प्रदेश ५ सरकारद्वारा स्थिति पत्र सार्वजनिक

  • एक चौथाई जनता गरिब
  • बुटवल । प्रदेश ५ सरकारले प्रदेशको आर्थिक सामाजिक विकासको स्थिति पत्र सार्वजनिक गरेको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्थिति पत्र सार्वजनिक गरेका हुन् ।

    स्थिति पत्र सार्वजनिक गर्दै पोखरेलले समृद्ध प्रदेशः सुखी जनताको मिसनमा प्रदेश सरकार अघि बढ्न लागेको बताए । उनले प्रदेशको आर्थिक समृद्धिको लागि कृषि, उद्योग, पर्यटन र भौतिक पूर्वाधार विकासको संभावना, चुनौती र समस्या पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर लागू गर्दै जाने उल्लेख गरेका छन् ।

    कृषिको व्यवसायिकीकरण, सिंचाई सुविधा, उत्पादकत्व स्थितिले जिल्लागत ठूलो विभेदता र औसत रुपमै पनि प्रदेश पछाडि रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धिको दिशामा अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

    प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकासमा कृषि, वन, जडिबुटी, ऐतिहासिक पुरातात्विक क्षेत्र, पर्यटन सवल पक्षको रूपमा रहेको बताए । सरकारले युवालाई कृषिमा आकर्षण गर्न सके अहिलेको स्थितिलाई अझै सुधार गर्न सकिने ठूलो सम्भावनाको रूपमा चित्रित गरेको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा पर्यटन क्षेत्रको विकासमा ठूलो फड्को मार्ने आशा सरकारको छ । बाह्र जिल्ला रहेको प्रदेश ५ मा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे ।

    उनले स्थितिपत्रमा भनेका छन्– तराईका जिल्लाको उर्वरभूमि यस प्रदेशमा रहेकाले भरपर्दो सिँचाइको व्यवस्था भए त्यसबाट उल्लेखनीय परिवर्तन गर्न सकिन्छ ।’मुख्यमन्त्री पोखरेलले प्रदेशको समग्र विकास र समृद्धिका लागि प्रदेश सरकारले विकासको आवधिक योजना बनाउन लागेकाले योजना निर्माणमा सघाउन सबैलाई अपिल गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलले समग्र प्रदेशहरूको अवस्था हेर्दा पाँच नम्बर प्रदेश चौथो स्थानमा रहे पनि सम्भावना पहिचान गरी श्रोतहरूको सदुपयोग गर्न सके उत्कृष्ट प्रदेश बनाउन सकिने बताए ।प्रदेश ५ खाद्यान्न र तेलहन उत्पादनका हिसाबले सबैभन्दा अगाडि र ऊर्जा उत्पादनमा छैठौं स्थानमा रहेको छ । अन्य सूचकांकमा अधिकांशमा चौथो स्थानमा छ ।

    स्थितिपत्रमा उल्लेख भएअनुसार प्रदेश ५ मा २५.८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । जसअनुसार सबैभन्दा बढी कपिलवस्तुमा ३५.५ प्रतिशत जनता गरिब छन् भने नवलपरासी र रुपन्देहीमा सबैभन्दा कम १७ प्रतिशतको हाराहारीमा गरिबी रहेको छ ।
    प्रदेश ५ मा प्रतिव्यक्ति आय १ हजार ७ अमेरिकी डलर रहेको सरकारको तथ्यांक छ । प्रदेशका ४१ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय छन् । जसमा सबैभन्दा बढी अर्घाखाँचीमा ५१.७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय छ ।

    प्रदेशको उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी ४५.६ प्रतिशत रहेको मुख्यमन्त्री पोखरेलले बताए ।स्थितिपत्रले ऊर्जामा ५ नम्बर प्रदेशको अवस्था कमजोर देखाएको छ । अहिले प्रदेशमा २१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । जसमा नौमुरे जलविद्युत सञ्चालन हुनसके मात्रै आशा गर्नसक्ने ठाउँ छ । नौमुरेबाट २४५ मेघावाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

    प्रदेश नम्बर ५ मा ११ हजार किलोमिटर सडक रहेकोमा ६५ प्रतिशत सडक मात्र कालोपत्रे र ग्राभेल छ । नेपालको भूभागको १२.१ प्रतिशत हिस्सा ओगटेको प्रदेश ५ को क्षेत्रफल १७ हजार ८ सय १० वर्ग किलोमिटर रहेको छ । यहाँ ४ उपमहानगर, ३२ नगरपालिका, ७३ गाउँपालिका गरी १ सय ९ स्थानीय तह छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार