रुपन्देहीको पुनको अपराध जालो ः लहरो तान्दा पहरो मनोज पुनको अपराधमा दलकै नेताको साथ !

बुटवल। प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात डन मनोज पुनको संगठित अपराधमा माओवादी, युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ ।
पुनले राजनीतिक दलका नेता तथा व्यवसायीकै सहयोगमा व्यक्ति हत्या तथा अपराधिक क्रियाकलाप गर्ने गरेको रहस्य बाहिर आएको हो ।
रुपन्देहीका दुर्गा तिवारी र वसन्त पौडेल बलु हत्याकाण्डको मुख्य योजनाकार तथा अन्य अपराधिक गतिविधिमा संलग्न कुख्यात डन पुनलाई माओवादी र युवा संघका नेता तथा व्यवसायीले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
प्रहरीले मनोज पुन र सोम आलेको इन्काउन्टरअघि उनीहरुसँगबाट बरामद भएका डायरी र सूचनाका आधारमा अनुसन्धानलाई अघि बढाएको छ ।
पुनका अपराधिक गतिविधिमा सघाउँदै आएका ५ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल– ४ का हरिप्रसाद श्रेष्ठ, देवदह– ६ का रोशन खड्का र देवदह– ५ का तुल्सी न्यौपानेलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका उद्योगी हरिप्रसाद श्रेष्ठले आफ्ना व्यापार साझेदार अर्जुन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत डिलाराम आचार्यलाई हत्या गर्न दुई लाख रुपैयाँ दिएको र अन्य चार जना मनोज पुनको समूहमा रहेर अपराधिक क्रियाकलाप गरिरहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
पक्राउ परेकामध्ये ४ जना महिला तथा बालबालिकाको तस्करीमा समेत संलग्न भएको आशंका प्रहरीले गरेको छ ।
पछिल्लो समय रसियन युवतीको तस्करीको ट्रान्जिटको रुपमा नेपाली भूमि प्रयोग भइरहेको र सो अपराधमाा समेत उनीहरुको संलग्नता सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेकाहरुको सम्पर्क भारतीय तस्करसँग रहेको खुलेकाले विदेशी युवती तस्करीमा पनि संलग्न भएको हुन सक्ने आशंका प्रहरीले गरेको हो ।
पक्राउ परेकाहरुले हत्यारा पुनलाई फोन तथा अन्य प्रविधिमार्फत जिल्लाका उद्योगी व्यवसायीका विवरण उपलब्ध गराउने, हत्याका लागि व्यक्ति तोकेर उक्साउने र आर्थिक रुपमा समेत सहयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देहीका प्रहरी प्रमुख ज्ञवालीले बताए ।
ज्ञवालीका अनुसार मनोज पुनका अपराधिक गतिविधिमा पाँचै जनाको संलग्नता शुरुदेखि नै रहेको पाइएको छ । उनीहरुले मनोज पुनसँग नियमित रुपमा संवाद गर्ने, प्रहरीका गतिविधिको सुराकी गर्ने, दलका केन्द्रीय स्तरका नेताहरुको पहुँच प्रयोग गरेर अपराध ढाकछोपको प्रयास गर्ने, प्रहरीले पक्राउ गरेका समूहका सदस्यलाई छुटाउने प्रयास गर्ने जस्ता गतिविधि गरेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुले मनोज पुनसँग गरेका संवादहरुको अडियो समेत फेला पारेर त्यसकै आधारमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
‘उनीहरुले आफ्नै साथीभाइको हत्या गर्न विवरण उपलब्ध गराउने, त्यसबापत मोटो रकम लिने र सडकमा पीडितको पक्ष बनेर बाटो बन्द गर्न पनि जाने गरेको पाइयो’– एसपी ज्ञवालीले भने ।
पक्राउ परेकामध्ये युवा संघका उत्तम र माओवादीका लेखनाथको आफ्नो पार्टीको उपल्लो तहका नेतासँग समेत सिधा सम्पर्क हुने गरेको पाइएको छ ।
उनीहरुले अपराधिक घटनामा प्रहरीद्वारा पक्राउ परेकाहरुको बन्दोबस्ती तथा तिनलाई कानुनी कठघराबाट छुटाउन पहल गर्ने सम्बन्धमा सक्रिय हुने गरेको प्रमाण समेत फेला परेको रुपन्देहीका प्रहरी प्रमुख ज्ञवालीले बताए ।
मनोज पुनको समूहले २०७३ को पुसमा तत्कालीन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र २०७४ को पुसमा युवा संघका नेता तथा फर्निचर व्यवसायी वसन्त पौडेल बलुको हत्या गर्नुका साथै जिल्लाका उद्योगी व्यवसायीमाझ चन्दा आतङ्क मच्चाउनुका साथै ज्यान मार्ने धम्की दिने गरेका थिए ।
साथै भारतीय अपराधी विट्टु सिंहसँग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग पु¥याएको प्रहरीको आरोप छ । ती सबैै घटनामा बुधबार पक्राउ परेकाहरुको संलग्नता खुलेको छ ।
रुपन्देहीका हत्या र चन्दा आतंकका घटनामा मनोज पुनको समूहलाई सघाउने अरु केही व्यक्तिहरु पनि छिटै पक्राउ पर्ने एसपी ज्ञवालीले बताए । ‘अरु केही वरिष्ठ व्यक्तिहरुले पनि मनोज पुनको अपराधलाई सघाएको पाइएको छ,’ उनले भने– हामीले निगरानीमा राखेका छौं, छिटै पक्राउ गरेर सार्वजनिक गर्छौं ।’ कुख्यात डन मनोज पुन र सोम आले गत फागुन ९ गते प्रहरी इन्काउण्टरमा देवदहमै मारिएका थिए ।
दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा संलग्न लमजुङ्गको भोर्लेटारका विवेक भनिने सुवास गुरुङ्ग, श्याम बहादुर गोङ्बे, शालिकराम चापागाईं, पारस भट्टराई, पदम चौधरी र महेन्द्र भन्ने महिनारायण चौधरीलगायत १८ जना पक्राउ परिसकेका छन् । तीमध्ये केही सजाय भोगिरहेका छन् भने केही अनुसन्धानका क्रममा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार