ओली मोदीको वस्तुनिष्ठ संवाद

पहिला पहिलाको तुलनामा यो पटक ओली मोदी संवाद पहिलाको तुलनामा धेरै वस्तुनिष्ठ र हार्दिक बन्यो । ओलीले भारतीय पक्षसँग काम गर्छु भनेर सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई खुलेरै आलोचना गरे । ओलीले कूटनैतिक रुपमा हैन हार्दिक र मैत्रीपूर्ण भाषामा सबै कुरा राखे । पत्युत्तरमा मोदीले विगतको समीक्षा गरी सम्बन्ध सुधार गर्न आफू तयार भएको बताए ।
ओलीको स्पष्ट शैलीको कारण यो समयमा भएका १२ बुँदे सम्झौता र त्यसभित्रको जलमार्ग, रेलमार्ग, कृषि आदिको काम आरम्भ गर्ने समय सीमा तोकिएको थियो । यो पटकको ओलीको सम्झौतामा परियोजनालाई पहिलाको तुलनामा विशिष्टीकृत बनाउन खोजिएको छ । यसबाट भारत सरकारका उच्च अधिकारीहरु,कूटनीतिक नियोगका पदाधिकारीहरु,स्वयं प्रधानमन्त्री नरेन्द्र मोदी यो विषयमा गम्भीर बनेका छन् ।
भारत सरकारले यसभन्दा अघि गर्ने भनेका हुलाकी सडक, पञ्चेश्वर, टनकपुर,भूकम्प पीडित रहत लगायत अरु धेरै परियोजनाहरु पूरा नगरेर नेपाली जनताको दृष्टिमा भारतीय पक्ष अविश्वासको पात्र बनेको छ । जलसम्पदालाई केबल होल्ड गरेर राख्ने समयमा काम नगर्ने रणनीतिले नेपालको विकास अवरुद्ध भएको छ । यो विषयमा भारतीय पक्ष संवेदनशील बन्न सक्नु पर्छ ।
ओलीले जति सकिन्छ त्यति बोलौं । बोलेको काम पूरा गरौं भनेपछि भारतीय पक्ष संवेदनशील बनेको छ । त्यही कारण परियोजना निर्माणको क्रममा समयावधिको चर्चासम्म चल्नु राम्रो हो । यो दुबै देश बीचको सम्बन्ध सुधारमा आएको नयाँ आयाम हो । यसलाई नेपाली जनताले सकारात्मक रुपमा हेरेका छन् ।
भारत नेपाल बीचमा सम्बन्ध सुधार हुनु पर्छ । सम्बन्ध सुधारको विकल्प नै छैन । त्यसरी नै नेपाल र चीन बीचमा पनि सम्बन्ध सुधार हुनुपर्छ । दुबै देश बीचको सम्बन्ध समान रुपमा सुधार हुनु पर्छ । भारत र नेपाल बीचको सम्बन्ध सुधार गर्न ओली सफल भएका छन् । यो पटकको भ्रमण तुलनात्मक रुपमा सफल भयो । मुुलुकको सार्वभौम सत्तामाथि असर पर्ने खालका कुनै पनि सम्झौता भएनन् । यो सबल पक्ष हो । ओली राष्ट्रियताको विषयमा चुकेनन् ।
नेपाल ल्याक्ड लक्ड मुलुक हैन, यसको विस्तार अब समुद्रसम्म हुन पुगेको छ भन्दै सगर र सागर जोडिएको प्रसङ्ग जोडेर मोदीले नेपाली जनताको मन जित्न कोशिस गरेका छन् । नेपालमा आएर हाई हाई बनेका मोदी मधेस आन्दोलन र नाकाबन्दीका समयमा बाई बाईको स्थितिमा पुगेका थिए । अहिले उनले संविधानको विषयमा कुनै टिप्णी गरेनन् बरु नेपालमा संविधान बनेर तिनै तहको निर्वाचन भई लोकतन्त्र संस्थागत भएकोमा खुसी व्यक्त गरेका थिए । उनले नेपाली जनताको मर्यादा गर्न चुकेनन् । अब उनले रेलमार्ग, जलमार्ग र कृषि कार्यमा गरेको सम्झौतामा तत्काल परिणाम आउने गरी केही देखाउन सकेमा आफ्नो लोकप्रियतालाई अरु बढाउने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार