आज प्रदेश ५ को बजेट

बुटवल । प्रदेश ५ सरकारले आज चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि बजेट ल्याउँदै छ । चालु आर्थिक वर्षको बाँकी ३ महिनाका लागि केन्द्र सरकारले समानीकरण अनुदानअन्तर्गत पठाएको १ अर्ब २ करोड ५ लाख रुपैयाँलाई बजेटको स्वरुप दिएर प्रदेश सभामा पेश गर्न लागेको हो । प्रदेश सभाको दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्नेछन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालु आर्थिक वर्ष २०७४÷०७५ को बाँकी अवधिको लागि राजस्व र व्ययको अनुमानित बजेट वक्तव्य प्रदेश सभामा पेश गर्नका लागि स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

बजेटको अधिकांश अंश प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सांसद्हरु र कर्मचारीको तलबमा खर्च हुनेछ । बाँकी रहेको रकमलाई सरकारले प्रारम्भिक अध्ययनमा खर्चिने योजना बनाउँदै मन्त्रालयहरुलाई केही लाख बजेट दिएको छ । जसबाट मन्त्रालयहरुले प्रारम्भिक अध्ययन गर्दै आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि खाका तयार पार्नेछन् ।

प्रदेश सरकारले ल्याएको नीति कार्यक्रममा उल्लेख भएका अधिकांश योजनाका शीर्षकमा सरकारले बजेट छुट्याएको छ । सरकारले ल्याएका लोकप्रिय कार्यक्रम मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, सिद्धबाबा क्षेत्रको पहिरो नियन्त्रण, उपमहानगरआसपासमा आधुनिक चिडियाखाना र वनस्पति उद्यान निर्माण, पर्यटकीय स्थलको विकासलगायतको लागि संभाव्यता अध्ययनमा न्यूनतम ५ लाखसम्मको बजेट छुट्टयाइएको छ ।

ऐतिहासिक, पुरातात्विक स्थलको संरक्षण तथा विकास, निकुञ्जहरु, शीतभण्डार स्थापनाबारे पनि विस्तृत अध्ययन गर्न बजेट तोकिनेछ ।
यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय महत्वका आयोजनाको अनुगमन तथा कामकारबाहीबारे अध्ययन गर्न, बेरोजगार युवाको तथ्यांक संकलन, साक्षरता कार्यक्रमलगायतलाई पनि बजेटमा समावेश गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

सरकारले मन्त्रालयगत रणनीति तयार गर्न प्रत्येक मन्त्रालयलाई न्यूनतम ५ लाखसम्मको रकम दिने कार्यक्रम बजेटमा समावेश गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार