विज्ञहरूले भने– नीति कार्यक्रम अपुरो

  • मन्त्री भन्छन्– हतारमा यस्तै भो, हामी सुधार गर्छौं
  • बुटवल । प्रदेश ५ सरकारले आइतबार ल्याएको नीति कार्यक्रम अपुरो र परम्परागत शैलीको भएको विज्ञहरूले बताएका छन् ।
    रिपोर्टस् क्लब प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने विज्ञ तथा सरोकारवालाले नीति कार्यक्रमले जनतामा आशा जगाउन नसकेको भन्दै आलोचना गरे । अर्थशास्त्री प्रा. डा. रामचन्द्र आचार्यले धेरै आशा गरेको सरकारले ल्याएको नीति कार्यक्रमले निराश बनाएको बताए । उनले भने– ‘नयाँ बोतलमा पुरानै रक्सी आएजस्तै छ ।’

    उनले सरकारले ३ महिनाका लागि ल्याएको कार्यक्रम अनावश्यक लामो गराएको बताए र भने–यदि ३ महिने नै हो भने ३ पाना ल्याएको भए के हुन्थ्यो, ल्याउनकै लागि मात्रै किन ल्याउनुप¥यो ?’उनले सत्तामा पुगेपछि म मात्रै जान्ने छु भन्ने सोंचका कारण नीति कार्यक्रम निराशाजनक भएको बताए । ‘पाँच नम्बर प्रदेशमा बैद्धिक र अर्थशास्त्री धेरै छन्, सरकारले सल्लाह लिन कन्जुस्याइँ ग¥यो’, उनले भने– ‘मैले भन्दा नराम्रो होला, तर वास्तविकता यही नै हो, जनता अब आश मात्रै होइन काममा बढी विश्वास गर्छन् ।’

    अर्का विश्लेषक तथा प्रा.डा. बुद्धबहादुर थापाले नीति कार्यक्रम कुनै संस्थाको रिपोर्टजस्तो भएको बताए । ‘प्रदेश ५ का मूल समस्या के हुन् र तिनको समाधान कसरी गरिन्छ भन्ने कुरा नीति कार्यक्रमले बोलेकै छैन’, उनी भन्छन्– ‘पुरानै केन्द्र र स्थानीय तहले ल्याएका नीतिको मिसावट जस्तै छ ।’

    प्रदेश ५ नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले नीति तथा कार्यक्रम परम्परागत शैलीको रहेको बताए । ‘पार्टी घोषणा पत्र जस्तै छ, प्रतिपक्षको किन सुझाव मागिएन’, उनले गुनासो गरे– ‘सुझाव नमाग्ने अनि विकासमा मिलेर जानुपर्छ भनेर हुन्छ ?’ उनले खेलकुदको क्षेत्रमा पनि नीति कार्यक्रम नबोलेको भन्दै आपत्ती जनाए ।

    एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थीले प्रदेश सरकारको पहिलो प्रयासलाई नराम्रो भन्न नमिल्ने बताए । उनले नीति कार्यक्रममा केही विषय छुटेका भए पनि त्यसलाई सुधार गर्दै जानुपर्ने बताए । त्यस्तै पूर्व सभासद् तथा माओवादी केन्द्रका नेता विनोद पहाडीले सरकारको सुस्तताले आशा नलागेको धारणा राखे ।

    ‘नीति कार्यक्रम र अब बजेटलाई हेर्दा धेरै आश गर्ने ठाउँ छैन । जनता बलियो बन्ने गरी नीति आएन’, उनले भने । फोरमका प्रदेश सांसदद्वय सहसराम यादव र विजयबहादुर यादवले सरकारको नीति तथा कार्यक्रम अमूर्त भएको टिप्पणी गरे ।

    सुधारेर अघि बढ्छौं
    सामाजिक विकास मन्त्री सुदर्शन बरालले हतारमा आएकाले नीति कार्यक्रममा केही विषयहरू छुटेको स्वीकार गरे । ‘स्रोत साधनको सीमितता, कर्मचारी आइनसकेको अवस्थाले पनि काम गर्न असहज भएको छ, हामीले यसलाई सुधार गर्दै जान्छौं, कतिपय कुरा छुटेकै हुन् र त्यसमा सुधारेर अघि बढ्छौं’– उनले भने । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नीति कार्यक्रमले एउटा आधार तय गरेको र त्यसैअनुसार काम गर्दै जाँदा राम्रो हुने बताए । ‘यो पहिलो चरणको कार्यक्रम हो, असारमा अर्को कार्यक्रम आउँछ, यसमा छुटेका कुराहरू आगामी कार्यक्रममा समावेश भएर आउँछन्’– उनले भने ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार