त पौडेलको हत्या भएको थियो । हत्याको मुख्य योजनाकार देवदहकै मनोज पुन र सहयोगी सोम आले प्रहरीसँगको इन्काउन्टरमा मारिएका थिए । त्यसपछि पनि प्रहरीले हत्याका लागि पुनलाई सहयोग गरेको आरोपमा एमाले र माओवादी केन्द्रका नेताहरूलाई पक्राउ गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेपछि पार्टीपंक्तिमा एकखालको हलचल मच्चिएको छ । अधिंकाशले सार्वजनिक अभिव्यक्तिमा पार्टी पंक्ति अपराध संरक्षणका लागि सक्रिय गरेको आरोप लगाएका छन् ।
यही सेरोफेरोमा अपराध, समाज र राजनीतिका बारेमा छलफल गर्नका लागि देवदहकै एमाले नेताहरू सिद्धिचरण भट्टराईलगायतले बुटवलस्थित एमाले प्रदेश नम्बर ५ कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेका थिए । पार्टी कार्यालयमा हुने कार्यक्रममध्ये सबैभन्दा न्यून उपस्थिति हुनेमध्येकै एउटा कार्यक्रम थियो त्यो कार्यक्रमको उपस्थिति। पार्टीमा आवद्ध भएकाहरू कसैको समर्थन र विरोधमा उभिन नचाहेको संकेत देखिने कार्यक्रममा उपस्थित सहभागीहरूले भने एमालेमा अपराधको संरक्षण हुन थालेको र त्यो जिल्लादेखि केन्द्रीय तहसम्मै समस्या रहेको औंल्याए ।
सोही कार्यक्रममा बोल्नेमध्येका एक थिए निलकण्ठ पौडेल । जसले आफ्नो छोरा मारिनुको कारण र पार्टीमा बढेको अपराधको बारेमा केही घटनाक्रमहरू सुनाए । उनले सुनाएका कुरा कति सत्य हुन् त्यो प्रहरी, एमाले र घटनामा संलग्नहरू नै बढी जान्दछन् । तरपनि, उनले उठाएका विषयहरू रूपन्देही र मुलुकमा मौलाउँदै गएको अपराधको संरक्षण गर्ने अरू कोही नभएर राजनीतिक दलका नेताहरू नै हुन् भन्ने प्रष्ट पार्छ । राजनीतिलाई शुद्धिकरण गर्नका लागि उनका विचारहरू महत्वपूर्ण हुन सक्छन् भन्ने सकारात्मक सोंचका साथ उनका विचारलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । –सं.
स्थानीय तहको निर्वाचनमा म उम्मेदवार बनेँ । म प्रचारप्रसारमा लागेँ । त्यसैबीचमा मलाई मनोज पुनले दिनमा दुई तीनपटक फोन गर्न थाल्यो, टर्चर गर्न थाल्यो । पैसा चाहियो । पैसा दे नत्र मार्दिन्छु भन्न थाल्यो । ११ दिनसम्म म उम्मेदवार थिएँ । त्यो बीचमा मेरो छोराले सिम चेन्ज ग¥यो । त्यो हाम्रा आदरणीय नेताहरू सबैलाई थाहा छ ।
यहाँको एसपी, डीएसपी सबैलाई थाहा छ । ११ दिनपछि मेरो उम्मेदवारको टिकट कता गएछ थाहा भएन । के कारणले गयो मैले अहिलेसम्म जान्न सकेको छैन । कुनै नेताले भन्न सक्दैन कि यो कारणले तेरो टिकट चेन्ज भएको हो । सायद मैले नेताहरूको चाकडी गर्न सकिन होला, म अहिलेसम्म कुनै नेतालाई लिन एयरपोर्ट गएको छैन, कुनै नेताको होटलको बिल तिरेको छैन । यसअघिको संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ मा कमरेड छविलाल विश्वकर्मा चुनाव लड्नुभएको थियो । उहाँ चुनाव लड्दाको ऋण थियो ।
मलाई मेयरको टिकट दिइसकेपछि त्यो ऋण तिरिदिनुपर्छ भन्ने शर्त राखिएको थियो । ठीकै छ, पार्टी त्यस्तो खालको बनेछ, मैले आफ्नो जीवन गुजारेँ यही पार्टीमा, दुःख पाएँ, तर पनि अहिले मेयरकोे टिकट लिँदाखेरि पैसा तिर्नुप¥यो भने ठीकै छ भनेँ । तर पछि सायद त्यतिले पुगेन होला, अरू धेरै दिने साथी फेला परेहोलान्, त्यसैले मेरो टिकट खोसियो । अहिले तिनै नेताले भन्न सक्नुपर्छ, टिकट यो कारणले खोसिएको हो भन्ने हिम्मत गर्न सक्नुपर्छ । मेरो टिकट खोसिएपछि मनोज पुनको फोन आउन छोड्यो । सायद उसले पनि थाहा पाए होला ।
उसले चाहेको व्यक्तिले टिकट पायो भनेर होला, फोन आउन छोड्यो । र, हामीले पनि सोच्यौं, अब त केही हुँदैन होला । पार्टीले, नेताले चाहेका मान्छेहरू उम्मेदवार भएका छन्, चुनाव लड्छन् । हामीलाई केही नहोला भन्दाभन्दै पनि मैले कमरेड विष्णु पौडेल, कमरेड लिला गिरी, जिल्ला कमिटीका अध्यक्ष शिवराज सुवेदी, केन्द्रीय कमिटीको अध्यक्ष केपी ओलीसमक्ष मैले दृष्टान्त लेखेर दिएको थिएँ ।
यो चुनाव यहाँको मेयरले जिते पनि हारे पनि मेरो परिवार र मप्रति कुनैपनि बेला घटना घट्न सक्छ भनेर लेखेरै दिएको छु । सबैले भन्नुहुन्छ भने म त्यसलाई सार्वजनिक गर्न पनि सक्छु ।
धेरै छन् मसँग यस्ता, त्यसपछि वास्ता गरिएन । तैले यो किन लेखिस् पनि भनिएन । म क्षेत्रीय कमिटीको अध्यक्ष हुँदाखेरि बैठकमा छलफलको विषय बनाउन सक्थिनँ । छलफलको विषय बनाउने बित्तिकै मनोजले थाहा पाउँथ्यो । दिउसो कमिटीको बैठकमा बसेँ भनेँ बेलुका मनोजले थाहा पाउँथ्यो । जतिबेला मेरो छोरालाई गोली हानेर मारियो, त्यतिखेर सुरक्षा समितिको बैठक बस्यो । एसपी, हाम्रा केन्द्रीय कमिटीका कमरेडहरू हुनुहुन्थ्यो । मैले भनेकै थिएँ त्यसो भए मनोजले थाहा पाउँछ ।
नभन्दै भोलिपल्ट मनोजले फोन ग¥यो । भनेपछि हाम्रै बीचमा छन् । हामीभित्रै छन् । मैले म असुरक्षित छु भनेर लेखेरै दिएको थिएँ । तर यो पार्टीले, म अहिले पनि नेकपा एमालेकै हुँ, पार्टी बेठीक छ भन्या छैन मैले । त्यसका केही नेता कार्यकर्ता बेठीक छन् ।
लेखेर दिइसकेपछि वास्ता गरिएन, त्यसपछि स्थानीय निर्वाचन भयो । म गाविस अध्यक्ष पनि भएको र दक्षिण भेगका घरघरका मान्छे जानेको छु । दक्षिणतिरको ६ वटा वार्डको जिम्मा मलाई दिनुभएको थियो । मैले पार्टीलाई जिताउँछु । म स”र्य चिन्हलाई जिताउँछु भनेर लागेँ । ५ वटा वार्डमा जिताएँ । एउटामा उम्मेदवार आफ्नै कारणले हारे । त्यो कुरा वडा कमिटीको समीक्षा बैठकको प्रतिवेदन हेरे पनि हुन्छ । सारा जित्यो, मेयर हा¥यो । मलाई जिम्मा दिएका वडाहरूमा सबैमा मेयरलाई कहाँ कम भोट आएको छ ? मेयरको आफ्नै वडामा ११३ भोटले हा¥यो ।
त्यसपछि पार्टीले उठाएको, टिकट किन्न सफल भएको मेयर । उसले जाँड खाएर साथीहरू पिट्दै हिंड्न थाल्यो । मलाई हराउने वसन्त पौडेल बलु हो । यसलाई चुनावपछि देखाइदिन्छु भन्यो । त्यसपछि समीक्षा बैठक बोलाइयो ।
त्यो योजनाबद्ध तरिकाले बोलाइएको रहेछ । मैले भनेँ, यो समीक्षा बैठक हुन सक्दैन । न यहाँ क्षेत्रीय कमिटीको मान्छे कोही छ, न वडा कमिटीको कोही छ, गैरपार्टीका मान्छे छन् । समीक्षा गर्ने कसले हो ? निर्वाचन परिचालन गर्ने कमिटीले समीक्षा गर्ने हो । र, हामीले समीक्षा बैठक बस्दाखेरि छविलाल विश्वकर्मा, लिला गिरी या विष्णु पौडेल नआइकन, घनश्याम भुसाल नआइकन समीक्षा बैठक हुँदैन भनेका थियौं । नेताहरूको त्यहाँ जाने हिम्मत भएन ।
त्यहाँ गएपछि के कारणले टिकट दिइयो, के कारणले खोसियो, त्यसको कारण त देखाउनुप¥यो नि ।
गैरपार्टी सदस्यहरूको जमघट देखेँ त्यसपछि कृष्णजीलाई मैले भने यो समीक्षा बैठक हुन सक्दैन । यसलाई रोकौँ भन्दाभन्दै उहाँले शुरु गर्नुभयो । कार्यक्रम सिद्धिजी (सिद्धिचरण भट्टराई)ले सञ्चालन गर्नुभयो । त्यही बेला तलबाट आक्रमण भयो । अघिल्लो रोमा निर्वाचित महिला सदस्यहरू बस्नुभएको थियो । उहाँहरूले मलाई रोक्नुभयो र छेक्नुभयो । उहाँहरूले मलाई तल झार्दिनुभयो । त्यो दिन केके हुन्थ्यो थाहा छैन । सिद्धिजीलाई एकैचोटि आक्रमण गर्दा यम रानाको टाउकोमा परेछ । टाउको फुटेको कुरा त साथीहरूले थाहा पाइसक्नु भएको छ । त्यसपछि म निक्लेर तल गएँ । त्यसपछि मैले जिल्ला कमिटीमा लेखेर दिएँ ।
हिजो मैले जे भनेको थिएँ आज त्यही भइरहेको छ । त्यत्तिले मात्र शान्त हुँदैन देश । मेरो परिवारप्रति कुनै पनि बेला आक्रमण हुन्छ भन्ने पत्र जिल्ला कमिटीमा दिएको थिएँ । त्यो पत्र त्यहीँ छ । हाम्रो सुरक्षा कसले गर्छ ? हामी पार्टीमा के भनेर लाग्ने ?
चुनावमा भनेँ– मलाई हेर्नुस्, तपाईमा पनि टिकट नपाएपछि केही विवादका कुराहरू आए होलान्, नकारात्मक सोच पनि आए होलान्, मलाई हेर्नुस् केही पनि भएको छैन त । तपाईहरूलाई त केही भएको छैन । म त ११ दिन मेयर भएर निस्केको मान्छे हो । म अहिले पनि चुनावमा लागेको हुँ भने तपाइँहरू पनि लाग्नुस् । यहाँ एकजना वडा अध्यक्ष आउनु भएको छ । उहाँलाई थाहा छ म कसरी लागेँ भन्ने कुरा ।
पटकपटक भनेको थिएँ, मेरो घरमा कुनैपनि बेला आक्रमण हुन सक्छ । त्यो आक्रमण हुनुको कारण केहो भन्दा क्षेत्र नम्बर १ मा निलकण्ठ पौडेललाई माइनस गरेपछि हाम्रो राज चल्छ भन्ने सोँच भएका ठेक्का पट्टावालाहरू, गाईगोरु तस्करहरूको बिगबिगी चलाउनको लागि हो । मेरो अवस्था के छ त्यो मलाई थाहा छ । एउटा मात्र सन्तान गुमाउनुको पीडा तपाई सोच्न सक्नु हुन्छ ।
अहिले मनोज पुन मारिएका छन् । मनोज पुन त एक देखावा हो । मनोज पुन आएर कसैलाई गोली हानेको छैन । न दुर्गा तिवारीलाई मनोज पुनले हान्यो हो, न त बलुलाई नै हान्या हो । मनोज पुनको आडमा, उसलार्ई जिम्मा लिईदिएबापत पैसा दिइएको छ । मार्नेलाई पैसा दिइएको छ । मिलाउनेलाई पैसा दिइएको छ । कसले गरेको छ । बल्ल १–२ जना देखिए भन्ने मात्र त हो । त्यत्ति मात्र होइनन् साथीहरू । धन्न पुलिसले मनोजलाई इन्काउन्टरमा मारेपनि ल्यापटप, मोबाइल र डायरी फेला पा¥यो ।
हाम्रै पार्टीभित्र अपराधी छन् । ती व्यक्तिलाई कारबाही गर्नुप¥यो भनेर सिद्धिचरणले आवाज उठाए, पार्टीले उनलाई कारबाही ग¥यो ।
सायद यहाँ पार्टी सदस्यहरू आउनुभएको छ होला पार्टीले तपाईँहरूलाई पनि कारबाही गर्ला । यस्तो खालको जिल्ला कमिटी छ यहाँ ।
अपराधी हाम्रै पार्टीभित्र छन् । अपराध गर्दछन् । यसलाई रोक्नुपर्छ, शुद्धिकरण गरेर लानुपर्छ भन्ने मान्छेलाई कारबाही हुन्छ । लाज लाग्दैन । प्रहरीले सार्वजनिक गरिएका मान्छेलाई हाम्रो जिल्ला कमिटीका अध्यक्ष शिवराज सुवेदीले सेतो कागजमा वक्तव्य निकाल्नु भएको छ । शायद जिल्ला कमिटीसँग लेटरप्याड र छाप छैन होला । लाज लाग्नुपर्ने हैन ? हामीले तिरेका लेबीले छाप र स्ट्याम्प प्याड बनाउन त सकिन्थ्यो होला नि । त्यो औपचारिकता निभाएको हो, नाक छोपेको हो आफ्नै । लाज लाग्दैन उहाँहरूलाई ।
मैले बोलिरहँदा बिना प्रमाण बोलेको छैन । तपाइँहरू प्रमाण हेर्नुस् र बोल्नुस् भनेँ । आज मनोज पुनले जिम्मा लिएको छ । मार्ने मान्छे अर्कै छ । व्यवस्थापन गर्ने अर्कै छ । संयोजन गर्ने को हो त ? त्यो व्यक्ति बाहिर आउने कि नआउने त ? अहिले हाम्रो वाम गठबन्धनको सरकार छ र हाम्रा पार्टीका मान्छे मरिरहेका छन् । यसको खोजिनिधि कसले गर्छ ? म बोल्छु, भोलि मलाई पार्टीले कारबाही गर्छ हेर्र्नुहोला ।
निलकण्ठ पौडेलले पार्टी छोड्यो रे भन्ने हल्ला सुनिसकेको छु । मलाई थाहै छैन । किन छोड्ने मैले पार्टी ? त्यो भन्ने त्यही रेकी गर्ने मान्छे हुन् ।
वसन्त पौडेल कतिखेर गाडी लिएर आउँछ । मेरो छोराले किनेको गाडी डेढ महिना भएको थिएन् । त्यो फोटो मनोजको ल्यापटपमा देखियो । कस्ले पठायो फोटो ? मनोज आयो त खिच्न ? तपाईले अलिक चर्को आवाज उठाउनुभयो भने तपाई पनि मर्न सक्नु हुन्छ । मनोज गएपनि उसका चेला अझै छन् ।
मेरो छोरो नम्बर मिचिएर म¥यो । दुर्गा तिवारी पहिलो नम्बरमा मर्छ, दोस्रो नम्बरमा सिद्धिचरण मर्छ, तेस्रो नम्बरमा वसन्त पौडेल मर्छ र चौथो कृष्ण पौडेल मर्छ । हामीले भनेकै थियौं, नम्बर लागेकै थियो ।
स्थानीय निर्वाचनले गर्दा मेरो छोरोलाई दोश्रो नम्बरमा मा¥यो । यो पार्टीलाई थाहा छैन ? यो पार्टीका नेतालाई पनि थाहा छैन ? कस्ले हो संरक्षण गर्ने ? त्यसकारण हामी जति पनि छौं, हामीले यो पार्टीलाई शुद्धिकरण गरेर लैजान सकिएन भने अपराधी अझैपनि हाम्रो पार्टीमा आएर हामीलाई नै सिध्याउनेछन् । यो कार्यक्रम गरेवापत् सिद्धिलाई फेरि कारबाही होला, फेरि ६ महिना बढ्ला । फेरि सुन्न पाइएला । यहाँ आउनुभएका पार्टी सदस्यहरूले पनि ख्याल गर्नुहोला, तपाईँलाई पनि पार्टीले कारबाही गर्ला । हाम्रो पार्टी यो स्थितिमा पुग्यो ।
म त्यही पार्टी देखेर लागेको हुँ । ३३ सालमा २३ वर्षको लक्का जवान थिएँ । मैले जिन्दगीमा जागिर पनि गरिन, नोकरी गरिन । ठेक्कापठ्ठा केही गरिनँ । मात्रै पार्टी भनेर हिँडेँ । क्षेत्र नम्बर १ का सबैलाई सोधे हुन्छ । म सधै झोला बोकेर हिँडे पार्टीको । एमाले भए निलकण्ठ हो भनेर चिन्ने अवस्था पनि आयो ।
तर मैले त्योवापत् पाएँ के भन्दा मेरो छोरो गुमाएँ । कुनै आन्दोलनमा गएर मरेको हुन्थ्यो भने, कुनै लडाईँमा मरेको हुन्थ्यो भने मलाई गर्व गर्थेँ । तर आज जसलाई मैले सर्वस्व ठानेँ त्यहीँबाट मेरो छोरो गुमाएँ ।
मेरो परिवारमा के भएको होला ? उसकी आमा छ, श्रीमती छ, छोराछोरी छन् । उनीहरूको मनमा के भएको होला ? बुवा राजनीतिमा नलाग्दिएको भए त मेरो बुवा मर्दैनथ्यो होला नि । ती नातिनातिनाले भन्छन् । मेरो श्रीमान् पार्टीमा नलागेको भए त मेरो छोरो मर्थेन, आमाले भन्छे घर । बुहारीले भन्छे घर । भन्नुस् त, म प्रति कति घटेको रहेछ घटना । र पनि म, फेरिपनि पार्टी भन्दै हिँडेको छु । त्यसकारण मैले मलाई लागेको कुरा साथीहरूलाई सेयर गरेँ ।
र, आन्दोलनको कुरा गर्नुहुन्छ भने टटेराको गंगालक्ष्मी श्रेष्ठको जग्गाको बारेमा शुरुदेखि अन्त्यसम्मको फेहरिस्त मसँग छ । किनकी त्यहाँ मेरो बुवा १८ सालमा आएको, म २४ सालमा आएको मान्छे हुँ । सबैको बारेमा थाहा छ । सिद्धि कमरेडलाई सारा कुराको डकुमेन्ट उपलब्ध गराउने मान्छे म हुँ ।
जतिखेर दुर्गा तिवारीको हत्या भयो । शुरुमा विधान लेख्नेदेखि लिएर पनि शुरुमा देवेन्द्र कमरेडसित आएर पनि मस्यौदा लिएर त्यो तयार गरेको हुँ । पछि ममाथि नै बज्रपात् भयो । त्यसपछि सिद्धिजी अब यो तपाइँले चलाउनुस्, म बाट सम्भव छैन भनेर छाडँे ।
मनोज पुन, बमबहादुर आले, लेखनाथ न्यौपाने, केशव घिमिरे समेतको हस्ताक्षर भएको कागज, तमसुक ९ वटा छ मसँग । त्यो १ प्रति पार्टी कार्यालयलाई र सिडिओ कार्यालयमा बुझाएको छु ।
भनेपछि हामीले त्यतिखेरबाट हाम्रो अपराध के हो, अहिले त्यहाँ वसन्त पौडेल त युवा संघमा थियो । मेरो पार्टीमा लागेको कारणले, मेरा कामले मेरो छोरो मारिएको हैन, मेरो अपराध के थियो ? मेरो अपराध यही थियो कि मैले गलत गर्नु हुँदैन, अन्याय, अत्याचार गर्नुहुँदैन, ठगेर खानुहुँदैन, चोरी तस्करी गर्नुहुँदैन, मानव वेचविखन गर्नुहुँदैन भनेँ ।
त्यसको परिणाम आज मैले भोगेँ । पार्टी त मैले देखेकै छैन । कहाँ छ कहाँ छ । मैले हिजो जुन पार्टी देखेर आएको थिएँ, आज यस्तो सम्म पार्टी देख्नुप¥यो जीवनमा । मैले मेरा कुरा यत्ति सेयर गरेँ । धन्यवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार