खुल्दैछ पुनको अपराध सञ्जाल

बुटवल ।रूपन्देहीको देवदहका कुख्यात डन मनोज पुनको अपराधिक सञ्जाल फिल्मी शैलीमा खुल्दै गएको छ । युवाहरुको समूह बनाएर ढुंगा, गिट्टी, बालुवाको ठेक्कापट्टामा हिस्सा खोज्न थालेका पुनले अपराध जालो १० वर्षमा उद्योगी व्यवसायीदेखि राजनीतिक दलका नेताहरुसम्म पुगेको भेटियो ।

०६४ सालपछि जिल्लास्तरका ठेक्कापट्टामा हस्तक्षेप गर्न थालेका पुन सानातिना अपराधलाई लुकाउन दलका भ्रातृसंगठनमा आवद्ध थिए ।
कुनैबेला माओवादी केन्द्रनिकट वाईसीएल र एमालेनिकट युथ फोर्समा आवद्ध भएका पुनले त्यसभन्दा माथि पुगेर दलका नेता र कार्यकर्तालाई आफ्नै समूहमा आवद्ध गर्दै अपराध कर्मलाई विस्तार गरेको जालो प्रहरीले खोतल्दै गएको छ ।

‘मनोजले अपराधलाई यसरी विस्तार गर्दै रहेछ कि अहिले यो सञ्जाल नतोडिएको भए यसले केही वर्षमा भयानक रुप लिइसक्ने रहेछ,–मनोज पुनको अपराध सञ्जाल भत्काउन खटिएका रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने ।

ज्ञवालीका अनुसार मनोजको समूहले बुटवल र देवदह क्षेत्रमा मात्रै हैन, काठमाडौं र देशका मुख्य शहरहरुमा समेत आफ्नो सञ्जाल विस्तार गर्दै थियो । गत चुनावअघि नै पर्दाफास हुने सञ्जाल दलका केन्द्रीयस्तरका नेताहरु समेत संलग्न रहेको फेला परेपछि रोकिएको मनोज पुनको अपराधको अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकारी बताउँछन् ।

‘चुनावअघि नै यी सबै विषयमा प्रहरीको अनुसन्धान एउटा तहमा पुगेको थियो, उनी भन्छन्–त्यो बेला चुनावलाई असर गर्छ भनेर दलका नेताहरुले नै प्रहरीलाई अघि बढ्न दिएनन्, अहिले यसरी त्यो सञ्जालको रहस्य खुल्दै जाँदा सबै आश्चर्यचकित भएका छन् ।’
मनोज पुनको अपराध सञ्जाल तोड्न रुपन्देही प्रहरी मात्रै हैन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीसमेत कैयौं दिन खटिए ।
दिनभर हत्याको विरोध, रातभर हत्याका योजनाकारलाई साथ

दलमा आवद्ध नेता कार्यकर्ताको भूमिका फिल्मी शैलीमा अनौठो पाइएको छ । ‘मनोज पुनले धम्क्यायो, मलाई सुरक्षा दिनुप¥यो भन्ने, हत्यापछि सबै गोप्य बैठकहरुमा जाने र चर्को विरोध गर्ने, मनोज पुनलाई पक्राउ गरेर ल्याउन सघाउने वचन दिने गर्ने गर्थे,–प्रहरी प्रमुख ज्ञवाली भन्छन्–मनोज पुनले धम्क्याउँदै मलाई यतिबेला फोन गर्छु भनेको छ भन्दै हामीसँग आउने, फोन आएपछि कुराकानी पनि गर्ने तर एक्लै भएको बेलामा सबै कुरा पुनलाई बताउने गर्दा रहेछन् ।’

प्रहरीले फेला पारेको अडियोमा पुनलाई सुजु मल्लले रुपन्देहीका व्यवसायीहरुको सूची र फोन नम्बर टिपाएका छन् । अडियो संवाद् उदृत गर्दै प्रहरी प्रमुख ज्ञवालीले भने–उत्तमलाई तिहार खर्च भनेर ५ लाख दिने र त्यसको चेक सुजुले काट्नेसम्मका कुरा छन्, हरि श्रेष्ठलाई मनोजले फोन गरेर धम्क्याउने, रकम माग गर्ने र हरिले रकम पठाइदिने अनि त्यही रकम मनोजले फिर्ता पठाउने कुरा छन् ।’

डायरीमा फिरौती माग्नेको उद्योगी व्यवसायीको सूची
प्रहरीले मनोज पुनसँगबाट बरामद गरेका डायरीहरुमा फिरौतीका लागि सूची बनाएको भेटिएको छ । प्रहरीसँग रहेको डायरीमा उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतको नाम, ठेगाना, फोन नम्बर रहेको सूची छ । जसका आधारमा पुनले फिरौती माग्दै आएको प्रहरी प्रमुख ज्ञवालीले बताए ।

‘पश्चिम क्षेत्रका करीब ४ सय उद्योगी व्यवसायीको सूची डायरीमा टिपिएको छ’–उनले भने–‘ती व्यक्तिसँग नियमित सम्पर्क गरी धम्कीपूर्ण रुपमा फिरौती माग्ने र पैसा असुली गर्दै आएको देखिन्छ ।’ डायरीमा पूर्व इलामदेखि पश्चिम अत्तेरियासम्मका उद्योग व्यवसायीको नाम र ठेगानाको सूची बनाएर राखेको प्रहरीले बतायो ।

कहाँ गयो करौडौं रकम ?
मनोजले धम्क्याएकै कारण लुम्बिनी क्षेत्रका दर्जनौं उद्योगी व्यवसायीले रकम दिएका छन् । तर उनीहरुले दिएको रकम कहाँ छ भन्ने कुरा बाहिर आउन सकेको छैन ।

‘हामीले अहिलेसम्म मनोजले उठाएको रकम कहाँ राखेको छ भन्ने बाहिर ल्याउन सकेका छैनौं, प्रहरी प्रमुख ज्ञवालीले भने–‘केही भारतीय बैंकका एटीएम भेटिएपनि तिनको बारेमा अनुसन्धान गर्न समस्या परेको छ, उद्योगी व्यवसायीले कसलाई चन्दा दिन्थे, कसरी दिन्थे भन्ने कुरा नखोल्दा पनि हाम्रो अनुसन्धानले निर्णायक मोड लिन सकेको छैन ।’

सम्पत्ति छानबिन गर्छौं : प्रहरी
पक्राउ परेकाहरुको सम्पत्ति छानबिन गर्ने प्रहरीको तयारी छ । ‘हामीले पक्राउ परेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्छौं’ प्रहरी प्रमुख ज्ञवाली भन्छन्–‘कतिपयको आर्थिक हैसियत एक्कासी बढेको पनि देखिएको छ, त्यसको कारण पनि खोजिन्छ, कतै मनोज पुनले उठाएको चन्दाको हिस्साको कारण त हैन भनेर खोजिन्छ ।’उनले उनीहरुका नाममा रहेका बैंकखाता र आर्थिक गतिविधि रोक्का गर्दै अनुसन्धानलाई निर्णायक विन्दुमा पु¥याउने बताए ।

के गर्थे दलका नेताहरु ?
२२ कात्तिक २०७२ मा नारायण बस्नेतको हत्या प्रयास, ६ फागुन २०७२ मा दुर्गा तिवारीको हत्या प्रयास, ४ पुस २०७३ मा तिवारीको हत्या, २१ पुस २०७४ मा वसन्त पौडेलको हत्या गरेको घटनामा उनीहरु संलग्न थिए । ‘मनोज पुनका अपराधिक क्रियाकलापमा धेरै लामो समयदेखि नै उनीहरु संलग्न रहेछन्, ज्ञवालीले भने–‘सुजु मल्ल त मनोज पुन र प्रहरीबीच मुठभेड हुने अघिल्लो दिनसम्म पनि सम्पर्कमै थिए, उनीहरुबीच नियमित सम्पर्क थियो ।’

प्रहरीसँग रहेको अडियोमा युवा नेताहरुले व्यक्तिगत विवरण, आर्थिक हैसियत, आर्थिक कारोबारको पछिल्लो अवस्था, पारिवारिक विवरणसमेत पुनलाई बताएको खुलेको प्रहरी प्रमुख ज्ञवालीले बताए । उनीहरुले धनाढ्य व्यक्तिहरुको विवरण संकलनमा बुटवल र देवदहका व्यक्तिहरुले सहयोग गरेको प्रहरी बताउँछ ।

‘आफूहरुका बीचमा लेनदेनका कुरादेखि अब कोसँग फिरौती माग्ने भन्ने पनि कुराकानीका क्रममा भएका भेटिएका छन्,–उनले भने–जो जसलाई पक्राउ गरिएको छ, सबै मनोज पुनका निकटतम सहयोगी हुन्, उनीहरुका अडियो र अरु धेरै प्रमाणहरु हामीसँग छन् ।’
प्रहरी भन्छ–उनीहरुले मारिने व्यक्तिको सम्पूर्ण सूचना मनोज पुनलाई दिने, हत्या गर्नका लागि अनुकुल वातावरण तयार गरिदिने र अरु सबै सुराकी गर्ने काम गरेको प्रमाण हामीसँग छ ।’

पुनसँग मात्रै हैन, भारतका कुख्यात अपराधी विट्टु भनिने योगेन्द्र सिंहसँग समेत सम्पर्कमा रही सूचना आदानप्रदान गर्ने काम पनि पक्राउ परेका दलका नेता र व्यवसायीले गर्थे । ‘कसको सम्पत्ति कति छ, कहाँबाट कति आम्दानी हुन्छ, पारिवारिक अवस्था के छ, आर्थिक कारोबार कसरी भइरहेको छ भन्ने कुराहरु संकलन गर्ने र मनोजलाई पु¥याउने काम यिनीहरुले नियमित रुपमा गरिरहेका रहेछन्–रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले भने ।

पछिल्लो समय समातिएका लेखनाथ न्यौपाने, उत्तम आचार्य, रोशन खड्का र तुल्सी न्यौपानेले रकम असुलीका लागि काम गर्थे । उद्योगी व्यवसायीको सूची पुनलाई दिने र हत्याका लागि वातावरण मिलाउने, पक्राउ परेकाहरुलाई छुटाउनका लागि दलका नेताहरुसँग आग्रह गर्थे ।

पर्यटकलाई दिइने सीम प्रयोग गर्थे सहयोगी
मनोज पुनका सहयोगीले विदेशी पर्यटकलाई दिइने सिमकार्डहरु प्रयोग गरेको पाइएको छ । पक्राउ परेका सुजु मल्लले विदेशी पर्यटकलाई दिने सिम प्रयोग गरेको खुलेको हो । ‘पोखरातिर घुम्न आएका पर्यटकहरुलाई दिइने सिमकार्ड प्रयोग गरेको खुलेको छ,–रुपन्देही प्रहरी प्रमुख ज्ञवाली भन्छन्–‘उनीहरुले नक्कली कागजातहरु तयार गरेको पनि पाइएको छ ।’

प्रहरी भन्छ–अरु धेरै व्यक्तिहरु समातिन बाँकी छन्
भारतमा बसेर टेलिफोन गरेर धम्क्याउने काममा मनोज सक्रिय रहेको पाइएपनि मनोजको सञ्जालबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । गत फागुन ९ मा मनोज र सहयोगी सोम आले इन्काउन्टरमा मारिएपछि प्रहरीले उनीहरुको पछाडि रहेको शक्तिकेन्द्रको खोजी थालको थियो ।

पछिल्लोपटक ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले अरु केही व्यक्ति पक्राउ पर्ने क्रममा रहेको बताएको छ । ‘अहिले समातिएका भन्दा अरु धेरै माथिल्लो स्तरका व्यक्तिहरु शंकाको दायरामा छन्, प्रमुख ज्ञवालीले भने–‘उनीहरुका विरुद्ध पर्याप्त प्रमाण पुग्नेबित्तिकै पक्राउ गरेर कानुनको दायरामा ल्याउँछौं ।’

उनले प्रहरीले मनोज पुनसँगबाट बरामद भएका डायरी, ल्यापटप र अरु केही सामग्रीको आधारमा पनि अनुसन्धानलाई अघि बढाएको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौं, अरु धेरै कुराहरु खुल्न बाँकी छन्–उनले भने–‘विस्तारै यसको लहरो तानिदै जान्छ, कोही र कुनैपनि अपराधी उम्कन पाउँदैनन् ।’

को–को समातिए ?
रुपन्देहीमा मनोज पुनको समूहले गरेका अपराधका सहयोगीदेखि सुटरसम्म पक्राउ परेका छन् । देवदहका माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, एमाले निकट युवा संघ केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज सुजु मल्ल, बुटवलका एमाले कार्यकर्ता उत्तम आचार्य, तुल्सी न्यौपाने, बुटवलका व्यवसायी हरिप्रसाद श्रेष्ठ, देवदहका जग्गा कारोबारी रोशन खड्का पक्राउ परेका छन् ।
यसअघि हत्यामा संलग्न भएको आरोपमा समिरमान बस्नेत, श्याम गोम्बे, पदम चौधरी, महिनारायण चौधरीलगायतलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती मध्ये केही सजाय भोगिरहेका छन् भने केही अनुसन्धानकै क्रममा छन् ।

के कारबाही हुन्छ ?
पक्राउ परेकाहरुलाई प्रहरीले संगठित अपराध, कर्तव्य ज्यान, जबरजस्ती असुली, हातहतियार खरखजानालगायतका मुद्दा चलाउने तयारी गरेको छ । उनीहरुको अपराधको विस्तृत विवरण तयार भइनसकेकाले थप अनुसन्धान जारी राख्ने प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार