रिब्दीकोटमा विकास निर्माण तीव्र

पाल्पा । रिब्दीकोट गाउँ सरकारको दोस्रो सभाले शिक्षा, स्वास्थ्य र सहकारीसहितका तीन वटा विधेयक पारित गरेको छ । गाउँपालिकाले हालसम्म चालु खर्चअन्तर्गत ५४ प्रतिशत र पुँजीगततर्फ २९ प्रतिशत गरी ४४ प्रतिशत खर्च गरेको गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । गाउँपालिकाले वडागत रुपमा विभाजन गरेको ८० लाख मध्ये ७८ प्रतिशत रकम खर्च गरेको जनाएको हो ।

गाउँपालिकाले चालुतर्फ १८ करोड ८१ लाख ७५ हजार रकम विनियोजन गरेकोमा हालसम्म १० करोड ८ लाख २५ हजार ६ सय ९० रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फ ११ करोड ८७ लाख १७ हजार ७ सय ६६ रुपैयाँ विनियोजन गरेकोमा ३ करोड ४३ लाख ६९ हजार ८ सय ५५ रुपैयाँ खर्च भएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

गाउँपालिका भित्र रहेका दलित,जनजाति र पिछडावर्गको विकासमा समान पहुँच वृद्धि गरी गाँउपालिकालाई सम्वृद्ध बनाउने अभियानमा रिब्दीकोट गाँउपालिका लागि परेको अध्यक्ष नारायणबहादुर जिसीले बताए । जनप्रतिनिधिहरुले सरकारी सेवा सुविधा दिने भन्दा पनि जनताको सेवामा लागि परेको दाबी गरे । अध्यक्ष जिसीका अनुसार गाँउपालिकाले पहिलो चरणमा सवै वडालाई सडक सञ्जालले जोडेको जानकारी दिए ।

यसका साथै विकास जनताले चाहे पनि विकासमा जनसहभागिता घट्दो अवस्थामा रहेको गुनासो राखे । स्थानीय सरकारसँग जनताको अपेक्षा बढी हुनु स्वभाविक भएता पनि सबै कुरा सरकारको मुख हेर्ने भन्दा जनचासो बढाउन आग्रह गरे । गुणस्तरीय आर्थिक, भौतिक, सामाजिक, पूर्वाधार विकासको माध्यमवाट सम्वृद्ध रिब्दीकोट निर्माणको लक्ष्यका साथ सेवा तथा कार्यक्रम केन्द्रित गरी अगाडी बढेको उनले बताए । गाँउपालिकाले गरेको कामबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद खनालले अहिलेसम्म सम्पादन भएका कामको बारेमा जानकारी गराए ।

उनले गाउँपालिकाले नमुना कार्यक्रम संचालन गर्दै आएको दाबी गरे । सवै जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्यमा विकासका काम अगाडी बढेको उनले बताए । प्रवक्ता खनालले गाउँपालिका भित्रका प्रसूती सेवा लिने आमाहरुलाई १ एक हजार ५ सय दिने व्यवस्था गरेको बताए । यसका साथै भौतिक पूर्वाधार, क्षमता विकासका काम गरेको छ । गाउँपालिका भित्रका १ सय २३ जना क्यान्सर, मुटु मृगौला रोग लागेका व्यक्तिहरुलाई सहयोग प्रदान गरेको, गरिब तथा अल्पसंख्यक ५५ परिवारमा स्वास्थ्य विमा गराएको, सहकारी तथा वन उपभोक्ता महासंघसँग मिलेर विकास निर्माणका काम शुरु गरेको पालिकाले जानकारी गराएको छ ।

गाउँमा कृषिलाई यान्त्रीकरणका लागि १९ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको उनले बताए । ‘एक घर एक धारा’ सञ्चालनको लागि ११ वटा ठूला लिफ्ट खानेपानी योजनाको लागि प्रतिवेदन तयार गरेको गाउँपालिकाले जनाएको छ । यस्तै, रैनादेवी छहरा, १ मा सिद्देश्वरमा उत्पादन भएको खानीजन्य उत्पादन ओसारपसारको क्रममा मापदण्ड विपरीत ढुवानी हुँदा, धुलो प्रदुषण, ओभरलोड, तीव्र गतिको कारण बाटोका बस्तीहरुमा समस्या भएको जनाइएको छ । यसैले यहाँका सम्बन्धित कम्पनीबाट समाधान नभए सोको जिम्मेवार स्वयं सिमेन्ट कम्पनी हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको प्रवक्ता खनालले बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले अहिलेसम्म १० वटा उजुरी न्यायिक समितिमा आएको र अधिकाशं उजुरीको समस्या पहिचान गरी समाधान भएको बताईन । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले गाउँपालिको चुहावट नियन्त्रण विशेष अभियान शुरु गरेकाले आम्दानी खर्चमा पारदर्शी अपनाएको, रिब्दीकोट जलाधर क्षेत्र घोषणा गरी पानी र खानीको विषयमा विशेष अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिए । टिप्पर व्यवस्थापनको लागि गाउँपालिकाबाटै कार्यविधि बनाएर काम गर्नुपर्ने सुझाव दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार