हरेक वर्ष वैशाख ७ मा जितगढी उत्सव मनाइने

बुटवल । नेपालले अंग्रेजलाई हराएको ऐतिहासिक स्थल रुपन्देही बुटवलको जितगढी किल्लामा उत्सव मनाइने भएको छ । १८७२ साल वैशाख ७ गते अंग्रेज सेनालाई हराउँदै नेपाली सेनाले विजय हासिल गरेको सम्झनामा जितगढीमा उत्सव मनाइने भएको हो ।

यही वैशाख ७ गतेदेखि हरेक वर्ष जितगढी उत्सव मनाउने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

कार्यक्रमअनुसार वैशाख ६ गते जितगढीबारे गोष्ठी, खाना महोत्सव, ७ गते ११ बजे शोभायात्रा र विजय उत्सव कार्यक्रम हुनेछ । ७ गतेका दिन विजय उत्सव मनाउँदै बुटवलका सबै घर तथा टोलहरुमा दीपावली गर्न नगरपालिकाले आह्वान गरेको छ ।

उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाको फौजले जितगढी किल्लाबाट अंग्रेज सेनालाई परास्त गरेको र त्यसदिनलाई विजयको दिनको रुपमा मनाइने उनले बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको संरक्षणका लागि नगरपालिकाले यसै वर्षदेखि नयाँ कार्यक्रम ल्याएको छ ।

जसअनुसार किल्लाको आसपासमा रहेको बस्ती अधिग्रहण गरी किल्लाको वास्तविक स्वरुप दिनका लागि अध्ययन गर्ने नगर प्रमुख सुवेदीले बताए ।

‘पुरातत्व विभागसँग समन्वय गरेर हामीले युद्धताकाको किल्लाकै स्वरुप निर्माण गर्ने योजना बनाएका छौं’, उनले भने– हामीले जितगढी संग्रहालय पनि बनाउने योजना बनाइरहेका छौं ।’

उनले तत्काल जितगढीमा उजिरसिंहको पूर्णकदको युद्धपोशाकसहितको शालिक र नेपालको राष्ट्रिय झण्डा राख्नका लागि ५० लाख रुपैयाँ विनियोजन भइसकेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार