नेपालीलाई रोजगारीमा प्राथमिकता : खनाल

रामप्रसाद खनाल, नेपालीहरुका लागि कुनै नौलो नाम होइन । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्षसमेत रहेका उनी स्थापित लोक तथा दोहोरी गायक हुन् । कलाकार, पत्रकार पनि रहेका उनै खनालसँग इमेलमा लिइएको समसामयिक अन्तर्वार्ता ।

पत्रकारिता, गीत, संगीत, कलाकारिता र साहित्यमा एकैसाथ सक्रिय हुनुहुन्छ, कसरी ?
यी मेरा पेशा हुन् । तपाईंहरु जस्ता शुभचिन्तक, दर्शक श्रोताहरु, पाठकहरुले नै मलाई यो ठाउँमा ल्याउन भूमिका खेल्नु भयो र म यहाँ छु । मलाई मेरा दर्शक, श्रोता र पाठक नै मेरो भाग्य विधाता हुन जस्तो लाग्छ ।

तपाइँ पत्रकार, गायक, साहित्यकार, कलाकार कसरी बन्नुभयो ?
करिब तीन दशक पत्रकारिता गरियो, रेडियो, टेलिभिजन, छापा पत्रकारिता, अनलाइन पत्रकारिता, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडियाहरुमा रहेर पत्रकारिता गरेकोले नै होला यो क्षेत्रमा अगाडि बढेको । सानै उमेरदेखि गीत लेखन, गायन, संगीत र अभिनयमा लागियो अनि भइयो होला गायक, कलाकार । कविता, गजल, मुक्तक र साहित्यका क्षेत्रमा कलम चल्ने भएर होला यहाँहरुले मलाई साहित्यकारका रुपमा पनि देख्नु र चिनिदिनु भएको । गरेरै सम्भव भएको होला र हुने रहेछ ।

खासमा तपाईंको रोजाईको पेशा कुन हो ?
सोँचे जस्तो हुन्न रहेछ जीवन । म पत्रकारिता, कलाकारिता, साहित्य र गीत संगीतको क्षेत्रमै आफ्नो करियर बनाएको मानिस हुँ । अमेरिका आएर विजनेशमा पनि लाग्नुपर्ने अवस्था आयो । अहिले म सबै क्षेत्रमा उत्तिकै क्रियाशील छु । पेशा रोजेर भन्दा पनि परिस्थिति र समय अनि अवस्था अनुसार हुने रहेछ । मेरा लागि अहिले मैले अँगालीरहेका सबै पेशा प्रिय छन्, रोजाइका छन् भन्नु प¥यो । तर लोक तथा दोहोरी गायक बन्दाको मज्जा बेग्लै र बढी सन्तोषजनक हुन्छ । रोजाइमा पनि त्यही नै बढी पर्छ कि !

गुल्मीको मान्छे बुटवल झर्नु भो, बुटवलबाट काठमाडौं र काठमाडौंबाट अमेरिकातिर लाग्नु भयो, के गर्दै हुनुहुन्छ अमेरिकामा ?
म गुल्मी धरमपानी मैनडाँडा गाउँमा जन्मेँ, हाइस्कुलसम्मको अध्ययन पछि उच्च शिक्षा हासिल गर्न र जीवनको रेखा कोर्न बुटवल झरेँ । बुटवलमा क्याप्पस पढ्दै जीवनको जोहो गर्दै, गीत संगीत, कलाकारिता, पत्रकारिता गर्दै काठमाडौं प्रवेश गरेँ । काठमाडौंबाट पनि अमेरिकातिर आएँ । म अमेरिकामा सुपरमार्केट, स्टोरहरू, ग्यास स्टेशनहरुको बिजनेश चलाइरहेको छु । केहीलाई रोजगारीको अवसर दिएको छु । नेपालीहरुलाई रोजगारीमा प्राथमिकता दिइरहेको छु । सहयोग गरिरहेको छु । बाँचिरहेको छु, बँचाइरहेको छु । यस्तै रहेछ जीवन चक्र । कहिले घाम कहिले पानी कहिले रात त कहिले बिहानी । तर जहाँ रहँदा पनि कर्म गरेर खाइएको छ । नैतिकता, इमान, जमान र इज्जतका साथ अघि बढिएको छ । कसैको केही खाइएको छैन । नराम्रो कुरामा कहिल्यै लागिएको छैन । कसैलाई मारिएको छैन, फलानो त छि भनेर नाक खुम्च्याउनु पर्ने पारिएको छैन । यसमा म गौरव गर्छु ।

नेपालमा लोकगीत, दोहोरी गीतको क्षेत्रमा त कायापलट नै गराइदिनु भयो । तपार्इंका अनुयायीहरु आज राष्ट्रिय स्तरका मात्र हैन अन्तर्राष्ट्रिय स्तरका गायक कलाकार बनेका छन्, कस्तो अनुभूति हुन्छ ?
मूल्याङ्कन गर्ने जिम्मा तपाईंहरुको हो । हो, मैले लोकगीत, दोहोरीगीतको क्षेत्रमा मेरो वर्कतले भ्याएसम्म रेडियो नेपालमा रहँदा होस् वा नेपाल टेलिभिजनमा हुँदा होस् वा अहिले अमेरिकामै रहँदा होस् धेरै खुन र पसिना सिंचेको छु । दर्शक र श्रोताका अगाडि घाम जस्तै र्छलङ्ग छ । मैले राम्रो गरेँ या नराम्रो गरेँ । मैले गाउँघरबाट टिपेर काठमाडौं ल्याएका भाइ बहिनीहरु आज मेरै फोरमबाट उठेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका गायक, कलाकार बन्न सके, त्यसमा म ज्यादै खुशी छु । उनीहरुको सफलता मेरो आफ्नै सफलता जस्तो लाग्छ ।

हालसम्म कति गीत गाउनु भयो ? कस्ता कस्ता गाउनु भयो, पुस्तक पनि लेख्नुभएको छ ?
करिब एक हजार दुई सयभन्दा बढी गीत लेखन, संगीत र गायन गरियो । लोकगीत र आधुनिक गीत, राष्ट्रिय गीत, दोहोरी गीत, भजन, कृतन, तीजगीत, देउसी भैलोदेखि हर प्रकारका गीत लेखियो, गाइयो । मेरा हालसम्म ४३ वटा गीति एल्वम प्रकाशित भए । जुन हाल बजारमा छन् । कतिपय युट्युबमा पनि छन् । कतिपय रेडियो नेपाल र नेपाल टेलिभिजनमा रेकर्डेड छन् । हालसम्म मेरा १६ वटा पुस्तकहरु प्रकाशित छन् । गीत संगीत, कविता, गजल, जीवन यात्रा र बायोग्राफी गरी १६ वटा पुस्तक प्रकाशित भएका छन् भने अब १७ औं कृति प्रकाशनको लागि तयारीमा छु ।

तपाई अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्ष हुनुहुन्छ । यो कस्तो संगठन हो, नेटवर्क कस्तो छ ?
म अध्यक्ष रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकी सरकारद्वारा मान्यता प्राप्त कलाकारहरुको अन्तर्राष्ट्रिय रजिस्टर्ड अर्गनाइजेशन हो । जसमा नेपाली मात्र होइन, विदेशी कलाकारहरुसमेत संलग्न छन् । संसारका ३४ देशमा यसको सञ्जाल फैलिएको छ । नेपालमा शिवहरी पौडेलजीको अध्यक्षतामा हाम्रो शाखा छ, जसमा नेपालका धेरै अग्रज कलाकारहरु संलग्न हुनुहुन्छ । यसको प्रधान कार्यालय अमेरिकामै छ । यस्तै म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्गटन डीसीको पनि अध्यक्ष छु । नेपाली भाषा, साहित्य, लोक सँस्कृति, कलाको क्षेत्रमा कार्यरत छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विदेशमा बस्ने नेपालीहरुलाई नेपाली भाषा, साहित्य, लोक संस्कृति, कलाको क्षेत्रमा अग्रसर बनाउन यो संस्थामार्फत हामीले काम गरिरहेको छौं । मैले वासिङ्टन डिसी मेट्रो कमिटीको अध्यक्षका रुपमा दोस्रो कार्यकालमा भूमिका निर्वाह गरिरहेको छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार