संघीयता महंगो भयो : चित्रबहादुर

बटौली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाडो बनाइएको बताएका छन् ।
सत्तामा बसिरहन मन पराउने कांगे्रस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाईखाने उद्योग बनाएको दावी उनले गरेका छन् ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै केसीले राजनीति गर्ने मान्छेहरु जोगी हुन पनि तयार हुनुपर्ने बताए ।
उनले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरेसम्म देश सुध्रन नसक्ने उल्लेख गर्दै व्यक्तिहरु मोटाउदै जाने र देश टाट पल्टिने बताए । केसीले कांगे्रस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउँदै गएको बताए ।
राजनीति गर्ने मान्छेहरु नसुध्रिएसम्म देशमा भ्रष्टाचार, कालोबजारी, अराजकताको अन्त्य हुन नसक्ने र सुशासन पनि कायम हुन नसक्ने बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुराउन नसक्ने बताए ।
संघीय प्रणालीको आफूहरु विरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको विरोध गरिएको बताए ।
पहिला संघीयता चाहनेहरु अहिले पछि हट्न थालेको बताए । तराईलाई पहाडबाट अलग गराई नेपालमा अस्थिर कायम गर्नका लागि भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता र क्षेत्रीयता भित्राएर नेपाललाई रुवाण्ड बनाउने गरी पश्चिमाहरुले नेपालमा संघीयता ल्याउन चाहेको केसीले बताए ।
केसीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारण्टी राज्यले गर्नुपर्ने बताउँदै राज्यले जनताप्रतिको आफ्नो दायित्व पूरा गर्न नसकेको बताए । उनले मन्त्री, सांसद र कर्मचारीहरुनै सहकारी, बैंक, शिक्षण संस्था, एनजीओ, आईएनजीओको ठेक्का पट्टामा लागेकाले सबै क्षेत्र डुब्दै गएको बताए ।
एनजीओ, आईएनजीओले नेपालमा समान्तर सरकार चलाएको बताउँदै उनले भने – एनजीओ र आईएनजीओहरु जातीय र क्षेत्रीय भारी बोकर आएका छन् ।
उनले शिक्षा, स्वास्थ्यलाई नीजिकरण गरेर समाजवादको सपना देख्ने एमाले, माओवादी र कांगे्रसबाट ठूलो आशा गर्न नहुने बताए ।
सोही कार्यक्रममा बोल्ने अखिल नेपाल शिक्षक संघका नेताहरुले पेशागत सुरक्षाको माग गरेका छन् ।
संघका केन्द्रीय अध्यक्ष सानोभाई कार्कीले अहिलेको शिक्षाले २१ औं शताब्दीको चुनौतीहरुको सामना गर्न नसक्ने बताए ।
कार्यक्रममा शिक्षा विभाग प्रमुख बोमबहादुर खत्री, संघका पूर्व अध्यक्ष नरेन्द्र थापा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका धादिन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, जनजाति सम्मेलनका हनुमान चौधरी, अखिल नेपाल युवक संघका कोषाध्यक्ष बाबुराम आचार्य, उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज पौडेल, वामवन्थी बुद्विजीवी दुर्गानाथ खरेललगायतले बोल्दै शिक्षामा आमूल परिवर्तन हुन आवश्यक रहेको बताए ।
संघका अध्यक्ष सानुभाई कार्कीको अध्यक्षता र महासचिव चक्रपाणी पौडेलको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न जिल्लाका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार